चैत तेस्रो सातादेखि चोभार सुक्खा बन्दरगाह सञ्चालन आउने



काठमाडौं । विगत लामो समयदेखि चर्चामा रहेको चोभार सुक्खा बन्दरगाह चैतको तेस्रो साताबाट सञ्चालनमा आउने भएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले गत साउनमै भौतिक कार्य सम्पन्न गरेको सो चोभार सुक्खा बन्दरगाहको यही चैत तेस्रो सातासम्ममा उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी गरेको हो ।

यातायात विकास समिति र भन्सार विभागको संयुक्त सहकार्यमा सञ्चालनमा ल्याउने तयारी भइरहेको हुनाले आयातकर्ता तथा निर्यातकर्तालाई सहज हुनेछ ।

हाल यातायात विकास समितिले सम्पूर्ण कार्य सम्पन्न गरेर आफ्नो कर्मचारीसमेत खटाइसकेको छ । त्यस्तै, भन्सार विभागले पनि भन्सार सञ्चालनमा लागि कर्मचारीलगायत सम्पूर्णको व्यवस्थापन गरिसकेको भन्सार विभागले जनाएको छ । त्यसमा, अर्थ मन्त्रालयबाट उद्घाटनको लागि स्वीकृति पाउने वित्तिकै सञ्चालनमा ल्याउने तयारी भएको विभागका सुचना अधिकारी पुण्यबिक्रम खड्काले बताए ।

उनकाअनुसार विभागले भन्सार कार्यालयमा लागि सम्पूर्ण तयारी गरिसकेको अवस्था छ । उक्त सञ्चालनका लागि उद्घाटन मितिको मन्त्रालयलबाट पत्र आउने वित्तिकै सञ्चालनमा ल्याउनेछ ।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सम्पूर्ण तयारी भइसकेको हुनाले सम्भवत् आगामी दुई हप्तामा उद्घाटन गर्ने योजना बनाएको बताए ।

त्यस्तै, यसअघि नै सरकारले चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि राजपत्रमा सुचना जारी गर्दै काठमाडौंमा भन्सार जाँचपासका लागि मालवस्तु ल्याउन खुल्ला गरेको छ । उक्त खुल्ला गरेसँगै आयातकर्ता तथा निर्यातकर्तालाई सहज हुने भएको छ । विगतका दिनमा विभिन्न नाकामा पुग्नुपर्ने व्यवसायीहरू अब काठमाडौंमा जाँचपास गरेर नाकामा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ ।

काठमाडौंमा स्थापना गरिएको सुक्खा बन्दरगाहबाट सुविधा लिन चाहने पैठरीकर्ताले अनुमतिका लागि मालवस्तु प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयमा नेपाल भन्सार स्वचालन प्रणालीको ट्रान्जिक्ट मोड्युल प्रयोग गरी आवश्यक विवरण घोषणा गरिएको फाराम प्रणालीबाटै मुद्रण सीमास्थित भन्सार कार्यालयको भन्सार अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

सरकारले आन्तरिक परिवहनको अनुमति लिनका लागि प्रतितपत्र खोली पैठरी भएको हुनुपर्ने जनाएको छ । जसमा चलान भएको स्थानबाट बन्दरगाह भन्सारसम्म नै सिपिङ कम्पनीहरूबाट सञ्चालित स्तरीय सिपिङ कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी भएको हुनुपर्नेछ ।

जीपीएस जडान भएको हुनुपर्ने

सरकारले काठमाडौंमा सुरक्षा साथ वस्तु काठमाडौैंमा जाँचपासका लागि भू-मण्डलीय स्थिति निर्धारण प्रणाली (जीपीएस) जडान गरेको हुनुपर्ने जनाएको छ । प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयबाट बन्दरगाह भन्सारसम्म जीपीएसजडित विद्युतीय ट्रयाकिङ प्रणाली भएको ताला लगाएको हुनुपर्नेछ ।

तर, गुडाएर लैजाने नयाँ सवारी साधन तथा चेसिसको हकमा जीपीएस ताला आवश्यक पर्ने छैन । चलान भएको स्थानदेखि लगाइएको सिलसिलेवार नम्बरसहितको सिल दुरुस्त भएको हुनुपर्नेछ ।

काबु बाहिरको परिस्थिति परेको अवस्थामा बाहेक प्रवेश गरेको भन्सार कार्यालयबाट आन्तरिक परिवहनो अनुमति लिएका मालवस्तु ढुवानीको साधन बढीमा ७२ घण्टाभित्र बन्दरगाह भन्सार कार्यालयमा पुर्याउनुपर्नेछ ।

सरकारले जीपीएस ताला उपलब्ध गराउने, कन्टेनरमा लगाएको ताला संकलन गर्ने सम्बन्धी सम्पूर्ण व्यवस्था सम्बन्धित भन्सार कार्यालयको निर्देशन र नियन्त्रणमा रही चोभार सुक्खा बन्दरगाहको सञ्चालकले गर्नुपर्नेछ ।

तालाको व्यवस्थापन गरेबापत लाग्ने शुल्क चोभार सुक्खा बन्दरगाहको सञ्चाकले इन्टरमोडल यातायात विकास समितिको निर्णय बमोजिम पैठरीकर्ताबाट लिन सक्नेछन् ।

त्यसैगरी, आन्तरिक परिवहन गरिने मालवस्तु बन्दरगाह भन्सारमा प्रवेश नगरेसम्म तोकिएका भन्सार कर्मचारीबाहेक अन्य कुनै व्यक्ति वा निकायले बाटोमा खोल्न, रोक्न हेर्न वा जाँच गर्न पाउने छैन ।

सरकारले वीरगञ्ज भन्सार, मेची भन्सार, विराटनगर भन्सार, भैरहवा भन्सार र सुक्खा बन्दरगाह भन्सार सिर्सिया, पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुका हकमा मात्र प्रदान गर्नेछ ।

तर, अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तुलाई यस्तो सुविधा दिन आवश्यक देखिएमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछ ।

साथै, अनुमति पाएका ढुवानी साधन बन्दरगाह भन्सार कार्यालयमा पुगेको दिनदेखि ७२ घण्टाभित्र फर्केमा अस्थायी पैठरी महशुल लाग्ने छैन । सोभन्दा बढी अवधि बसेमा प्रचलितकानून बमोजिम हुनेछ ।


क्लिकमान्डु