शेखर-सीमाको प्रेम: यस्तो छ गोल्छा परिवारकै पहिलो अन्तरजातीय विवाहको संघर्ष



काठमाडौं । मारवाडी समूदायमा प्रत्येक परिवारको आ-आफ्नै आचारसंहिता हुन्थ्यो । घरमूलीको निर्देशनमा सबै काम हुन्थ्यो । र, अन्तिम निर्णय पनि घरमूलीकै ।

बेलुकाको खाना खान डाइनिङ टेवलमा बसेका बेला परिवारमा कस्तो संस्कार छ भन्ने थाहा हुन्थ्यो । मारवाडी परिवारमा आज पनि यो संस्कार छ । तर, अलि खुला र नरम भएको छ ।

शेखर गोल्छाको परिवारमा पनि आफ्नै आचारसंहिता थियो । जस्तो कि ‘डिनर टाइम’ सँधै एउटै हुन्थ्यो । डिनरका लागि सबैजना उपस्थित हुनैपर्थ्यो ।

कुनै सदस्य भ्रमणमा वा महत्वपूर्ण कामले बाहिर छ भने परिवारमा जानकारी गराउनु पर्थ्यो । बुबाले शुरु गरेपछि बल्ल अरुले खाना खान शुरु गर्थे ।

शेखरको परिवारको डिनरमा हुने छलफलको विषय घरमूली अथवा उनका बुबा हुलासचन्द गोल्छाबाटै तय हुन्थ्यो ।

जस्तो कि ‘आज प्रधानमन्त्रीले यस्तो बोल्नुभएछ, यसमा तिमीहरुको बिचार के छ ?’ बुबाले सोध्नुहुन्थ्यो ।

परिवारका सबै सदस्यले पालैपालो आफ्ना विचार राख्थे । सबैको बिचार आइसकेपछि बुबाबाट नै अन्तिम निर्णय आउँथ्यो । परिवारका अन्य सदस्यले पनि आफ्नो धारणा राख्न पाउँथे । तर, घरमूलीको निर्णय नै अन्तिम हुन्थ्यो । घरमूलीको निर्णयभन्दा कोही पनि बाहिर जान पाउँदैनथ्यो ।

परिवारका अन्य सदस्यले घरमूलीको अनुमति लिएर अर्को विषय राख्न सक्थ्यो ।

परिवारमा अन्तरजातीय विवाहको प्रस्तावले ल्याएको तरंग

शेखर गोल्छाको मनमा भने लामो समयदेखि एउटा कुरा खेलिरहेको थियो । बुबासामू केही प्रस्ताव राख्न खोजिरहेका थिए उनी ।

तर, आँट आइरहेको थिएन ।

जसरी पनि परिवारमा आफ्नो प्रस्ताव राख्नैपर्ने थियो ।

एकदिन डिनर चलिरहेका बेला शेखरले बुबासँग समय मागे, ‘म केही भन्न चाहन्छु ।’

‘के कुरा छ भन,’ बुबाले शेखरलाई आफ्ना कुरा राख्ने अनुमति दिनुभयो ।

‘म एउटा केटीलाई मन पराउँछु,’ शेखरले अलिकति डरको भावमा भने, ‘ऊ हाम्रो समूदायको होइन, अर्कै समूदायको हो ।’

शेखरकी प्रेमिका भारतको कुमाउ गडवालकी सीमा पन्त थिइन् । अर्थात्, ब्राम्हण परिवारकी ।

अन्तरजातीय विवाह मारवाडी परिवारमा धेरै परको कुरा थियो । गोल्छा परिवारमा अन्तरजातीय विवाहको प्रस्ताव राख्ने पहिलो व्यक्ति थिए शेखर ।

अनुशासन, परिवारको आचारसंहिता नाघेर राखेको प्रस्तावले गोल्छा परिवारमा सन्नाटा छायो ।

बुबाको आँत सुकेजस्तो भयो । केही शब्दहरु बाहिर निस्किएनन् ।

शेखरका दाजुभाइलाई भने यो कुरा पहिले नै थाहा थियो । तर, बुबालाई भने यसबारे पत्तो थिएन । दाइभाई परिवारको छलफलमा समर्थन गर्ने बाचा गरेकाले पनि शेखरले बुबासामू यो प्रस्ताव राख्न आँट गरेका थिए ।

बुबाले परिपक्क निर्णय गर्न भनेपछि,…

घरमूलीसम्म पुगेको प्रस्ताव परिवारको निम्ति सहज थिएन । परिवारका अधिकांश सदस्यले शेखरको ‘क्रस म्यारिज’को प्रस्तावको विपक्षमा आफ्नो राय प्रकट गरे ।

दिन, हप्ता, महिना हुँदै वर्ष बित्यो । डिनरमा कैयौं विषयमा छलफल भए । तर, शेखरको प्रेम विवाहको विषयले महत्व पाएन ।

‘यो विषयमा छलफल गर्दै गरौँला,’ बुबाले भन्नुहुन्थ्यो ।

परिवारलाई मनाउन धेरै कोसिस गरे शेखरले । अनेक तर्क राखे । उदार परिवार, आधुनिक जमाना, परिवर्तनलाई आत्मसाथ गर्नुपर्छ जस्ता सकेका तर्कहरु प्रस्तुत गरे ।

बुबासामू छलफलमा राखेको विषयमा उहाँले नै प्रस्ताव ठीक छ वा छैन भन्नुपथ्र्यो । परिवारले स्वीकार गर्छ वा गर्दैन भन्ने कुरा बुबाले निर्णयमा निर्भर हुन्थ्यो ।

परिवारका धेरैलाई लागेको थियो शेखर अझै बच्चै छ । २-४ महिनामा मुड परिवर्तन भइहाल्छ । गोल्छा परिवारले माडवारी समूदायमै ट्रेण्ड सेट गरेको छ, त्यसलाई ब्रेक गरेमा संस्कार नै भत्किन्छ भन्ने बुबाको भनाइ थियो ।

‘राम्रो सन्देश जाँदैन, तिमी अहिले अपरिपक्क छौं,’ शेखरका बुबा बारम्बार भन्नुहुन्थ्यो, ‘परिपक्क भएपछि निर्णय गर्नु ।’

शेखर भने आफ्नो निर्णयमा कुनै पनि परिवर्तन गर्ने पक्षमा थिएनन् । न त आफ्नो मुड परिवर्तन नै गरे । यसैगरी २ वर्ष बित्यो । तर, बुबाले कुनै निर्णय गर्नु भएन ।

रेजिलेन्स परीक्षणमा पास

बुबा परम्परागत भए पनि परिवर्तनलाई आत्मसाथ गर्ने खालको भएको शेखरले बुझेका थिए । नयाँ परिवर्तन र तर्कहरुबाट आफूलाई बञ्चित गर्नु हुँदैन भन्ने सोच बुबामा थियो ।

‘बुबाको आउटलुक मोर्डन थियो,’ शेखर भन्छन्, ‘मिक्सर अफ ट्रेडिसनल । संस्कार बलियो हुनुपर्छ भन्ने उहाँको सोच थियो ।’

गोल्छा परिवारमा ‘होस्टाइल रियाक्सन’ हुँदैन थियो । अर्थात्, कराउने र थर्काउने भन्ने हुँदैन थियो । अहिले पनि छैन ।

त्यो बेला शेखरको प्रेम ‘एडजसमेन्ट’ गर्न भने त्यति सजिलो पक्कै थिएन । भान्सामा खानपान मिल्दैनथ्यो । रितिरिवाज र रहनसहन पनि अलग–अलग थियो ।

अन्तरजातीय प्रेम गरेका युवायुवतीलाई प्रेमको ‘रेजिलेन्स’ कति छ भनेर परिवारले परीक्षण गरिरहन्छ । ऊ आफ्नो प्रेममा दृढ छ भन्ने कुराको महशुस परिवारलाई भएपछि मात्रै स्वीकार गरिन्छ ।

लामो समयसम्म परिवारले शेखरको प्रेमको ‘रेजिलेन्स’ परीक्षण गरिरह्यो । शेखर भर्खरको युवा हो, २-४ महिनामा अरु केटी भेट्छ । र, मन बदलिन सक्छ भन्ने बुझाइ परिवारको थियो ।

तर, शेरखरले आफ्नो दृढ प्रेमको वकालत गरिरहे । प्रेमलाई विवाहमा परिणत गर्न निरन्तर संघर्ष गरिरहे ।

परिवार नै छाडिदिन्छु भन्नेसम्मको सोच

सीमाको परिवार मध्यमवर्गको थियो । सीमाको आमा विद्यालयको शिक्षिका र बुबा विद्युत् विभागमा काम गर्थे । गोल्छा परिवारसँग सीमाको परिवार कसरी ‘एडजस्ट’ हुन्छ ? भन्ने प्रश्न पनि थियो ।

‘बरु परिवार छाड्छु तर प्रेमिका छाड्दिन,’ परिवारका केही सदस्यलाई शेखरले भनेका थिए, ‘मलाई जीवन काट्न यही केटी चाहिन्छ ।’

यसरी परिवार छोडेर हिँड्ने व्यक्तिले सम्पत्तिको केही भागमात्र पाउँथ्यो । जति बुबाले दिनुहुन्छ, त्यत्ति ।

शेखरलाई भने अर्बौंको सम्पत्तिको कुनै परवाह थिएन । आज जति पनि व्यवसाय गरेका छन्, आफ्नै मेहनत र परिश्रमबाट आर्जन भएको उनको भनाइ छ ।

‘परिवारले मानेन भने परिवार नै छाडिदिन्छु भन्नेसम्म सोचेको थिएँ, किनभने, म शिक्षित थिएँ, जहाँ गएर जे पनि गर्नसक्ने हिम्मत थियो,’ आफ्नो प्रेम संघर्षका विगत स्मरण गर्दै शेखरले क्लिकमाण्डूसँग भने, ‘‘परिवारमा अनेक तर्क-वितर्क भए पनि मसँग भने प्रेममात्रै थियो, मैले उसलाई ५/६ वर्षको चिनजानपछि प्रेम प्रस्ताव गरेको थिएँ ।’

त्यहाँबाट शुरुभयो प्रेमकथा

४० वर्षअघिको कुरा हो । सेन्टजेभियर्सबाट एसएलसी सकेपछि शेखर अध्ययनको सिलसिलामा दिल्ली विश्वविद्यालय पुगे । विश्व विद्यालय ठूलो थियो । भारत, नेपाल र अन्य देशका विद्यार्थीहरु त्यहाँ पढ्थे ।

दिल्लीमा शेखरले धेरैजना साथीहरु बनाइसकेका थिए ।

त्यही हुलमा थिइन्, सीमा पन्त । र, त्यहीँबाट शुरुभयो शेखर-सीमाको प्रेमकथा ।

राम्री, व्यवहारिक र फरवार्ड सीमाप्रति शेखर आकर्षित भइहाले । शुरुमा उनीहरु साथी भए । बिस्तारै साथीभन्दा माथि ।

दिनहरु बित्दै गए । शेखर र सीमाले एकअर्कालाई राम्रोसँग बुझे । भेट्ने, घुम्ने, हाँसखेल गर्दागर्दै ४/५ वर्ष बित्यो ।

शेखरलाई कुन्नी किन हो सीमा औधी मन पर्यो । एकतर्फी मायाँ झाँगिदै गयो । सीमाको प्रेमभित्र शेखर चुर्लुम्मै डुबिसकेका थिए ।

‘माया भएपछि जे कुरा पनि मनपर्ने रहेछ,’ शेखर सम्झन्छन्, ‘यत्तिको केटीसँग सहजै जीवन बिताउन सक्छु भन्ने लाग्यो ।’

उनले जीवन बिताउने मात्रै सोचेनन् । सीमा आफ्नो जिन्दगीको सबैभन्दा उत्कृष्ट साथी हुनेछिन् भन्नेमा पनि विश्वस्त थिए उनी ।

त्यसपछि उनी प्रेम प्रस्ताव राख्ने निर्णयमा पुगे ।

‘म तिमीलाई माया गर्छु,’ एकदिन शेखरले प्रस्ताव राखे ।

सीमाका लागि शेखरको प्रेम प्रस्ताव अनपेक्षित थिएन । जसकारण, उनलाई धेरै अचम्म लागेन ।

शेखरलाई पनि सीमाबाट ‘रिजेक्ट’ हुन्छ भन्ने मनको कुनै पनि कुनामा थिएन । त्यो चान्स नै देखेका थिएनन् ।

किनभने, चिनजान भएको लामो समय भइसकेको थियो । एकअर्कालाई बुझ्न कुनै पनि कुरा बाँकी थिएन । व्यक्तिगत व्यवहारदेखि परिवारसम्मको पूर्णजानकारी एक-अर्कालाई थियो ।

उनीहरु सम्बन्ध साथीको भन्दा माथि उठेर ‘केयरिङ र सेयरिङ’मा पगिसकेको थियो । शेखरको औपचारिक प्रेम प्रस्तावलाई सीमाले पनि औपचारिकरुपमै स्वीकार गरिन् ।

सीमाले स्वीकार्दा पनि प्रेम १० प्रतिशतमात्रै सफल थियो

छिमेकी देशको दिल्लीमा बसेर शेखर र सीमाले दुई मुटु एक हुने प्रतिज्ञा गरे । सँगै जीवन बिताउने कसम खाए ।

यता परिवार भने अनविज्ञ थियो । सीमालाई भन्दा शेखरको परिवारलाई यो कुरामा कन्भिन्स गर्न धेरै पापड बेल्नुपर्छ भन्ने उनीहरुलाई थाहा थियो ।

‘सीमाले मेरो प्रस्ताव स्वीकार गरे पनि त्यो १० प्रतिशतमात्रै सफल थियो,’ शेखर भन्छन्, ‘मैले मेरो परिवारबाट हाम्रो प्रेमलाई स्वीकृत गराउनु पर्ने ९० प्रतिशत काम बाँकी थियो ।’

त्यो बेला शेखरको परिवारलाई एडजस्टमेन्ट सजिलो थिएन । केटाकेटीको मन मिलेपनि भान्सामा खानपान मिल्दैनथ्यो । रितिरिवाज र रहनसहन फरक थिए ।

तर, यस्ता कुनै कारणले शेखरको प्रेममा हलचल आएन । परिवारले सोचेजस्तो सीमालाई बिर्सने अवस्थामा शेखर कहिल्यै पुग्न सकेनन् । उनी आफ्नो प्रेममा टसमस नभएपछि अन्ततः गोल्छा परिवार शेखरको पक्षमा आयो ।

परिवारले उनको प्रेमलाई स्वीकार गर्यो । शेखर र सीमाको प्रेमले विजय प्राप्त गर्यो । त्यो दिन उनको खुसीको सीमा नै रहेन ।

आज सीमा, गोल्छा परिवारको प्रमुख सदस्य हुन् । उनले नै परिवार हाँकिरहेकी छन् । शेखरको व्यावसायीक साझेदार पनि हुन् । गोल्छा ग्रुपमा सीमा शेखरपछिको दोस्रो बरियतामा छिन् । शेखरको व्यवसायीक तथा सामाजिक जीवन सफल बनाउन ‘ब्याकइन’को काम गरिरहेकी छिन् ।

शेखरले नेपाल उद्योग वाणिज्य महासंको अध्यक्ष बन्ने परिवारको सपना पूरा गरिसकेका छन् । व्यवसायलाई पनि तीव्र गतिमा हाँकेका छन् । देशकै ठूलो व्यावसायिक घरानामध्येमा पर्छन् । वार्षिक राज्यलाई अर्बौं कर तिर्छन् ।

आफ्नो सफलताको पछि सीमाको सबैभन्दा ठूलो भूमिका रहेको शेखर बताउँछन् ।

‘आज म जहाँ छु, यहाँसम्म ल्याइपुर्याउन सीमाजीको ठूलो योगदान छ,’ शेखर भन्छन्, ‘चार दशक वर्षअघि मैले गरेको निर्णय कतिधेरै म्याचुअड रहेछ भन्ने आज पुष्टि भएको छ ।’

छोरा अभिमन्युको अन्तरजातीय विवाह

४० वर्षपछि शेखरको घरमा त्यस्तै परिस्थिति आइपुगेको छ । तर, आफ्नो प्रेमको संकटपूर्ण अवस्थाभन्दा धेरै फरक ।

केही दिनअघि अर्थात् माघ २७ गते शेखरले आफ्ना छोरा अभिमन्युको विवाह गरे । बाबुकै ‘क्रस म्यारिज’को लय पछ्याउँदै अभिमन्युले झापाकी श्रेया गिरीसँग विवाह गरे ।

अभिमन्यु र श्रेयाको विवाह

हिँजो शेखरका बुबाको पालामा अन्तरजातीय प्रेमलाई परिवारबाट पारित गराउन जति संघर्ष गर्नुपर्यो, अभिमन्युलाई भने त्यत्ति नै सजिलो भयो ।

‘हिँजो मैले अन्तरजातीय विवाह गर्दा जुन संकट झेल्नुपर्यो, त्यो मेरो छोराले झेल्नु परेन,’ शेखर भन्छन्, ‘गोल्छा परिवारले उनीहरुको प्रेमलाई सहर्स स्वीकार गरेर धुमधामसँगले विवाह सम्पन्न गरेको छ ।’

अभिमन्यु ३ वर्षदेखि श्रेयासँगको प्रेममा थिए । त्यो प्रेमलाई परिवारमा सुनाउन शेखरलाई जस्तो भूमिका बान्नु परेन । ठूलो संघर्ष गर्नु पनि परेन । अभिमन्युको प्रेममा दुबै परिवारका सदस्य एकअर्काको घरमा आवतजावत भइरहन्थ्यो ।

‘श्रेया पनि हाम्रो घरमा आइरहन्थिन्,’ शेखर भन्छन्, ‘हामी आपसमा मिल्ने साथी हौं भनेर चिनाउँथे ।’

शेखरले आफ्नो प्रेममा जति संकट भोगेका थिए, छोरालाई त्यो अवस्था भोग्न दिएनन् । उनीहरुको प्रमेलाई सहर्ष स्वीकार गरे । सीमाले त झन् अस्वीकार गर्ने कुरै थिएन ।

शेखरको नजरमा छोरा अभिमन्यु परिपक्क भइसकका छन् । उनले आफ्नो निर्णय आफैं गर्न सक्छन् । सम्पन्न परिवारमा जन्मेर हुर्किएको भएपनि अभिमन्युले आफ्नो करिअर शून्यबाट शुरु गरे । व्यापारमा आउनुभन्दा अघि काम सिक्नका लागि जागिरबाट करिअरको यात्रा शुरु गरे ।

‘जसकारण उसको छनौटमा म पूर्णसमर्थन गर्छु,’ शेखर भन्छन्, ‘मलाई मेरो छोराले गलत छनौट गर्यो भन्नेमा एक पैसा बराबरको पनि शंका छैन ।’

आफ्नो छोरा ठूलो ‘विजनेशम्यान’भन्दा पनि असल र राम्रो मान्छे बनोस् भन्ने शेखरको चाहना छ ।

‘अहिले अभिमन्यु सबैभन्दा पहिला अफिस आइपुग्छ र सबैभन्दा ढिला अफिसबाट निस्कन्छ, एउटा अनुशासित छोराको रुपमा अघि बढिरहेको छ,’ शेखर भन्छन् ।

अभिमन्यु लामो समयको प्रेम सम्बन्धमा थिए । युवा केटो, परिवारमा कुनै कमी थिएन । चाहेको भए ‘गलफ्रेन्ड’लाई जहाँ पनि घुम्न जानसक्थे । रमाइलो गर्नसक्थे । मस्ती गर्नसक्थे । पैसा खर्च गर्नसक्थे ।

अभिमन्यु भने आफ्नो काममा निकै ‘सिरियस’ भएको शेखरको बुझाइ छ ।

‘हामी हाम्रो संस्कार पुस्तान्तरण गर्न सफल भएका छौं जस्तो लाग्छ,’ शेखर भन्छन् ।

कन्जरभेटिभ माडवारी समूदाय यसरी भयो क्रान्तिकारी

शेखरको दुई पुस्तामै देखिएको यो परिवर्तनजस्तै आगामी दिनहरुमा मागी विवाह क्रमशः घट्दै जानेछ । छोराछोरीलाई जोडी खोज्नुपर्ने बाध्यता बाबुआमालाई सायदै हुने छैन । जसकारण अन्तरजातीय विवाह पनि सामान्य हुँदै जाने शेखरको बुझाइ छ ।

त्यसो त, शेखरले क्रम म्यारिज गरेपछि गोल्छा परिवारमा यो सामान्य भयो । अहिले गोल्छा परिवारमा धेरैजना विदेशी ज्वाँईं र बुहारी छन् ।

गोल्छा परिवारमा जसरी विवाहको विषयमा परिवर्तन आइरहेको छ, त्यसैगरी नै पुरानो संस्कार पनि नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको शेखर बताउँछन् । शेखरले आफ्नै छोराको उदाहरण दिए ।

गोल्छा परिवार माडवारी समूदायमै एउटा अनुशासित परिवार थियो । अहिले पनि छ ।

‘अर्को महत्वपूर्ण कुरा माडवारी समूदायमा आत्मसम्मान भएका सीमित परिवारमध्ये हाम्रो परिवार पनि हो,’ शेखर भन्छन्, ‘माडवारी समूदायले गर्ने सामाजिक उत्तरदायित्वमा त्यो बेला सबैभन्दा बढी हाम्रो परिवारले नै गरेको थियो ।’

पहिला माडवारी समूदाय धेरै नै कन्जरभेटिभ थियो । त्यो बेला माडवारीको शैक्षिकस्तर पनि तुलनात्मकरुपमा धेरै नै कमजोर थियो । परिवारको चाहना छोरानाती पनि व्यवसायमै केन्द्रित हुन् भन्ने थियो ।

अहिले यो समूदाय संसारकै गुणस्तरीय शिक्षा लिने वर्गमा पर्छ । यसको अर्थ के हो भने व्यवसायका लागि शिक्षा अपरिहार्य छ भन्ने बुझाइको विकास भइसकेको छ । जसले माडवारी समूदायलाई अहिले क्रान्तिकारी बनाएको छ ।

‘पछिल्लो १५-२० वर्षमा माडवारी समूदायमा शिक्षामा अत्यन्तै ठूलो क्रान्ति भएको छ,’ शेखर भन्छन्, ‘मारवाडी समूदायको आफ्नै आचारसंहिता हुन्थ्यो, जुन अहिले पनि छ । तर, पहिलेको जस्तो कडा भने छैन ।’

अन्तरजातीय विवाह गर्न पाउँदैन भन्ने कुरा पारिवारिक आचारसंहितामा थिएन । तर, एउटा निश्चित तरिकाले परिवार हिँड्नुपर्छ भन्ने आचारसंहिता थियो । र, अझै पनि छ ।

त्यसैले त शेखर र अभिमन्युले भोगेको परिस्थितिमा धेरै फरक छ । अभिमन्युको प्रेममा त्यति संकट आएन, जति शेखरकोमा थियो ।

शेखरको प्रेम सम्बन्धमा हिन्दी लभ स्टोरी फिल्मजस्तो उतारचढाव छ ।

‘मेरो प्रेमको कथा सायद तपाईंले अहिलेसम्म नसुनेको खालको छ,’ शखेर भन्छन्, ‘त्यति खतरा ।

त्यसैले त हामी उनको प्रेम कहानी बिस्तृतमा सुन्न चाहन्थ्यौं । तर, उनले आफ्नो प्रेमको कथा बिस्तृतमा सुनाउने समय भने पछिलाई सारे ।

‘कुनैदिन समय मिलेछ भने मेरो प्रेम कथा बिस्तृतमा सुनाउने नै छु,’ बिट मार्दै शेखरले भने, ‘त्यसबेला तपाईं वास्तवमै छक्क पर्नुहुन्छ ।’

तस्वीरहरु सीमा पन्त गोल्छाको फेसबुकबाट


क्लिकमाण्डू