अरुण भ्याली हाईड्रोपावरलाई अरुण काबेलीको सेयर बिक्री गर्न रोक



काठमाडौं । नेपाल धितोपत्र बोर्डले अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई अरुण काबेलीको सेयर बिक्री गर्न रोक लगाएको छ ।

अरुण भ्यालीले अरुण कावेलीको सेयर बिक्री गर्न भन्दै माघ २३ गते सूचना प्रकाशित गरेको थियो । अरुण कावेली हाइड्रोपावरमा अरुण भ्यालीको नाममा रहेको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्न भन्दै सूचना निकालेको थियो । उक्त सूचना धितोपत्र नियमावलीअनुसार नभएको पाइएको थियो ।

उक्त विषयमा क्लिकमाण्डूले समाचार प्रकाशित गरेपछि नियामक निकायले उक्त सेयरको बिक्री रोकेको छ ।
धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को ‘१’ (क) अनुसार सेयर बिक्री गर्न नमिल्ने भन्दै उक्त सेयर बिक्री नगर्न रोक लगाएको हो ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को ‘१’ (क) मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्षरुपले संलग्न रहने व्यक्ति पदमा रहँदा वा पदबाट अवकाश प्राप्त गरेको मितिले १ बर्षसम्म सेयर बिक्री गर्न पाउँदैन’ भन्ने व्यवस्था रहेको छ ।

उक्त व्यवस्थाअनुसार सेयर बिक्री गर्न रोक लगाएको बोर्डका प्रवक्ता निरज गिरीले बताए । गिरीका अनुसार गत साता अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीलाई अरुण काबेली लिमिटेडको सेयर बिक्री नगर्न बोर्डले निर्देशन दिएको छ ।
‘कानून विपरीत कसैले पनि सेयर बिक्री गर्न पाउँदैनन्,’ उनले भने ।

अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो स्वामित्व रहेको अरुण कावेली लिमिटेडको सेयर बिक्री गर्न पाउनु पर्ने अडान कसेर बसेको थियो ।

अरुण भ्याली हाइड्रोपावर कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर अरुण कावेली हाइड्रोपावर कम्पनीको सेयर बिक्री गर्न खोजेपछि बोर्डले स्पष्टिकरणसमेत सोधेको थियो ।

बोर्डले फागुन पहिलो साता अरुण भ्यालीलाई किन, के कारण, कुन ऐन तथा कानूनलाई आधार मानेर अरुण कावेली पावर कम्पनीको सेयर बिक्री लागेको हो भनेर स्पष्टिकरण सोधिएको थियो । त्यसको जवाफमा कम्पनीले अरुण काबेलीमा सञ्चालक भए पनि सेयर बिक्री गर्न पाउनु पर्ने अडान राखेर जवाफ पठाएको छ । कम्पनीले जस्तो अडान लिएपनि बोर्डले कानून विपरित सेयर बिक्री नगर्न निर्देशन दिएको छ ।

अरुण काबेलीमा अरुण भ्यालीको तर्फबाट गएका सञ्चालकको सेयर बिक्री गर्न नखेजेको तर, समग्र कम्पनीको सेयर बिक्री गर्न खोजेकोले आफूले सेयर बिक्री गर्न पाउनुपर्ने अरुण भ्यालीको अडान सकिएको छ ।

अरुण भ्यालीले धितोपत्र बोर्डको ऐन, नियम, विनियमलाई बेवास्था गर्दै विद्युत नियमन आयोगको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनको पूर्व स्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका-२०७८ को दफा ११ लाई टेकेर सेयर बिक्री गर्न खोजेको थियो ।

अरुण भ्यालीले प्रकाशन गरेको सूचनामा नै ‘यस अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडसँग रहेको अरुण काबेली लिमिटेडको २२ लाख ३२ हजार ५७० कित्ता शेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जानकारी गराउँदछौं । यो सूचना विद्युत नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजानिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको हो’ भनिएको छ ।

अरुण भ्याली हाइड्रोपावरका कार्यकारी अध्यक्ष रहेका जीवनराज शाक्य र सञ्चालक रहेका रमेशप्रसाद न्यौपाने अरुण कावेली हाइड्रोपावरमा पनि सञ्चालक छन् ।


सोभित थपलिया