विराटनगरले यसरी जन्माउँदै छ स्टार्टअपहरु, नौलो आइडिया भएका युवामा उत्साह



विराटनगर । एक वर्षअघि उद्योग संगठन मोरङको अध्यक्षमा निर्वाचन हुँदै गर्दा सुयस प्याकुरेलले केही नयाँ काम गर्ने बारे सोचिरहेका थिए ।

उनको चाहना थियो, उद्योग व्यावसाय एक परिवार वा एक वर्गले मात्र गरेर हुँदैन । यो बिस्तार हुनुपर्छ र नयाँ नयाँ उद्यमी जन्मनुपर्छ । त्यसका लागि नयाँ उद्यमी आउन जरुरी थियो ।

जिल्लाको पुरानो व्यवसायीहरुको संगठनको अध्यक्ष भएपछि उनले एक नयाँ काम शुरु गरे, स्टार्टअप एण्ड इनोभेसन कार्यक्रम ।

‘नयाँ उद्यमी विकास गर्न आवश्यक छ भन्ने मेरो सोच हो,’ अध्यक्ष प्याकुरेलले क्लिकमाण्डूसँग कुरा गर्दै भने, ‘मेरो परिवारले मात्र व्यवसाय गरेर हुन्छ र ? विभिन्न क्षेत्रबाट नयाँ उद्यमी आउनुपर्छ ।’

उनको यही सोचले उद्योग संगठन मोरङले ‘स्टार्टअप एण्ड इनोभेसन प्रोग्राम’ सञ्चालन गरिरहेको छ । जसबाट आज १७ जना नयाँ स्टार्टअप उद्यमीहरु जन्मिदैछन् ।

मुलुकमा यति धेरै व्यवसायीसँग सम्बन्धित संघसंस्था भएको मुलुकमा उद्योग संगठन मोरङले गरेको उदाहरणीय काम हो । जुन विभिन्न जिल्लाका उद्योगसँग सम्बन्धित संघ संगठनलेमात्र होइन, काठमाडौंको केन्द्रमा बसेका नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसैघ, चेम्बर अफ कमर्स छाता संगठनहरुले पनि केही सिक्न सक्छन् ।

‘एकदमै राम्रो र नयाँ आइडियाहरु आएका छन्,’ प्याकुरेल भन्छन्, ‘कृषिदेखि प्रोसेसिङ, सांस्कृतिक पोशाकलगायतका विषयमा स्टार्टअपहरु आएका छन् ।’

सुयस प्याकुरेल

स्थानीय समूदायलाई व्यवसाय सिकाउने आफ्नो मुख्य उद्देश्य रहेको प्याकुरेल बताउँछन् । झन्डै एक वर्षको समय लगाएर यस संगठनले स्टार्टअप गर्न चाहने उद्यमीहरुको पहिलो ब्याच ग्राजुयट हुँदैछन् ।

छनोटमा परेकाहरुको केही नौलो भने केहीले पुरानो व्यवसायलाई नयाँ तरिकाबाट गर्न खोजिरहेका छन् । जस्तो कि बिराटनगरका विश्वजित पाउलले बरफ बनाउने फर्मा उत्पादन गर्ने व्यवसाय गरिरहेका छन् । भट्टराईका अनुसार यस्तो उत्पादन नेपालमै पहिलो पटक हो । सबै कुराको जानकारी दिने सन्दीप यादवले बनाएको डायल सेवा डट कम पनि नौलो किसिमको काम हो ।

त्यस्तै, परम्परागत पोसाक बनाउने अमन चौधरीको प्राउड पोशाक डट कम पनि धेरैले मन पराएको स्टार्टअप हो । झोला उत्पादन, टेक्निसियन सप्लायर घिउ बनाएर प्याकेजिङ गरेर बेच्ने, रेडिमेट कपडा उत्पादन गर्ने, जडिबुटी तथा किवी उत्पादन, खरायो पालन तथा खरायोको मासु उत्पादन जस्ता व्यवसाय गर्ने स्टार्टअपहरु यस कार्यक्रममा छनोट भएका छन् ।

उद्योग संगठन मोरङले आयोजना गरेको यस कार्यक्रमले आफ्नो स्टार्टअप शुरु गर्न निकै सहयोग मिलेको कार्यक्रममा छनोटमा परेका अमन चौधरीले बताए ।

‘मसँग आइडिया थियो तर कसरी अगाडि बढ्ने भन्ने थाहा थिएन,’ चौधरी भन्छन्, ‘यस कार्यक्रमले गर्दा धेरै कुरा सिक्न र अरुसँग सम्बन्धी विकास गर्न सहयोग भएको छ ।’

संगठनको यही कार्यक्रमले गर्दा आफूलाई धेरैले चिन्न थालेको चौधरीको भनाइ छ । यो अभियान गत चैतदेखि शुरु भएको थियो ।

चुडामणि भट्टराई

‘हामीले केही नयाँ काम गर्नुपर्छ, त्यसमा पनि स्टार्टअपलाई विकास गर्नुपर्छ भनेर गत चैत १३ गते यो कार्यक्रम घोषणा गरेका थियौं,’ संगठनका महानिर्देशक चुडामणि भट्टराईले भने ।

प्रदेश १ क्षेत्रलाई आधार बनाएर व्यवसाय र नयाँ आइडिया भएकाले मुलुकभरका सबैलाई यस कार्यक्रममा समेट्ने घोषणा गरे ।

त्यस्तै, वैशाख महिनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई बोलाएर नयाँ आइडियामा कसरी काम गर्ने भनेर छलफल गरेका थिए । पुन आफैले पनि इनोभेसनमा धेरै काम गरेका छन् । उनको अनुभवले यस संगठनलाई अगाडि बढ्न धेरै सहयोग भयो ।

उनको सुझावले धेरै राम्रो काम पनि गर्यो ।

‘स्टार्टअप भनेर ठूल्ठूलो कुरा सोच्ने होइन, म केही गर्छु भन्नेलाई स्टार्टअप भन्नुपर्छ,’ पुनले आफ्नो अनुभव सुनाए, ‘नेपालमै केही गर्छु भन्ने नयाँ उद्यमीलाई यसमा समेट्नु पर्छ ।’

त्यस्तै, नयाँ उद्यमीका लागि मेन्टरिङ, कोचिङ र लगानीसम्बन्धी काम गरिरहेको अन्तरप्रेरणासँग सहकार्य गरे । अन्तरप्रेरणाले प्राविधिक सहयोग गर्यो ।

प्रिती कोइराला भट्टराई

विराटनगरका बैंकहरुलाई बोलाए र आफ्नो स्टार्टअपमा गर्न लागेको कार्यक्रमको बारेमा बुझाए । बैंकहरुले पनि सकारात्मक प्रतिक्रिया जनाए । नबिल बैंक पार्टनरको रुपमा काम गर्न तयार भयो ।

त्यस्तै, पूर्वाञ्चाल विश्वविद्यालय, मनमोहन पोलिटेक्स, कृषि अनुसन्धान केन्द्र, काठमाडौं विश्वविद्यालयलगायत संघसंस्थाहरुले सहयोग गरे । स्थानीय सरकार, प्रदेश सरकार, नगरपालिकाहरुलाई पनि बोलाएर छलफल गरे । कोरोना संक्रमणले देश अस्तव्यस्त भइरहेको थियो । त्यो बेलामा पनि भर्चुअलमा छलफल चलाए ।

यसका लागि उद्योगी सुरेन्द्र गोल्छाको संयोजकत्वमा छनोट समिति बनाए । साउन ३१ सम्म विभिन्न आइडियामा काम गर्न चाहन्छु भनेर ४८ वटा आवेदन परे ।

‘त्यसबाट हामीले २५ वटालाई छनोट गर्यौं,’ भट्टराई भन्छन्, ‘त्यसबाट पनि थप छनोट हुँदै अहिले १७ जना स्टार्टअप उद्यमीले मेन्टरिङ लिइरहनु भएको छ ।’

अमन चौधरी

छनोटमा परेकाहरुलाई मेन्टरिङ गर्न मेन्टरको पुल बनाए । असोजबाट मेन्टर र स्टार्टअप गर्नेहरुको छलफल शुरु भयो । बुट क्याम्प चलाए । आन्तरिक हाट बजार आयोजना गरे । आइतबार ‘इन्भेष्टर मिट’ कार्यक्रम आयोजना गरेको थियो ।

छनोटमा परेका प्रत्येकले एक मेन्टर पाएका छन् । ती मेन्टरले व्यवसाय कसरी सञ्चालन गर्ने, व्यवस्थापन, मार्केटिङ, ब्रान्डिङदेखि करको जानकारी लिनेसम्मको कुरा समेटेर तालिम दिइरहेका छन् । नेदरल्याण्डबाट पनि अनलाइनको माध्यमबाट मेन्टरको रुपमा सिकाइरहेका छन् ।

अहिले छनोटमा परेर मेन्टरिङमा रहेका १७ जनामध्ये १० जनाले गम्भीर भएर काम गरेको र केहीले आम्दानी गर्न शुरु गरिसकेका छन् ।

स्टार्टअप र इनोभेसन कार्यक्रम १८ महिनाको प्याकेज हो । पहिलो ब्याचले पहिलो चरण पार गरेर दोस्रो चरणमा पुगिसकेका छन् । अब यिनीहरुलाई आवश्यक पर्दा सहयोग गर्दै दोस्रो ब्याचका लागि आवेदन आह्वान गर्ने तयारी भइरहेको भट्टराईले बताए ।

ग्राजुयट हुन लागेको यी स्टार्टअप उद्यमीका लागि लगानी कसरी जुटाउने, कसले लगानी गर्न सक्छ भनेर ‘इन्भेष्टर फ्रेमवर्क’ बनाउन लागेको भट्टराईले जानकारी दिए ।

‘हामीले आइडियालाई जे-जे कुरा आवश्यक पर्छ, त्योसँग कनेक्ट गराइदिने हो,’ भट्टराईले भने ।


सन्तोष न्यौपाने