दाबीसम्बन्धी सबै कागजात समयमै अपलोड गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई बीमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सफ्टवेयरमा दाबी सम्बन्धी कागजात समयमा नै अपलोड गर्न निर्देशन दिएको छ ।स्वास्थ्य बीमा ऐन, नियमावली तथा कार्यविधिमा सेवा प्रदायक संस्थाहरुबाट बीमितलाई सेवा प्रदान गरे वापत पाउनुपर्ने दाबी रकम भुक्तानीका लागि बीमा व्यवस्थापन सूचना प्रणाली(आइएमआइएस) सफ्टवेयरमा आवश्यक कागजातहरु दाबी प्रविष्ट गर्दाकै बखत अपलोड गर्नुपर्ने व्यवस्था छ ।

तर, बोर्डका अनुसार उक्त व्यवस्था बमोजिम सेवा प्रदायक संस्थाहरुले समयमा नै कागजातहरु अपलोड नगरेका हुन् ।

तोकिएको समयमा सेवा प्रदायक संस्थाहरुले कागजातहरु अपलोड गर्नुपर्ने व्यवस्था भएता पनि सो व्यवस्था लागू नभएको बोर्डका शाखा अधिकृत शोभित रिजालले जानकारी दिए ।

जसले गर्दा सेवा प्रदायक संस्थाहरुलाई समयमा नै भुक्तानी गर्न समस्या देखिएको उनको भनाइ छ ।

बोर्डसँग आवद्ध सेवा प्रदायक संस्थाहरुबाट आइएमआइएस सफ्टवेयरमा हाल दैनिक करिब २५ देखि ३० हजारको हाराहारीमा दाबी हुने गरेको जनाइएको छ ।

तर, सेवा प्रदायक संस्थाहरुले भने समयमा नै आवश्यक बील भरपाई लगाएतका कागजातहरु अपलोड नगरी लामो समय होल्ड राख्ने कार्य गरेको बोर्डको आरोप छ ।

सेवा प्रदायक संस्थाहरुको लापरबाहीले गर्दा नै समयमा नै राफसाफ हुन नसकी दाबी भुक्तानी फरफारक हुन नसकेको बोर्डको भनाइ छ ।

बोर्डले सेवा प्रदायक संस्थाहरुलाई पुस १ गतेदेखि फागुन १५ गतेसम्मका दाबीसँग सम्बन्धीत सबै कागजातहरु फागुन मसान्तसम्म अनिवार्य रुपमा अपलोड गर्न निर्देशन दिएको हो ।

उक्त समयमा कागजातहरु अपलोड हुन नसकेमा दाबीहरु स्वचालित रुपमा अस्वीकृत हुने समेत बोर्डले जानकारी गराएको छ ।
बोर्डले तोकिदिएको मितिसम्ममा कागजातहरु अपलोड नगरेमा भुक्तानी गर्न बोर्ड बाध्य नहुने समेत बोर्डको भनाइ छ ।

दाबी भुक्तानीलाई समानुकुल छिटो, छरितो, स्वस्थ्य र पारदर्शि बनाउनको लागि बोर्डले चैत १ गतेदेखि लागुहुने गरी सफ्टवेयर परिवर्तन गर्न लागिएको बोर्डले जानकारी दिएको छ ।

चैत १ गतेदेखि दैनिक दाबीहरु सोही दिनको राति १२ बजेपछि परिमार्जन गर्न नमिल्ने बोर्डले बताएको छ ।

दाबी गरिएको मितिबाट ७ दिनपछि प्रविष्ट गर्न नमिल्ने र दाबी गरेको मितिबाट १५ दिन पछाडि कागजातहरु अपलोड वा परिमार्जन गर्न नमिल्ने समेत बोर्डले जानकारी दिएको छ ।


क्लिकमान्डु