एनसेल पायो दुई विधामा अवार्ड



काठमाडौं । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ । कम्पनीले गरेका काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप उक्त पुरस्कार पाएको हो ।

सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो । यस अवार्ड कार्यक्रमले एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै पुरस्कृत गर्छ । यस अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको थियो ।

कोभिड–१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागू गरे । बजारमा विभिन्न चुनौतीका बीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासेफिक क्षेत्रका कम्पनीहरूलाई ‘एसियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड–१९ को महामारीमाझ देशभर विभिन्न आमसञ्चारमाध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पु¥याएबापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको हो । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो ।

‘प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकोमा हामी अत्यन्तै हर्षित छौं । यो सम्मानले देश र जनताका लागि हामीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको छ । हामीले सन् २०२० देखि कोभिड–१९ महामारीविरुद्ध गरेका काम र डिजिटलाइजेसन यात्रामा हाम्रो निरन्तर योगदानको सम्मान पनि हो’, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले भने, ‘हाम्रा उपलब्धिहरू हामीले स्थापित गरेका बलिया आधारका कारण सम्भव भएका हुन् । म सम्पूर्ण कर्मचारीलाई समर्पण र उत्कृष्ट कामका लागि धन्यवाद दिन चाहन्छु ।’

सरकारलाई कोरोनाभाइरस रोकथामका लागि ‘कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० करोड योगदान गर्ने एनसेल पहिलो निजी क्षेत्रको कम्पनी हो । कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहकार्यमा कोभिड–१९ महामारीको रोकथामको लागि जनसचेतना अभिवृद्घि गर्ने काम गरेको छ ।


क्लिकमान्डु