आयल निगमलाई १५ दिनमा ५ अर्ब ३० करोड घाटा, पूर्वाधार निर्माणका सबै काम स्थगित



काठमाडौं । लागातार घाटा बेहोरिरहेको नेपाल आयल निगमले हालसम्म २८ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको छ । निगमका अनुसार पछिल्लो समय इन्धनको मूल्य बढेर आएसँगै अब मासिक रुपमा १० अर्ब रुपैयाँ घाटा बेहोर्नुपर्ने अवस्था देखिएको छ ।

निगमले हाल डिजलमा प्रतिलिटर ३६ रुपैयाँ ४४ पैसा घाटा बेहोरिरहेको छ भने पेट्रोलमा ३२ रुपैयाँ ८१ पैसा, मट्टितेलमा प्रतिलिटर १९ रुपैयाँ ५१ पैसा घाटा बेहोरिरहेको छ । त्यसैगरी अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिलिटर ४३ रुपैयाँ ८४ पैसा र आन्तरिकतर्फको हवाई इन्धनमा ४ रुपैयाँ ०६ पैसा घाटा बेहोरिरहेको छ । निगमले हाल एलपी ग्याँसमा प्रतिसिलिण्डर ६६५ रुपैयाँ ३४ पैसा घाटा बेहोरिरहेको छ ।

निगमका अनुसार हाल निगमलाई १५ दिनमा ५ अर्ब ३० करोड घाटा भइरहेको छ ।

घाटा पूर्ती गर्न विभिन्न विकल्प प्रयोग गरिरहेको निगमले सरकार मातहतको मूल्य स्थिरीकरण कोष तथा इन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी रकम भुक्तानी गरिरहेको छ ।

हाल विकास निर्माणको काम स्थगित गर्ने योजनामा रहेको निगमले पेट्रोलियम पदार्थको खरिद वापत आवश्यक रकम जुटाइ आपूर्ति सहज बनाउन केन्द्रित रहेको निगमको भनाइ छ ।


क्लिकमान्डु