लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा करिब २ खर्ब



काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट कृषि क्षेत्रमा जाने कर्जा प्रवाहको हिस्सा बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा उक्त कुरा उल्लेख छ ।

लघुवित्त वित्तीय संस्थाहरुले २०७८ पुस मसान्तमा प्रवाह गरेको कर्जा रकम ४ खर्ब ३० अर्ब ६७ करोड ९४ लाख रुपैयाँ मध्ये १ खर्ब ९५ अर्ब ८१ करोड ७ लाख रुपैयाँ अर्थात ४५.४७ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिएको छ । २०७८ असार मसान्तमा कृषि क्षेत्रमा १ खर्ब ६३ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ अर्थात ४४.८२ प्रतिशत कर्जा प्रवाह भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ३.३९ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा ३१.२२ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जामा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जाको हिस्सा १२.७३ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

अध्ययन अनुसार थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको कुल कर्जा नोक्सानी व्यवस्था बढेको छ भने निष्क्रिय कर्जामा नोक्सानी व्यवस्था घटेको छ ।

२०७८ पुस मसान्तमा उक्त लघुवित्त वित्तीय संस्थाहरूको कुल कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा ११.२५ प्रतिशतले बढेर १ अर्ब ८ करोड पुगेको छ । जसमध्ये निष्क्रिय कर्जा नोक्सानी व्यवस्था २०७८ असार मसान्तको तुलनामा १.७३ प्रतिशतले ह्रास भई १८ करोड पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल कर्जा नोक्सानी व्यवस्था रकम ८.७९ प्रतिशतले बढेको थियो भने निष्क्रिय कर्जा नोक्सानी व्यवस्था रकम ३१.१० प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु