यस्तो छ नेपालकै पहिलो थ्रीडी आर्ट रेष्टुराँ, खानासँगै थ्रीडी कलाको मजा लिन सकिने



काठमाडौं । रेष्टुराँ जानुको मुख्य उद्देश्य खाना हो । तर, खानासँगै केही ‘स्पेसल’ भएमा खानाको मजा छुट्टै हुन्छ ।

यस्तै खानासँगै विशेष कला पस्किएको रेष्टुराँ हो, ललितपुर कुमारीपाटीको ‘वान डे थ्रीडी आर्ट रेष्टुरेन्ट’ । जहाँ खानाको स्वादसँगै थ्रीडी कलाको मजा लिन सकिन्छ ।

कोरोना महामारी शुरुहुनुभन्दा ३ महिना अघि रेष्टुराँ सञ्चालनमा आएको थियो । नयाँ कन्सेप्टसहित शुरु भएको रेष्टुराँमा निकै भीड भयो ।

रेष्टुराँ खचाखच भइरहेको बेला कोरोना संक्रमण फैलियो । ‘कोरोना संक्रमणमा धेरै जसो रेष्टुरेन्ट बन्द गरेर राख्नुपर्यो,’ रेष्टुराँका म्यानेजर हिक्मत चन्द भने, ‘अहिले पुनः पुरानै लयमा फर्किने संकेत आएको छ ।

एक करोड ५ लाख लगानीमा शुरुवात गरिएको ‘वान डे थ्री आर्ट रेष्टुरेन्ट’ मा खानासँगै थ्रीडी कलाको मजा लिन सकिने बताए ।

यो नेपालकै पहिलो थ्रीडी रेष्टुराँ भएको उनको भनाइ छ । कम्पनीले उक्त रेष्टुराँलाई बाहिरी भित्रीका भित्ताहरूमा पूर्णरुपमा कलाका रुपमा प्रस्तुत गरेका छन् ।

रेष्टुराँले पुरै घरलाई नेपाली संस्कृतिकलाई झल्काउने थ्रीडी आट पस्किएको छ । विश्व सम्पदाको सूचीमा रहेको बौद्धनाथको तस्बिरदेखि विश्व साइकल यात्री पुस्कार शाहको थ्रिडी आर्ट हेर्न पाइन्छ यस रेष्टुराँमा ।

गेटबाट छिर्ने वित्तिकै दायाँपट्टीको भित्तामा हात्ती, पोखराको फेवा ताल र सिंहको आर्ट देखिन्छ । भुईंमा बनाइएको समुन्द्रको पुलहुँदै भित्री छिर्ने व्यवस्था छ ।

रेष्टुराँभित्र बार आउँछ । यसलाई पनि बारको ‘भाइभ’ आउनेगरी कला भरिएको छ । उक्त ठाउँमा बसेर मदिरा पिउँदा पर्यटकीय क्षेत्र बन्दीपुरको प्राकृतिक दृष्यमा भुल्न सकिन्छ ।

रेष्टुराँको भुईं तल्लामा ‘पिस रुम’ छ । शान्त स्थानमा बसेर खाना रुचाउने व्यक्तिहरूका लागि ‘पिस रुम’ निकै उपयुक्त हुने रेष्टुराँका म्यानेजर हिक्मत चन्दले बताए । उक्त कोठामा महात्मा गान्धी, गौतम बुद्ध र झरनाको पुरै भित्ता र भुईंमा आर्ट गरिएको छ ।

‘शान्तरुपमा खाजा खाने र आनन्द लिने हो भने यो कोठा निकै उपयुक्त छ,’ चन्दले भने । सोही भुईं तल्लामा ‘चिल्ड्रेन जोन’को व्यवस्था गरेको छ । कोठामा बालबालिका हुनेगरी विभिन्न आर्ट गरेको देखिन्छ ।

अर्को ठूला कोठामा मदिराको बोतल, ग्लासको आर्टसहित जीपको आर्ट देख्न सकिन्छ । भित्तामा आर्ट गरिएको जीपमा हात राख्दा साँच्चिकै जीपमा हात राखेको देखिन्छ । सो लबिमा १०-१२ बसेर खानपिन गर्न सकिन्छ ।

रेष्टुराँको पहिलो तल्लामा उक्लिँदै गर्दा सांस्कृतिक झल्काउने इट्टाको आर्ट बनाइएको छ । घरको पेटीमा बसिरहेकी हजुरआमाको तस्बिरले गाउँ झल्काउँछ ।

सोही तलमा ‘अक्वाइरियम रुम’ छ । विभिन्न माछाका रंगिविरंगी कलाहरु भित्ताभरी कोरिएका छन् । साथै, भित्ता र भुईमा अक्वाइरियमसहित समुन्द्रको आर्ट देख्न सकिन्छ ।

कम्पनीले सोही तल्लामा ‘टाइटेनिक रुम’ बनाएको छ । टाइटेनिक फिलिङ दिन कोठमा ‘टाइटेनिक पानीजहाज’ बनाइएको छ । टाइटेनिक डुङ्गासँगै उक्त कोठामा समुन्द्रमा पाइने जीवजन्तुको आर्टले मानिसहरूलाई समुन्द्रभित्र बसेको अनुभूति हुनेछ ।

साथै, कोठाअनुसार संगितको धुन सुन्न सकिन्छ । टाइटेनिक रुममा टाइटेनिकको संगितले फिल्मको याद दिलाउँछ ।

‘परिवारलगायत अन्य ग्रुपमा आएका ग्राहकलाई टाइटेनिक रुम रिफर गर्दै आएका छौं,’ चन्दले क्लिकमाण्डूसँग भने ।

सोही कोठा हुँदै जाने बाल्कोनीलाई कम्पनीले ‘कुमारी बाल्कोनी’ नाम दिइएको छ । मध्यपान तथा धुमपान गर्ने ग्राहकको लागि कुमारी बाल्कोनी छुट्याइएको छ । साथै, उक्त बाल्कोनीमा कुमारीको नै आर्ट गरिएको चन्दको भनाइ छ ।

उक्त तल्लामा ‘स्पेस रुम’ पनि छ । चन्दका अनुसार मानिसहरू उक्त कोठामा बसेर खाँदा अन्तरिक्षा बसेर खाएको महसुस हुनेछ । कम्पनीले सोहीअनुसार कोठामा अन्तरिक्षको पुरै आर्ट गरिएको छ ।

रेष्टुराँले ‘सारेगमा रुम’मा संगितको आर्ट पस्किएको छ । मिटिङलगायत भेटघाटका लागि भन्दै छुट्टै व्यवस्था गरेको चन्दले जानकारी दिए । उक्त कोठामा नारायन गोपाल, अन्जु पन्त, राजेश पायल राई, लत्ता मङ्गेश्वर र माइकल ज्याक्सनको तस्बिरको आर्ट भित्तामा समावेश गरेको छ ।

‘संगित प्रति लगाव भएको र छुट्टै कोठा चाहिनेहरू लागि सारेगमा कोठा उपयुक्त हुनेछ,’ चन्दले रेष्टुराँ घुमाउँदै भने ।

त्यसैगरी, कम्पनीले ‘स्केरी रुम’ अर्थात भूत कोठाको व्यवस्था गरेको छ । रेष्टुराँमा भूतको फिलिङ आउने र हरर फिल्म मन परानेको लागि यो कोठा उपयुक्त हुनसक्छ । भूतको आर्टसँगै सोहीअनुसार संगित बनाइन्छ ।
दोस्रो तल्लामा ‘हेरिटेज हल’ छ । हलमा सेमिनार, मिटिङ र कार्यक्रम गर्न सक्नेछन् । जसमा कम्पनीले हलभित्र विभिन्न प्रकारका आर्ट बनाएका छन् ।

कम्पनीले सोही तल्लामा ‘नेचर बाल्कोनी’सहित विभिन्न प्राकृतिक सौन्दर्यको आर्ट बनाएका छन् । हरियाली डाँडाकाँडा र सुगा बसिरहेको प्राकृतिक सुन्दरता देख्न सकिन्छ ।

‘कम्पनीले समयअनुसार आर्ट परिवर्तन गर्ने योजना बनाएको छ,’ उनले भने, ‘आगामी दिनमा रेष्टुराँमा नयाँ खालको आर्ट पस्किनेछौं ।’

रेष्टुराँमा कम्पनीले कोठाअनुसार खाना दिने योजना बनाइरहेको छ । हाल साढे दुई तल्लाको घरमा १ वटा हल, ७ वटा कोठा र दुई वटा बाल्कोनी छन् । पत्येक कोठाको आ-आफ्नै विशेषता छन् ।

सोही विशेषतालाई मध्यनजर गर्दै रेष्टुराँमा नयाँ प्रवृत्तिको खाना पस्किने योजना बनाएको चन्दले बताए ।

‘आगामी दिनमा अक्वाइरियम र टाइटेनिक रुममा समुन्द्री खानालाई जोड दिनेछौं,’ चन्दले भने ।

रेष्टुराँमा २ सय जना अट्ने ठाउँ छ । लकडाउनअघि नै सञ्चालनमा ल्याएको रेष्टुराँले शुरुवाती चरणमा राम्रो व्यापार गरेको चन्द बताउँछन् ।

‘शुरुको ३ महिनामा रेष्टुराँले थाम्नै नसम्ने भीड भएको थियो,’ चन्दले भने । नेपालमै पहिलो थ्रीडी आर्ट भएको हुनाले शुरुमा निकै भीड भएको चन्दको बुझाइ छ ।

त्यसपश्चात कोरोनाले गर्दा रेष्टुराँमा निकै धक्का पुगेको चन्दले बताए । तर, अहिले विस्तारै चलायमान हुँदै गएको उनले जिकिर गरे ।

आगामी दिनमा नयाँ प्रकारका खाना पस्किने योजना बनाएको छ । साथै, कम्पनीले पोखरामा पनि थ्रीडी आर्टमै रेष्टुराँ खोल्ने योजना बनाएको चन्दले बताए ।


अरिष्मा मोक्तान