यस्ता छन् मोरङ व्यापार संघले छनोट गरेका ११ स्टार्टअप, जसले थप्दैछन् कृषिमा ‘भ्यालु एड’



विराटनगर । प्रदेश १ को मुख्य कृषि उत्पादन के के हुन् ? यस क्षेत्रमा मुख्यगरी धान, मकै, अलैंची, तरकारी र दुग्ध पदार्थहरुमा आधारित कृषि फस्टाउँदै गएको छ ।

यस क्षेत्रका युवाहरु पनि यही उत्पादनमा ‘भ्यालु एड’ गर्न चाहिरहेका छन् । यी क्षेत्रमा युवाहरुले नयाँ नयाँ आइडिया लिएर स्टार्टअप शुरु गरेका छन् ।

युवाहरुको यही स्टार्टअपलाई व्यवसायीकरुपमा सफल बनाउन लागिपरेको छ, मोरङ व्यापार संघ । मोरङ व्यापार संघ नेपालकै पहिलो व्यवसायीहरुको संस्था हो । नेपाल उद्योग वाणिज्य महासंघको जननीनै मोरङ व्यापार संघ हो ।

मोरङ व्यापार संघले मुख्य त मकै, अलैंची, तरकारी र दुग्ध पदार्थ क्षेत्रलाई आधार मानेर यसै क्षेत्रका स्टार्टअप प्रवद्र्धन कार्यक्रम गरिहेको छ । स्वीस कनेन्ट, पूर्वाञ्चल म्यानेजमेन्ट कलेज र आइडिया स्टुडियोको सहकार्यमा यो कार्यक्रम गरिरहेको छ ।

‘हामीले अहिले मकै, अलैंची, तरकारी र दुग्ध पदार्थलाई फोकस गरेर स्टार्टअपहरुलाई अगाडि बढाइरहेका छौं,’ मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठी क्लिकमाण्डूसँग भने, ‘यस क्षेत्रमा लागेका केही स्टार्टअपलाई मेन्टरिङ गरिरहेका छौं ।’

मोरङ व्यापार संघले प्रदेश १ मा विभिन्न आइडियामा स्टार्टअप गरिरहेका नयाँ उद्यमीलाई लक्षित गरेर स्टार्टअप प्रवद्र्धन कार्यक्रम अगाडि सारेको उनले बताए ।

यसका लागि संघले स्टार्टअप गरिरहेकाहरुलाई आवेदन माग गरेको थियो ।

विभिन्न क्षेत्रका ६० भन्दा धेरै स्टार्टअप आइडियाहरु आएको राठीले बताए । त्यसरी आवेदन माग्दा धेरै क्षेत्रबाट स्टार्टअप आइडिया आएका थिए । जस्तो कि रेष्टुराँ, प्लम्बिङ, इलेक्ट्रिक, होम डेलिभरी, कृषिजस्ता क्षेत्रमा केही गर्न चाहन्छौ भनेर नयाँ उद्यमी आएका थिए ।

संघले पहिलो चरणमा भने कृषिमा आधारित स्टार्टअपलाई मात्र यस कार्यक्रममा लिएको छ ।

‘तुरुन्तै प्रतिफल दिन सक्ने प्रदेश १ मा धेरै सम्भावनाका भएका क्षेत्रहरुलाई फोकस गरेर हामीले यो कार्यक्रम शुरु गरेका छौं,’ राठीले भने ।

आवेदन परेका ६० आइडियाबाट ११ वटा छनोटमा परेका छन् । यी स्टार्टअपहरु मकैं, अलैंची, तरकारी र दुग्ध उत्पादनमा भ्यालु एड गर्ने स्टार्टअपहरु छन् ।

संघको लागि यस्तो कार्यक्रम पहिलो अनुभव भएकाले धेरै ठाउँ छरिनुभन्दा प्रदेश १ मा उत्पादन हुने वस्तुलाई लक्षित गरेर चार उत्पादनमा मात्र फोकस गरेको राठीले बताए ।

प्रदेश १ मा मकै, अलैंची, तरकारी र दुग्ध पदार्थको उत्पादन र सम्भवना धेरै छ । खाद्य उद्योगमा मकैको प्रयोग धेरै छ । अहिले नेपालमा प्रयोग हुने मकैमध्ये अधिकांस भारतबाट आउँछ । यहाँ प्रयोग हुने पपकर्नसमेत भारतको मकैबाट बनिरहेको ।

यहाँको मकै उत्पादन बढाउन र त्यसमा भ्यालु एड गरेर बेच्न सकेमा धेरै आम्दानी गर्न सकिने भएकाले यस क्षेत्रका स्टार्टअपलाई छनोट गरिएको उनको भनाइ छ ।

त्यस्तै, अलैंची पनि प्रदेश १ को मुख्यत उत्पादनमा पर्छ । बोराका बोरा अलैंची निर्यात हुन्छ । ती अलैंचीलाई प्रशोधन गरेर भ्यालु एड गरेर बेच्न सकेमा धेरै आम्दानी गर्न सकिने छ ।

अलैंचीलाई बर्गिकरण गरेर, त्यसलाई पुनः ब्राङिडङ गर्ने स्टार्टअपको आइडिया छ । त्यहाँबाट अलैंचीको धुलो बनाउने, तेल निकिाल्ने योजना स्टार्टअप छ ।

त्यस्तै, कन्सल्टिङ कम्पनी छ । यसले माटो परीक्षणदेखि उत्पादनसम्मको काम गर्छ ।

वायो फोर्टिलाइजरको कन्सेप्टलाई लिएर आइडिया आएका छन् । उत्पादन बढाउने किसिमका प्रोजेक्ट आएका छन् । उनीहरुले साना किसानसँग मिलेर काम पनि गरिरहेका छन् ।

अहिले छनोटमा परेका ११ स्टार्टअपहरुलाई मेन्टरिङ र कोचिङको काम भइरहेको छ । स्वीस कनेन्ट, पूर्वाञ्चल म्यानेजमेन्ट कलेज र आइडिया स्टुडियोले मेन्टरसिपमा काम गरिरहेका छन् ।

यी स्टार्टअपहरुलाई व्यवहारिक विषयहरु, कानुनी विषयहरु, बजारीकरण जस्ता विषयमा सिकाइरहेका छन् । स्टार्टअपहरुले पनि मुख्यगरी बजारीकरणमा बढी रुची देखाइरहेका छन् ।

नयाँ स्टार्टअप गरिरहेकाहरुलाई उद्योगहरुले कसरी काम गरिरहेका छन् भन्ने थाहा हुँदैन । उनीहरुलाई त्यस बारेमा ज्ञान होस् भनेर विभिन्न उद्योगको भ्रमण गराउने काम पनि भइरहेको राठीले बताए ।

साथै, प्राविधिक पक्षमा सहयोग गर्ने, गरिरहेको काम के के समस्या छन्, ती पनि समाधान गर्दै जाने काम भइरहेको छ । मेन्टरसँग भेट्ने छलफल गर्ने काम भइरहेको छ ।

‘अहिले मुख्यगरी प्राक्टिकल समस्यालाई पत्ता लगाउने काम भइरहेको छ,’ राठीले भने, ‘पहिलो चरणमा स्टार्टअपले भोगिरहेका विषय, समस्याहरुमाथि छलफल भइरहेको छ ।’

कसरी म्यालु एड गर्ने, कसरी बनाउने र बजारमा बेच्ने भन्ने कला उनीहरुले सिकिरहेका छन् ।

केही स्टार्टअपहरुले पहिलदेखि देखिनै काम पनि गर्दै आएका छन् । उनीहरुलाई यस थप सहयोग भएको छ । उनीहरुलाई लगानी आवश्यक भएका लगानीकर्तासँग पनि भेटाइदिने कामसमेत यस कार्यक्रमले गरिरहेको छ ।

पहिलो चरणमा आफ्नो पाइल प्राजेक्टको रुपमा चार क्षेत्रमा फोकस गरेको व्यापार संघले दोस्रो चरणमा इनोभेसन, सर्भिस क्षेत्रका स्टार्टअपहरुलाई यस कार्यक्रममा समावेश गर्ने जनाएको छ ।

‘नयाँ उद्यमी विकास गर्ने र नयाँ आइडियालाई प्रवद्र्धन गर्ने मोरङ व्यापार संघको मुख्य उद्देश्य हो,’ राठीले भने, ‘हामीले यस्तो वर्षमा एकपटक आवेदन मागेर वर्षगरी चलाउने योजना छ ।’

आइडिया आएजतिका स्टार्टअपहरु सफल हुँदैनन् । ९० प्रतिशत स्टार्टअप असफल हुने भएकाले राम्रा स्टार्टअपलाई अगाडि बढाउन निरन्तर लागिरहनु पर्ने उनको भनाइ छ ।


सन्तोष न्यौपाने