मूल्यवृद्धिले ८ वस्तुमा मात्रै अतिरिक्त १ खर्ब बाहिरियो



काठमाडौं । कोरोना महामारी कारण सप्लाई चेन नमिल्दा अधिकांश वस्तुमा मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिले गर्दा आयात गर्दा ठूलो रकम बाहिरिएको छ ।

प्रमुख आयातित वस्तुका रुपमा रहेको पेट्रोलियम पदार्थ, मोबाइल, कच्चा तेल, डण्डी, सवारी साधनलगायतका वस्तुको आयातमा गत आवको ७ महिनाको तुलनामा चालु आवको ७ महिनामा ५२ प्रतिशत बढी रकम बाहिरिएको छ ।

गत वर्ष डिजेल, पेट्रोल, भटमासको तेल, एलपी ग्याँस, स्टील तथा आइरन, मोबाइलफोन, कोइला र डण्डी आयात गर्दा गत आवको ७ महिनामा १ खर्ब ८२ अर्ब १५ करोड ७३ लाख रुपैयाँ बाहिरिएको थियो ।

तर मूल्यवृद्धिका कारण चालु आवको सोही अवधिमा उक्त वस्तु आयात गर्नका लागि २ खर्ब ७६ अर्ब २३ करोड ८७ लाख रुपैयाँ रकम बाहिरिएको छ । जुन गत वर्षको तुलनामा ५२ प्रतिशतले बढी हो । यसबीचमा कुनै वस्तुको परिमाण सामान्य बढे पनि उल्लेख्य रुपमा बढेको छैन तर मूल्यमा भने निकै ठूलो वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले १२ खर्ब ७९ अर्ब १२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जसमध्ये ८ वटा सामान आयातमा मात्रै २४ प्रतिशत रकम बाहिरिएको छ ।

साथै, ७ महिनामा नेपालले ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँ बराबरको आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । साथै, सोही अवधिमा नेपालबाट भने १ खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु निर्यात गर्न सफल भएको छ । यो व्यापारघाटा गत आवको सोही अवधिका तुलनामा ८८.३० प्रतिशतले बढी हो ।

कोरोना महामारीका कारण सस्ताएको विश्वको आर्थिक गतिविधिका र त्यसपछि माग बढेकोले सप्लाई चेनको सन्तुलन मिलेन जसले गर्दा मूल्यवृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले पनि उच्च आयातका कारण बजारमा तरलता अभाव देखिएको बताउँदै आयातमा कडाइ गर्ने नीति समेत अंगिकार गरिसकेको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थलगायत अन्य कच्चा पदार्थको मूल्य उच्च रुपमा बढेको छ । जसले गर्दा आयातित वस्तु चर्को मूल्यमा आयात गर्नुपर्ने अवस्था रहेको छ । साथै, भाडा तथा अभावका कारण पनि चर्को मूल्य तिरेर आयात गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरू बताउँछन् ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा नेपालले ७२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ बराबरको ९ लाख ६८ हजार ५५७ किलोलिटर डिजेल आयात गरेको छ । तर गत वर्षको सोही अवधिमा ३९ अर्ब ७० करोड ९२ लाख रुपैयाँ बराबरको ८ लाख ७८ हजार ३३३ किलोलिटर डिजेल आयात गरेको थियो । गत वर्षको तुलनामा चालु आवमा १ लाख किलोवाटले बढी डिजेल आयात हुँदा मूल्य भने दोब्बरले बढेको देखिन्छ ।

गत वर्षको अवधिमा सोही परिमाण बराबर डिजेल आयात गरेको भए ४३ अर्ब ७८ करोड ८४ लाख रुपैयाँमा सो डिजेल आयात गर्न सकिन्थ्यो । तर आवको समीक्षा अवधिमा एक किलोलिटर डिजेलको मूल्य ४३ हजार २१० रुपैयाँ थियो भने एक किलोलिटर डिजेलको मूल्य बढेर ७७ हजार ७६६ रुपैयाँ पुगेको छ ।

चालु आवमा एलपीजी ग्यास र पेट्रोल आयातको परिमाण बढेको छ । तर, उक्त बढेको परिमाणमा केही तलमाथि भएपनि मूल्यमा भने निकै ठूलो अन्तर देखिन्छ ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा भट्मासको कच्चा तेल उच्च रुपमा आयात गरेको छ । ७ महिनाको अवधिमा नेपालले ३९ अर्ब ६६ करोड ६९ लाख रुपैयाँ बराबरको १ अर्ब २ करोड ११ लाख ८२ हजार लिटर भटमासको तेल आयात गरेको छ । जुन हालसम्मकै उच्च हो ।

त्यस्तै, सबैभन्दा बढी आयात हुँदै आएको आइरन तथा स्टीलको आयात मूल्य पनि उच्च रुपमा बढेको छ । चालु आवको ७ महिनामा नेपालले २९ अर्ब ८६ करोड १९ लाख रुपैयाँ बराबरको ४१ करोड ६० लाख ३५ हजार केजी आयात गरेको छ । तर, गत वर्षको सोही अवधिमा नेपालले ३७ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ बराबरको ६७ करोड ७८ लाख ९३ हजार केजी आइरन तथा स्टील आयात गरेको तथ्याङ्कले उल्लेख गर्दछ ।

बढी आयात हुने वस्तुको ७औं स्थानमा रहेको मोबाइल फोन आयातको परिमाणमा पनि गत वर्षको तुलनामा ३ लाख पिसले कमी आएको छ तर आयातित मूल्य भने गत वर्षको तुलनामा ४ अर्बले बढी रकमको आयात भएको तथ्याङ्कले उल्लेख गर्दछ ।

चालु आवमा नेपालले ७ महिनाको अवधिमा २८ अर्ब ३८ रोड ५६ लाख रुपैयाँ बराबरको ४० लाख ५ हजार ८०४ पिस मोबाइलफोन आयात गरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २४ अर्ब ६ करोड ८१ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार ८७२ पिस मोबाइल फोन आयात गरेको थियो । उक्त तथ्याङ्कले पनि आयातको परिमाण भने खासै वृद्धि नभएको देखाउँदछ ।

कोइलाको आयातको परिमाणमा पनि गत वर्षको तुलनामा यो वर्ष कम देखिन्छ । तर, आयातित मूल्य भने उच्च रहेको छ ।

मूल्यवृद्धिले ७ महिनामै निर्यात मूल्य १ खर्ब नाघ्यो
आयातसँगै निर्यात पनि उच्च हुँदै आएको छ । विगतका दिनमा वार्षिक १ खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गर्ने लक्ष्य लिएका व्यवासायीहरु चालु आवको ७ महिनामै १ खर्ब ३१ अर्ब रुपैयाँको निर्यात हुँदा पनि खुसी भने छैनन् ।

उच्च मूल्यवृद्धिका कारण थोरै परिमाणमा वस्तु निर्यात गर्दा सो रकम बराबरको वस्तु निर्यात भएको देखिन्छ । उत्पादन गरी निर्यात गर्ने निर्यातित वस्तुको परिमाणको अवस्था हेर्ने हो भने विगतको दिनको तुलनामा निकै कमजोर देखिन्छ ।

नेपालबाट मुख्यतया भट्मासको तेल, अलैंची, कार्पेट, हस्तकलालगायत अन्य वस्तु निर्यात हुँदै आएको छ । त्यसमध्ये, कच्चा पदार्थ आयात गरी निर्यात हुँदै आएको वस्तुको परिमाण निकै कमजोर रहेको नेपाल निर्यात परिषदका अध्यक्ष हरिबहादुर कार्की बताउँछन् ।

उनकाअनुसार नेपालमा अहिले आयात तथा निर्यातको परिमाण बढेको छैन । तर, मूल्य बढ्नाले मूल्यको आकार बढेको हो ।

उपभोक्ता मूल्य २.०९ प्रतिशतले बढ्यो
नेपाल राष्ट्र बैंकले जारी गरेको देशको आर्थिक तथा वित्तीय स्थितिमा उपभोक्ता मूल्यवृद्धि ५.६५ प्रतिशत रहेको बताएको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मूल्यवृद्धि ३.५६ प्रतिशत रहेको थियो । जुन गत वर्षको तुलनामा २.०९ प्रतिशतले बढी हो । राष्ट्र बैंकअनुसार पुस महिनामा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ६.२३ प्रतिशत रहेको छ ।

२०७७ पुसको तुलनामा २०७८ पुसमा घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा ५.२८ प्रतिशत, तराईमा ६.१५ प्रतिशत, पहाडमा ५.३४ प्रतिशत र हिमालमा ५.२२ प्रतिशत मूल्यवृद्धि रहेको छ ।

२०७८ पुसमा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि ८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ६.१८ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.१० प्रतिशत, ७.६७ प्रतिशत र ७.१४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १७.५१ प्रतिशत रहेको छ ।

उक्त राष्ट्र बैंकले गरेको समिक्षाले पनि मूल्यवृद्धिका कारण आयात र निर्यातको आकार बढेको स्पष्ट पार्दछ ।

रुस–युक्रेनको द्वन्द्वले अझै मूल्य बढ्ने
अहिले रुस र युक्रेनबीच द्वन्द्व चलिरहेको छ । यसको प्रत्यक्ष असर अर्थतन्त्रमा पर्न गएको छ । त्यस्तै, रुस युक्रेनको द्वन्द्वले आगामी दिनमा झनै मूल्य बढ्ने देखिन्छ । नेपालमा अतिआवश्यक वस्तु खाने तेल युक्रेनबाट आयात हुने गरेको छ । जसले गर्दा प्रत्यक्ष रुपमा नेपाली भान्सा प्रभाव पार्नेछ ।

त्यसैगरी, खाने तेल मात्रै नभएर अन्य वस्तुको मूल्यमा पनि वृद्धि हुने धेरैको दाबी छ । नेपालमा अन्र्राष्ट्रिय बजार र डलरको भाउले गर्दा बजार मूल्य तय गर्दछ । त्यसैले आगामी दिनमा झनै मूल्य बढ्ने प्रक्षेपण गरेको छ ।


अरिष्मा मोक्तान