४२ करोड क्यासिनोले तिर्ने हो याक एण्ड यति होटलले होइनः कानूनी सल्लाहकार कर्ण



काठमाडौं । सवा ४२ करोड रुपैयाँ राजस्व नतिरेको भन्दै क्यासिनो र याक एण्ड यति होटल बन्द गर्ने पर्यटनमन्त्री प्रेम आलेको निर्देशन गलत भएको याक एण्ड यति होटलका कानूनी सल्लाहकार रमण कर्णले दाबी गरेका छन् ।

मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै कानूनी सल्लाहकार कर्णले याक एण्ड यति होटल सञ्चालनमा आएदेखि अहिलेसम्म रोयल्टी तथा राजश्व वापतको रकम समेत तिर्न बाँकी नभएको उनको दाबी छ ।

उक्त निर्णयको विरुद्धमा याक एण्ड यति होटल सर्वोच्च अदालतमा पुगेको छ । जसको सुनुवाई मंगलकार न्यायाधीश कुमार रेग्मीको इजलासमा पुगेको छ ।

‘पर्यटन मन्त्रालयले ४२ करोड क्यासिनो सञ्चालनको इजाजतपत्र वापत नेपाल सरकारलाई बुझाउनु पर्ने रोयल्टी, इजाजत पत्र र नवीकरण दस्तुर गरी सरकारलाई ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ नबुझाएको भनेको छ, तर होटलले तिर्न कुनै रकम बाँकी छैन,’ उनले भने ।

कर्णले याक एण्ड यतिले व्यवसाय गरेबापतको राजसव तथा क्यासिनो सञ्चालनको रोयल्टी राज्यलाई नियमित रुपमा तिदै आएको बताए ।

सरकार आफैले २०७१ सालमा नै क्यासिनोको सञ्चालनको लाइसेन्स खारेज गरिदिएकाले रोयल्टी बापतको रकम तिर्न बाँकी नरहेको उनको तर्क छ । कर्णले २०७१ सालमा लाइसेन्स खारेज गरेपछि याक एण्ड यति होटलले लाइसेन्सको लागि निवेदन नदिएको बताए ।

उनले होटलले २०७० साउनमा क्यासिनो सम्बन्धी नयाँ कानून लागू भएसँगै क्यासिनोको लाइसेन्स होटलसँग नभएको बताए । त्यति बेला नै पर्यटन मन्त्रालयले होटललाई क्यासिनो खारेज भएको भनेर पत्र पठाएको उनको भनाइ छ ।

सरकारले नै क्यासिनोको लाइसेन्स खारेज गरेपछि लाइसेन्स नै नभएको होटललाई रोयल्टी माग गरेर होटल बन्द गर्नु गैरकानूनी काम भएको कर्णले दाबी गरे ।

त्यस्तै, कर्णले २०७१ सालपछि याक एण्ड यति होटलमा गिल्ट इन्भेष्मेन्ट प्रालिले क्यासिनो सञ्चालन गदै आएको भन्दै क्यासिनो सञ्चालन भए पनि रोयल्टीको दायित्व होटलको नभएको बताए ।

होटल र क्यासिनोको अनुमति पत्र फरक–फरक हुने भएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले क्यासिनोले रोयल्टी नतिरेको कसुरमा होटल समेत बन्द गराउने निर्णय गरेको उनको दाबी छ । यस्तै, मन्त्रिस्तरीय निर्णयबाट होटलका नाममा रहेका सम्पूर्ण चल÷अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार समेत रोक्का गरिएको छ ।


क्लिकमान्डु