निभ्दै गए सलाई उद्योग, आयातित सलाई र लाइटरका अगाडि टिक्नै सकेनन्
बिराटनगर । नेपालमा कुनै समय एक दर्जनभन्दा धेरै सलाई उद्योग थिए । जतिबेला आगो बाल्ने माध्यम सलाईमात्रै थियो ।
झन्डै ३ दशकको अवधिमा भने सलाई उद्योगको संख्या घट्दै गएको छ । नेपालमै पहिलो पटक ‘वाक्स म्याच इन्ड्रष्ट्रिज’ सञ्चालन गरेका अभिनाश बोहोरा सलाई उद्योग पूरै धराशायी भएको बताउँछन् ।
उनले ३६ वर्षअघि २०४२ सालमा मैनबाट बन्ने सूर्य ब्रान्डमा पहिलो सलाई उद्योग शुरु गरेका थिए । बिराटनगरमा स्थापना भएको उक्त उद्योग अहिले बन्द छ ।
‘हामीले नपालमै पहिलो वाक्स म्याच इन्ड्रष्ट्रिज स्थापना गरेका थियौं,’ बोहोरा भन्छन्, ‘त्यसपछि धेरै उद्योग आए । अहिले ती अधिकांश उद्योग बन्द छन् ।’
बोहोराले तत्कालीन समयमा जापानबाट उच्चस्तरको मेसिन ल्याएका थिए । यसबाट सलाईका काँटी बनाउनेदेखि फिनिसिङसम्म अटोमेसनमै हुन्थ्यो । त्यसका लागि मसला पनि अटोमेटिक लाग्थ्यो । जुनबेला उनले उक्त उद्योगमार्फत् १५० जनासम्मलाई रोजगारी दिएका थिए ।
बोहोराले सूर्य सलाई उत्पादन शुरु गर्दा सिमल प्रयोग गरी सलाई उत्पादन गर्ने कम्पनीहरु करिब आधा दर्जनको संख्यामा थिए । त्यसअघि उद्योगहरुले सलाईको स्टिकका लागि सिमलको काठ प्रयोग गर्दथे ।
तर, त्यसपछि सरकारले सिमल संरक्षित रुख भएका सलाई बनाउन यसको प्रयोग गर्न नपाइने नियम बनायो । त्योबेला विदेशतिर मैनबाट सलाई उत्पादन भइरहेका थिए । त्यो समयमा लाइटरको प्रयोग थिएन । पूजाआजादेखि आगो बाल्ने हरेक काममा सलाईकै प्रयोग हुन्थ्यो ।
‘त्यसपछि हामीले मैनबाट बनाउने सलाई उद्योग खोलेका हौं,’ बोहोरा भन्छन् ।
सिमलको काठ प्रयोग गर्न नपाएपछि केही उद्योग बन्द भए भने ७/८ वटा अझ थपिए । भारतबाट पनि सलाईको लागि चाहिने स्टिक आउथ्यो ।
अहिले नेपालमा ३ वटामात्र सलाई उद्योग सञ्चालनमा रहेको बोहोरा बताउँछन् । अरु सबै बन्द भइसकेका छन् ।
यी सबै कारणले नेपालमा सलाई उद्योग एकपछि अर्को गर्दै बन्द भए । त्योबेलाको जुद्ध म्याच इन्ड्रष्ट्रिज पनि २०५५ सालमा बन्द भयो । नेपालमा अहिले सूर्य नेपालको तीर सलाई सञ्चालनमा छ । सूर्य चुरोटसँग सलाईको व्यापार गरेकाले उसलाई बजारमा टिक्न सजिलो भएको छ ।
सलाई उद्योग बन्द हुनुमा सरकारको नीति र लाइटरको ब्यापक प्रयोग मुख्य कारक रहेको सलाई उद्योगीहरुको भनाइ छ ।
सरकारले स्थानीय उद्योगलाई संरक्षण गर्न नसकेको बोहोराको भनाइ छ । भारतबाट आउने सलाई नेपालमा भन्दा सस्तो पर्छ ।
सरकारी नीतिका कारण सलाई उद्योग बन्दै हुँदै गएको अर्का सलाई उद्योगी राजेन्द्र ढकालको भनाइ छ । ढकाल जय महालक्ष्मी म्याच इन्ड्रष्ट्रिजबाट मुन स्टार ब्रान्डमा सलाई उत्पादन गर्छन् । यी विभिन्न कारणले अहिले राम्रोसँग उद्योग सञ्चालन गर्न नसकिएको ढकालले बताए ।
‘सरकारले स्वदेशी उद्योग बचाउन भारतबाट आयात हुने सलाईको भन्सार बढाउन गरेको आग्रह सुनेन्,’ ढकालले भने, ‘त्यही कारणले उद्योगहरु धमाधम बन्द हुँदै गए ।’
सलाई बनाउनका लागि कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्छ । यसमा प्रयोग हुने स्टिक, मसला आयात गर्दा अझ सस्तो पर्यो । आयातित सलाई अझ सस्तो पर्ने भए ।
बोहोराले उत्पादन गर्दा नेपालमा सलाईको खुद्रा बिक्री ५० पैसा थियो । पछि ७५ पैसा हुँदै १ रुपैयाँ भयो । पछि सलाईको मूल्य बढेन । उद्योगहरुले सलाईको मूल्य नबढाए पनि सलाईको बट्टाभित्रको स्टिकको संख्या घटाए ।
पहिला सलाईमा ५० स्टिक हुन्थ्यो । पछि मूल्य बढेन तर स्टिकको संख्या भने घट्यो ।
सलाई उद्योग टिक्न नसक्नुको अर्को कारण चीनबाट आयात भइरहेका सस्ता लाइटर पनि हुन् । पछिल्लो समयमा चीनले ती सस्ता लाइटर बनाएको छ, जसले गर्दा सलाईको प्रयोग ह्वात्तै घट्यो ।
चीनबाट आयात गरेको लाइटर २ रुपैयाँदेखि ५ रुपैयाँसम्म पाइन्छ । एउटा सलाईको मूल्य१ रुपैयाँ पर्छ । तर, लाइटर सलाईभन्दा धेरै टिकाउ भयो । यसले गर्दा सलाई बिक्री कम हुँदै गयो ।
चीनबाट अहिले वार्षिक ६४ करोड ५३ लाख रुपैयाँभन्दा धेरैको लाइटर आयात भइरहेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष मात्रै साढे ६४ करोडरुपैयाँ बराबरका ११ करोड ९२ लाख ४२ हजार गोटा लाइटर आयात भएका छन् ।
चालु आर्थिक वर्षको सात महिनामा मात्रै १९ करोड ९७ लाख ३७ हजार रुपैयाँ बराबरका ३ करोड ५७ लाख २७ हजारभन्दा धेरै ग्याँस लाइटर आयात भएका छन् ।
नेपालले वार्षिक लाखौं रुपैयाँ खर्चेर सलाई र सलाईको स्टिक भारतबाट आयात गर्छ । चालु आर्थिक वर्षको सात महिनामा भारतबाट ६२ लाख ४१ हजार रुपैयाँ बराबरको ७४ हजार ५ सय १५ सलाइ बनाउने स्टिक आयात भएको छ ।
साथै, ४३ लाख ८१ हजार रुपैयाँ बराबरका २६ हजार ४ सय ८९ केजी सलाई आयात गरिएको छ ।
गत आर्थिक वर्षमा नेपालमा २ करोड ३४ लाख रुपैयाँभन्दा धेरैको १ लाख ४७ हजार ९ सय रुपैयाँको सलाई आयात भएको थियो । उक्त वर्ष सलाई बनाउने स्टिक २४ लाख २६ हजार रुपैयाँ बराबरको २९ हजार ६ सय केजी आयात भएको थियो ।