सेयर बजारमा भारी गिरावट, लगानीकर्ता किन झुम्मिए टेलिकममा ?



काठमाडौं । यो साता सेयर बजारमा ७५ अंकको गिरावट आएको छ । गत बिहीबार २८७६.७४ बिन्दुमा बन्द भएको बजार यो साता २८०१.५६ बिन्नुमा रोकिएको छ ।

साताको कारोबारमा बजार अधिकांश कारोबार दिन बन्द भएको छ । बिहीबारको तुलनामा बजार आइतबार ४०.५७ अंकले घटेर २८३६.१७ बिन्दुमा रोकिएको थियो । यस्तै सोमबार भने बजारमा दोहोरो अंकको सुधार आएको थियो । यो दिनको कारोबारमा बजार १५.७१ अंकले बढेर २८५१.८८ बिन्दुमा रोकिएको थियो ।

यस्तै मंगलबार भने बजारमा सोमबारको बढोत्तरी टिक्न सकेन । मंगलबार बजारमा १६.३ अंकले घटेर २८३५.५८ बिन्दुमा रोकियो । यस्तै बुधबार पनि बजारमा दोहोरो अंकको नै गिरावट आयो । बुधबार बजार २२.०६ अंकले घटेर २८१३.५२ बिन्दुमा रोकियो । यता बिहीबार पनि बजार ११.९६ अंकले घटेर २८०१.५६ बिन्दुमा रोकिएको छ । यतिबेला बजारले लगानीकर्ताको २८०० अंकको मनोवैज्ञानिक घेरालाई छोएको छ ।

सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि सेयर बजार बुम बुम हु्न्छ भन्दै सेयर सामाजिक सञ्जालमा चर्चा गरेर सामान्य लगानीकर्तामा असर परेपनि चर्चा गरे अनुसार बजार बढ्न सकेन । यो साताको कारोबारलाई हेर्दा बजारले निर्वाचनलाई विश्वास नगरेको हो की भन्ने चर्चा सुरु भएको छ ।

टेलिकममा किन बढ्यो आकर्षण ?

सेयर बजारमा निकै उतार चढाब आएपनि नेपाल टेलिकमको सेयर मूल्यमा भने निरन्तर उछाल आइरहेको छ ।
पछिल्लो एक महिनाको तथ्याङकलाई हेर्ने हो भने टेलिकमको सेयर मूल्य प्रति कित्ता १९३.३ रुपैयाँले बढेको छ । एक महिना अघि टेलिकमको सेयर मूल्य प्रतिकित्ता १४३१ रुपैयाँ ५० पैसा रहेकोमा बिहीबार १६२४ रुपैयाँ ८० पैसा पुगेको छ ।

टेलिकमले अहिलेसम्म सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छैन । केही जानकार लगानीकर्ताका अनुसार टेलिकमले दिने लाभांशकै कारण सेयर मूल्यमा उछाल आएको छ । यसअघि टेलिकमले दिएको लाभांश हेर्दा निकै आकर्षक देखिएको छ । टेलिकमले लाभांश नगदमा मात्रै दिने गरेको छ ।

कम्पनीले आव २०७६/०७७ मा ४० रुपैयाँ लाभांश दिएको थियो । यस्तै आव २०७५/०७६ मा ४५ रुपैयाँ, आव २०७४/०७५ मा ५५ रुपैयाँ, आव २०७३/०७४ मा ५५ रुपैयाँ, आव २०७२/०७३ मा ५१ रुपैयाँ, आव २०७१/०७२ मा ५० रुपैयाँ लाभांश दिएको थियो ।

अहिले पनि कम्पनीले राम्रो लाभांश दिने अपेक्षासहित कम्पनीको सेयर मूल्यमा उछाल आएको जानकार लगानीकर्ताहरुको भनाइ छ ।


क्लिकमान्डु