बालिनालीको रोग र माटोको अवस्था तत्काल जानकारी दिने सफ्टवेयर ‘साथी’ सार्वजनिक



काठमाडौं । कृषि खेतीमा लाग्ने विभिन्न रोग तथा समस्याहरुको पहिचान र समाधान गर्ने डिभाइस (एआई) ‘साथी’ सार्वजनिक गरिएको छ ।

महिला विकास समाज (विमेन डेभलपमेन्ट सोसाइटी (बोडेस) अन्तर्गतको महिला प्राविधिकहरुको समूह ‘इम्प्याक्टर्स’ले सूचना प्रविधिविज्ञ लचना हाडाको नेतृत्वमा उक्त डिभाइस तयार गरिएको हो ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर उक्त डिभाइस सार्वजनिक गर्दै यसको महत्वको बारेमा हाडाले बताइन ।
‘कृषि क्षेत्रमा रहेका समस्याहरुलाई रिसर्च गरेर यो डिभाइस बनाएका हौं,’ हाडाले कृषकका उदाहरण देखाउँदै भनिन्, ‘अफ लाइनमा पनि काम गर्न सक्ने यो डिभाइसको सहायताले मोबाइल वा ल्यापटपबाट विभिन्न रोग, माटोको अवस्था बारे तत्कालै थाहा पाउन सकिन्छ ।’

यो कृषि क्षेत्रमा ठूलो उपलब्धी भएको उनको भनाइ छ । जलवायु परिवर्तन, माटोको गुणस्तरमा ह्रास, ज्ञानको अभाव भइरहेका बेलामा नेपालका कृषि पेशामा सुधार ल्याउन यो डिभाइस सहयोगी बन्ने उनले बताइन् ।

कम्प्युटर विज्ञान, मसिन लर्निङ र एआई, इलक्ट्रिकल इन्जिनियरिङ र कृषि विज्ञानको सहायताबाट निर्माण गरिएको ‘साथी’ डिभाइसले नेपाली किसानलाई आफ्नो खेतको माटोका गुणस्तर तथा बालीनालीको स्वास्थ परीक्षण बारे एक मिनेटमै जानकारी लिन सक्नेछन् ।

मोबाइल तथा ल्यापटममा प्रयोग हुने ‘साथी’को सफ्टवेयरले प्राप्त तथ्यांकलाई विश्लेषण गरी माटोमा लागेका रोग, तापक्रम, आद्रता, नाइट्रोजन, फोस्फरस, पोटासियम र अम्लको अवस्था बारेमा जानकरी उपलब्ध गराउँछ ।

यसले सफ्टवेयरले बालिनालीमा लाग्ने २६ प्रकारका विभिन्न रोगको बारेमा जानकारी दिने हाडाले बताइन । हाल यस डिभाइसमा धान, गहुँ, केरा, गोलभेँडा, आलु, जुट र कफीमामा लाग्ने २३ प्रकारका रोगको पहिचान गर्न सक्छ ।

बालीको पातलाई फोटो खिचेर त्यसमा के रोग लागेको छ भनेर पत्ता लगाउन सकिन्छ । कम खर्चमा सजिलै जडान तथा प्रयोग गर्न सकिने ‘साथी’ डिभाइस हार्डवेयर र सफ्टवेयरहित तयार गरिएको छ । पहिलो चरणमा भएकाले यस डिभाइसको मूल्य ४० हजार रुपैयाँ पर्ने हाडाले जानकारी गराइन् ।


क्लिकमान्डु