सेबोनको सुझावः फेसबुक र क्लब हाउसकाे भर पर्दा फसिएला



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुको लागि १८ वटा सुझाव दिएको छ ।

बोर्डले विश्व वित्तीय सप्ताहको अवसरमा लगानीकर्ताको लागि उक्त सुझाव दिएको हो । बोर्डले लगानीकर्ताको लागि दिएको सुझावमा धितोपत्र बजारमा समय समयमा उतारचढाव आउन सक्ने भएकोले धितोपत्रमा लगानी गर्दा यथार्थ र उपयुक्त सूचना लिई संयमित तथा विवेकशील भई लगानी सम्बन्धी निर्णय लिनुहोस् ।

धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै हुने हुँदा हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको बास्तविक बस्तुस्थिति बुझेर आफ्नो स्वविवेकमा जोखिम बहन गर्ने क्षमता अनुसार लगानी उपकरण छनौट गरी लगानी सम्बन्धी निर्णय गर्नुहोस् ।

धितोपत्र बजारमा नवप्रवेशी हुनुहुन्छ भने सकभर प्राथमिक बजारबाट लगानी शुरुवात गर्नुहोस । प्राथमिक बजारमा गर्दा धितोपत्र निष्काशनकर्ता कम्पनीको आव्हानपत्र, विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ्ग स्तर जस्ता महत्वपूर्ण पक्षहरुको विश्लेषण गर्नुहोस् ।

धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली लागू गरिएकाले सेयरमा आवेदन दिंदा यस प्रणालीमार्फत मात्र आवेदन दिनुहोस् । धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले आधिकारीक वा प्रमाणित रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने संवेदनशील सूचना जस्तै लाभांश घोषणा, हकप्रद सेयरको घोषणा, व्यबस्थापनमा परिवर्तन, भावी योजनाहरु, कम्पनीको आवधिक र वार्षिक प्रतिवेदनमा उल्लेखित वित्तीय सूचकांकहरु, धितोपत्रको मूल्य प्रबृत्ति, कम्पनीको साधारणसभाको निर्णय (माइन्यूट) र कम्पनीसंग सम्बन्धित उद्योग÷क्षेत्रको अवस्था आदि जस्ता महत्वपूर्ण पक्षहरुको अध्ययन गर्नुहोस् ।

धितोपत्र बजारमा देशको समग्र आर्थिक तथा राजनितिक स्थितिको प्रत्यक्ष प्रभाव पर्ने भएकाले धितोपत्रमा लगानी गर्दा यसप्रति समेत सजग रहनुहोस् । धितोपत्र बजारमा बैंकको तरलता तथा व्याजदर समेत प्रत्यक्ष प्रभाव रहने भएकोले लगानी गर्दा यस तर्फ समेत विचार पुर्याउनुहोस् ।

धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधिकरणमा ध्यान दिनुहोस् । साथै दीर्घकालीन रुपमा गरिने लगानीले जोखिमको संभावना न्युन गराउने कुराको जानकारी राख्नुहोस् । धितोपत्र बजारमा लगानी गर्दा आवश्यक वा आपेक्षित प्रतिफल निर्धारण गरेर गर्नुहोस ।

धितोपत्रको दोस्रो बजारमा कारोबार गर्दा कारोबार भएको दिनको दुई (२) दिन भित्रमा कारोबारको राफसाफ (टी प्लस टू) हुनुपर्ने कुराको जानकारी लिनुहोस् । यदि उक्त अवधिमा राफसाफ नभए बोर्डलाई जानकारी गराएमा बोर्डले तत्काल कारवाही प्रकृया अगाडि बढाउने छ ।

धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल (जस्तैः फेसबुक तथा क्लब हाउस) मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण आधिकारीक नहुने भएकोले ती अनुमान, प्रक्षेपण, विचार र परामर्शको आधारमा लगानी सम्बन्धी निर्णय नलिनुहोस् ।

धितोपत्र कारोबार गर्दा रकमको लेनदेन गर्दा बैंकमार्फत गर्नुहोस । धितोपत्र कारोबार वापत धितोपत्र दलालले लिने शुल्क सम्बन्धमा रहेको कानुनी व्यवस्थाको आवश्यक जानकारी लिनुहोस् ।

आफुले लगानी गर्न लागेको सेयर कुन प्रकारको सेयर (जस्तै संस्थापक सेयर, साधारण सेयर अग्राधिकार सेयर) र त्यसको विशेषता, फाइदा वा बेफाइदाको बारेमा जानकारी लिएर मात्र लगानी सम्बन्धी निर्णय लिनुहोस् ।

नेपाल स्टक एक्सचेञ्जबाट सूचिकरण खारेजी भएका तथा सूचीकृत नभएका पब्लिक लिमिटेड कम्पनीहरुको धितोपत्रहरु ओभर द काउन्टर बजारबाट कारोवार गर्न सकिने व्यबस्था भएको हुंदा सो बारे जानकारी राख्नुहोस् ।

धितोपत्रको दोश्रो बजारमा कारोबार गर्दा बोर्डबाट अनुमतिपत्र प्राप्त र नेप्सेको सदस्यता लिएको धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर) मार्फत मात्र कारोबार गर्नुहोस् ।

धितोपत्र बजार, वित्त बजार, बीमा बजार तथा सम्बन्धित नीति, नियम तथा निर्देशनहरु सम्बन्धी आधिकारीक जाकारकीका लागि बोर्ड, नेप्से, नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय तथा बीमा समितिको वेबसाइट हेर्ने गर्नुहोस् ।

धितोपत्रमा लगानी सम्बन्धी कुनै जिज्ञासा वा गुनासाहरु भए सम्बन्धित धितोपत्र व्यवसायी, निष्काशनकर्ता तथा सूचीकृत कम्पनी, सिडिएससी, नेप्से वा बोर्डमा सम्पर्क राख्नुहोस् ।

बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नियमित रुपमा प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम तथा प्रकाशन मार्फत संचालन गर्दै आएकोमा त्यस्तो कार्यक्रममा सक्रिय सहभागि भै बजार तथा लगानी सम्बन्धी आवश्यक ज्ञान हासिल गर्नुहोस् ।


क्लिकमान्डु