सबै प्रदेशमा समान सवारी करको व्यवस्था गर्ने सहमती



काठमाडौं । सबै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन ।

गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको बैठकले सो सहमती गरेको हो । २० बुँदे पोखरा घोषणा पत्र जारी गर्दै बैठकले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने गरी सबै प्रदेशमा एकै खालको सवारी कर, दस्तुर र जरिवानाको व्यवस्था गर्न संघीय सरकारलाई आवश्यक कानुनको व्यवस्था गर्न माग गर्ने निर्णय गरिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले जानकारी दिए ।

एक प्रदेशमा दर्ता भइ अर्को प्रदेशमा संचालनमा रहेका गाडीको नवीकरण चलिरहेको प्रदेशबाटै गर्ने व्यवस्था गर्न संघीय सरकारलाई आग्रह गरिएको पनि उनले बताए ।

सबै प्रदेशमा एकीकृत भिआरएस प्रणाली लागू गर्न यातायात व्यवस्था विभागले पहल गर्ने, एकैदिन ब्लुबुक नवीकरण र कर तिर्न मिल्ने व्यवस्था गर्ने निर्णय पनि गरिएको छ ।

त्यसैगरी सवारी सम्बन्धी कर र जरिवाना प्रदेशको एकल अधिकारभित्र पर्ने भएकोले सबै रकम र इम्बोस्ड नम्बर जडानको रकम समेत प्रदेश राजश्व खातामा जम्मा गर्न माग गरिएको पनि मन्त्री खड्काले बताउनु भयो । अहिलेसम्मका सबै डाटा र प्रणालीहरु संघले प्रदेशलाई हस्तान्तरण गर्ने र त्यसको सुरक्षा प्रणाली मजबुत गर्ने, लाईसेन्स र सवारी दर्ता प्रणालीमा देखिएका सबै समस्या समाधानको लागि आवश्यक नीति तथा कानुन परिमार्जन गर्ने, विभागले स्मार्ट लाईसेन्स छिटो प्रिन्ट गरेर तत्काल सम्बन्धित कार्यालयमा पठाउनुपर्ने, विभागले प्रदेशका कार्यालयहरुलाई सहयोग गर्न जिम्मेवारी सहितको फोकल पर्सन तोक्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, डिजिटल ट्रायल सेन्टर परीक्षणको रुपमा लुम्बिनी प्रदेशबाट सुरु गर्ने, विद्युतीय सवारी साधन संचालनलाई प्राथमिकतामा राख्ने, सडकको क्षेत्राधिकार कायम गर्न सबै प्रदेश सरकारहरुले राजनीतिक प्रतिवद्धता जाहेर गर्ने सहमति गरेका छन् ।

सवारी चालक अनुमतिपत्रको परीक्षा संचालन कार्यविधि सबैले लागू गर्ने, अन्तर प्रदेश सवारी रुट अनुमति जाँचपासको काम गर्न यथाशीघ्र कार्यालय स्थापना गर्ने, शहर सौन्दर्यकरण, दुर्घटना न्यूनिकरण कार्यक्रम अन्तरगत पालिका मार्फत अनिवार्य पार्कीङ्गको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

सडक ऐन २०३१ (संसोधन २०७५) मा प्रादेशिक सडकको बर्गिकरण गर्न पहल गरी प्रादेशिक सडकहरुमा पहुचको आधारमा बजेट बिनियोजन नगर्ने व्यवस्था सडक विभागले मिलाउने र सशर्तका योजनाहरुमा श्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा पहल गर्नु पर्ने, स्थानीय पूर्वाधार विभागबाट झोलुङ्गे पुलमा प्रयोग हुने लठ्ठा खरिद र वितरण प्रणाली चुस्त बनाउनु पर्ने माग सातै प्रदेशका मन्त्री र सचिवहरुको छ ।

प्रदेश भित्रका योजनाहरुको रकमान्तर गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने, खर्च नहुने रकम बिभागमा फर्काउने र उक्त रकम अन्तर प्रदेशका योजनामा रकमान्तर गर्ने, साझा सरोकारका विषयमा संघीय सरकार र प्रदेश सरकारहरुबीच सम्बाद, सहकार्य, सिकाई आदान आदान प्रदान गर्ने निर्णय भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले संघीयताको मर्म अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘हामी संघीयतालाई मजबुत बनाउन चाहान्छौं । त्यसका लागि प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने हो । अहिलेसम्मका समस्या समाधान गर्दै नागरिकलाई सहज सुविधा दिन सबैले पहल गरौं ।’

कार्यक्रममा देशभर ५ लाख ७२ हजारलाई स्मार्ट लाईसेन्स दिन बाँकी रहेको उल्लेख गर्दै उक्त लाईसेन्स असारसम्म दिईसक्ने यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले बताए । बैठकमा मधेस प्रदेशबाहेक अन्य प्रदेशका यातायात तथा पूर्वाधार हेर्ने मन्त्रीहरूको सहभागिता रहेको थियो ।


क्लिकमान्डु