सेयर बजारमा दोहोरो अंकको गिरावट, दुई कम्पनीमा लगानीकर्ताको आकर्षण



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकम पनि निकै खुम्चदैं गएको छ । बुधबार बजार मापन गर्ने सूचक २०.३४ अंकले घटेर परिसूचक २६३०.३६ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.२२ अंकले घटेर ४९५.११ बिन्दुमा रोकिएको छ ।
यो दिन २२६ कम्पनीको ३९ लाख ८५ हजार ५७४ कित्ता सेयर २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ९.६२, विकास बैंक ५३.७५, वित्त ३४.५३, जलविद्युत ३६.३९, जीवन बीमा १२८.७०, माइक्रोफाइनान्स २०.७५, निर्जीबन बीमा समूहको ७८.९१ अंकले घटेको छ ।

बजारमा दोहोरो अंकको गिरावट आउँदा पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुई कम्पनीमा लगानीकर्ता झुम्मिएका छन् ।

पछिल्लो केही दिन यता बजारमा सुधार देखिन थालेको थियो । उक्त सुधारलाई केही लगानीकर्ताहरुले आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनसँग जोडेर पनि हेर्ने गरेका छन् । नेपाली सेयर बजारलाई निर्वाचन फाप्ने गरेको छ । जसले गर्दा बजार बढ्ने अपेक्षा रहेको लगानीकर्ताहरुको तर्क छ । यो दिनको गिरावटलाई बजारमा देखिएको करेक्सनको रुपमा पनि लिन सकिने लगानीकर्ताहरुको तर्क छ ।


क्लिकमान्डु