तीन बीमा कम्पनीले अझै सीइओ नियुक्त गरेनन्, स्पष्टिकरण सोध्दै समिति



काठमाडौं । सञ्चालनमा रहेका तीन बीमा कम्पनीले अझै पनि प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गर्न सकेका छैनन् ।

कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिनाभित्रमा नियुक्त गरिसक्नु पर्ने व्यवस्थालाई उल्लंघन गर्दै तीन कम्पनी कार्यवाहकको भरमा मात्रै चलेका हुन् ।

पद रिक्त भएको लामो समयसम्म नयाँ सीइओ नियुक्ति हुन नसक्दा बीमा कम्पनीहरुको व्यवस्थापन तथा संचालनमा समेत असर पर्ने समितिको निष्कर्ष छ ।

अहिले सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनीको सीइओ पद खाली छ । दुई निर्जीवन र एक जीवन बीमा कम्पनीमा सीइओ पद खाली छ ।

अहिले नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी नेतृत्वबिहीन बनेका छन् ।

ती कम्पनीहरुलाई सीइओ नियुक्तिमा किन ढिलाई भएको हो भनेर बुझन्का लागि पत्र पठाउने तयारीमा रहेको समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।

‘एकपटक किन ढिलाई भयो भनेर पत्र पठाउछौं,’ पौडेलले क्लिमाण्डूसँग भने, ‘त्यस पछि अरु प्रक्रिया अघि बढाउने छौँ ।’

बजारमा बीमा सम्बन्धी दक्ष र सीइओ हुनका लागि योग्य व्यक्तिको अभाव रहँदा कम्पनीहरुले कार्यवाहकको भरमा कम्पनी चलाउनु पर्ने बाध्यता रहेको कम्पनीहरुको भनाइ छ ।

पछिल्लो समय बीमा सम्बन्धी दक्ष जनशक्ति उत्पादन भइरहेको उनको भनाइ छ । बजारमा दक्ष जनशक्ति हुँदा हुँदै पनि संस्थागत सुशासनबमोजिम काम नगर्ने कम्पनीलाई कारबाही गरिने समेत उनले बताए ।

बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा पहिलो संशोधन गर्दै सीइओ पद रिक्त भएको अवस्थामा रिक्त भएको मितिले तीन महिनाभित्रमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ ।

समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ लाई यही मंसिर १६ गते पहिलो पटक संशोधन गरेको हो ।

समितिले यसअघि पनि सीइओ पद रिक्त भएका कम्पनीहरुलाई पत्र काट्दै एक महिनाभित्र नियुक्त गर्न निर्देशन पनि दिएको थियो ।

पटक–पटक निर्देशन दिए पनि कम्पनीहरुले सीइओ नियुक्त गर्न अटेरी गरेपछि समितिले निर्देशिका नै संशोधन गरेको हो ।

नेपाल इन्स्योरेन्स कम्पनीमा साउन महिनादेखि सीइओ पद खाली छ । यस्तै, नेपाल लाइफ कात्तिक महिनादेखि सीइओ विहिन छ भने राष्ट्रिय बीमा कम्पनीमा भदौं महिनादेखि सीइओ पद खाली छ ।

नेपाल इन्स्योरेन्सका सीइओ विजय बहादुर शाहको कार्यकाल २०७८ साउन ८ गते सकिएको थियो । शाहको कार्यकाल सकिए पछि कम्पनीले सीइओ नियुक्ति गर्न सकेको छैन ।

कुलिङ पिरियडको समय सकिएर शाह हिमालयन जनरलको सीइओमा नियुक्ता हुँदा समेत कम्पनी अझै सीइओ विहिन छ । कम्पनीको कायम मुकायम सीइओमा विके महर्जन छन् ।

महर्जनलाई कम्पनीले कात्तिक ७ गते कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । कम्पनीले कुलिङ पिरियड नसकिदै महर्जनलाई उक्त पदको जिम्मेवारी दिएको थियो ।

यता, राष्ट्रिय बीमा कम्पनीमा डिल्ली राज अर्याल भदौ महिनामा कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए ।

अर्यालपछि कम्पनीले सुवाष कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको छ । कम्पनीले खुल्ला प्रतिष्पर्धाबाट सीइओ नियुक्तिको लागि विज्ञापन आह्वान गरेको थियो ।

शैक्षिक योग्यता, कार्यानुभव र व्यवासायिक कार्ययोजना मूल्याङ्कन अनुसार पाँच जना उम्मेद्वार सर्ट लिष्टमा परेका छन् ।

कम्पनीले सर्ट लिष्टमा परेका ती उम्मेद्वारको व्यवसायीक कार्ययोजना प्रस्तुतिकरण र अन्र्तवार्ता समेत लिइसकेको छ ।

तोयराज अधिकारी, बुद्धकाजी श्रेष्ठ, रामबहादुर खड्का, सुरेन्द्र थापा र शेखर बराललाई पदपूर्ती सिफारिस उपसमितिले छनोट गरेको छ । छनौटमा परेका ५ जनाबाट पुस महिनामै व्यवसायीक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेम लिईसकेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले सन्तोष प्रसाईको कार्यकाल कात्तिक २१ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको थियो । कम्पनीका तत्कालीन सीइओ सन्तोष प्रसाईको राजीनामा स्वीकृत भएपछि कम्पनीको संचालक समितिले चौधरीलाई कार्यबाहक कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्समा डेपुटी सीइओको रुपमा कार्यरत रहेका चौधरीलाई कम्पनीको संचालक समितिले कात्तिक २१ गते कार्यबाहक कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

रिलायन्स लाइफबाट सीइओको एक कार्यकाल सकाएर बाहिरिएका प्रविण रमण पराजुलीलाई नेपाल लाइफले सिनियर डीसीइओ बनाएर नियुक्ति दिएको छ ।

बीमा समितिको व्यवस्था अनुसार एउटा बीमा कम्पनीबाट सीइओ पदबाट बाहिरिएको ६ महिनासम्म सीइओ बन्न नपाईने व्यवस्था छ । तर, बीमा कम्पनीले समितिको सो व्यवस्थालाई मिच्दै एउटा कम्पनीको सीइओ पदबाट बाहिरिएको भोलिपल्ट नै अर्को कम्पनीमा नियुक्ति दिँदै आएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले पनि उक्त व्यवस्था छल्दै नियुक्ति दिएका छन् ।


क्लिकमान्डु