सुनको मूल्य प्रतितोला १ लाख ३ हजार पुग्यो, १ लाख १० हजार पुग्न सक्ने अनुमान



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएकोमा सोमबार ११ सय रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यले अहिलेको बढ्दो क्रममा आगामी दिनमा झनै सुनको मूल्य बढ्ने बताए । अहिले दैनिक १ हजारभन्दा बढी रुपैयाँले बढ्दो क्रममा छ । त्यसैले सुनको मूल्यले अझै इतिहास कायम गर्ने उनको अनुमान छ ।

महासंघका महासचिव धर्म बज्रचार्यले रुस र युक्रेनको द्वन्द्वले गर्दा सुनको मूल्य अझै बढ्ने बताए । उनकाअनुसार पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै उच्च रुपमा मूल्य बढ्दा आगामी दिनमा सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँसम्म पुग्ने अनुमान गरेको छ ।

त्यसैगरी, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएकोमा सोमबार १ लाख २ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको १४ सय १५ रुपैयाँ कायम भएकोमा सोमबार १० रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु