माल्दिभ्समा डाक्टर तथा नर्स पठाउने तयारी, मस्यौदालाई अन्तिम रुप दिइँदै



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले शिष्टाचार भेट गरेका छन् ।

ललितपुरस्थित निवासमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–माल्दिभ्स श्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल गरेका हुन् ।

भेटवार्तामा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरूलाई माल्दिभ्स पठाउने विषयमा सरकार सकारात्मक रहेको राजदूतलाई बताएका थिए ।

पछिल्लो समय माल्दिभ्समा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएको छ । माल्दिभ्समा ५ हजारभन्दा धेरै नेपाली श्रमिक कार्यरत छन् । मन्त्री श्रेष्ठले मेडिकल क्षेत्र बाहेक पर्यटन, निर्माण लगायत क्षेत्रमा पनि नेपाली श्रमिकलाई हुनसक्ने रोजगारीको अवसरबारे चासो राखेको थियो ।

नेपाली डाक्टर तथा नर्सहरुलाई माल्दिभ्सको सरकारी अस्पतालहरुमा रोजगारी उपलब्ध गराउन नेपाल–माल्दिभ्स श्रम समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । अहिले माल्दिभ्सका विभिन्न स्वास्थ्य संस्थामा २ सय भन्दा धेरै नेपाली डाक्टर तथा नर्सहरु रहेका छन् ।

उनीहरुले माल्दिभियन मुद्रामा आफ्नो पारिश्रमिक प्राप्त गर्ने र स्थानीय बैंकहरुले मुद्रा विनिमयको सुविधा नदिंदा अनौपचारिक बजारमा महंगो दरमा अमेरिकी डलर किन्नुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री श्रेष्ठले माल्दिभियन बैंकहरुमार्फत् डलर विनिमयको सुविधा दिन आग्रह गरे ।

मन्त्री श्रेष्ठले नेपालमा चिकित्सा अध्ययनका लागि माल्दिभ्सका विद्यार्थीहरुलाई अवसर दिन यसअघि भएको शैक्षिक सहयोग सम्बन्धी सम्झौता नवीकरण गर्न नेपाल सरकार सकारात्मक रहेको जानकारी दिए ।


क्लिकमान्डु