डेढ महिनामा १० हजार नेपाली भिजिट भिसामा युएई पुगे



काठमाडौं । नेपालबाट रोजगारीको लागि डेढ महिनामा करिब १० हजार नेपाली भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) मा पुगेका छन् ।

कोरोना भाइरस महामारीका कारण रोजगारी खुम्चिँदै गएको अवस्थामा नेपालीहरू रोजगारी खोज्दै भिजिट भिसामा युएई पुगेका हुन् ।

दुई वर्षअघि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी हालसम्म पनि साम्य हुन सकेको छैन । जसले गर्दा रोजगारी अभाव हुनुका साथै रोजगारीका बाटोहरू सहजै खोल्न सकेका छैनन् । त्यस्तै, कोरोना महामारीका कारण सबैभन्दा बढी असर परेको क्षेत्र हो वैदेशिक रोजगारी ।

नेपालबाट वार्षिक ५ लाखको हाराहारीमा रोजगारीका सिलसिलामा विश्वका विभिन्न देशमा पुग्ने गरेका थिए । तर, अहिले कोरोना महामारीले गर्दा अधिकांश देशले विदेशी नागरिकलाई आफ्नो देशमा सहजै प्रवेश गर्न दिएका छैनन् ।

जसले गर्दा हजारौं नेपाली रोजगारीका सिलसिलामा विदेश जान सकेका छैनन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारी प्रभावित हुँदा देशमा बेरोजगारी बढ्दै गएको सरोकारवालाहरू बताउँछन् ।

नेपालीहरूको प्रमुख गन्तव्य बनेको मलेसियालगायत अन्य खाडी मुलुकबाट हालसम्म पनि सहजै माग प्रमाणीकरण आउन सकेको छैन । माग प्रमाणीकरण नहुँदा हजारौं नेपाली रोजगारीमा विदेश जान सकेका छैनन् ।

त्यस्तै, पछिल्लो समय नेपालीहरूको प्रमुख गन्तव्य बनेको युएईमा हजारौं नेपाली भिजिट भिसा लिँदै रोजगारीमा गएको पाइएको छ ।

अध्यागमन विभागको तथ्याङ्कअनुसार मासिक १० हजारभन्दा बढी रोजगारीका लागि भिजिट भिसामा गएको देखाउँदछ । कोरोना भाइरस महामारीले लामो समयसम्म सहज हुन नसक्दा रोजगारीको खोजीमा भिजिट भिसामा गएको सरोकारवालाहरूको भनाइ छ ।

सन् २०२१ मा मात्रै नेपालबाट युएईमा ७२ हजार ९४ जना भिजिट भिसामा भएको विभागको तथ्याङ्क छ । साथै, आफन्तको तवरबाट भने ७ हजार ६६ जना गरी ७९ हजार १ सय ६० जना भिजिट भिसामा युएई पुगेका छन् ।

त्यसैगरी, सन् २०२२ को जनवरीमा ९ हजार ६ सय १७ जना युएई पुगेका छन् भने फेब्रअरी ८ सम्ममा १ सय २६ जना भिजिट भिसामा युएई पुगेको विभागले जनाएको छ ।

लाखौं तिरेर भिजिट भिसामा
सरकारी तथ्याङ्कअनुसार रोजगारीका लागि भिजिट भिसामा जाने मानिसको कुनै कमी देखिँदैन । मासिक रुपमा १० हजारभन्दा बढी युएईमा रोजगारीका लागि भिजिट भिसामा गइरहेको पाइन्छ । उक्त श्रमिकहरूले भिजिट भिसामा लाखौं रुपैयाँ तिरेर जाने गरेका छन् ।

विभिन्न म्यानपावर कम्पनीहरूले सरल र सहज तरिकाले रोजगारी दिलाउने प्रलोभन देखाउँदै लाखौं रुपैयाँ तिरेर भिजिट भिसामा गएको श्रम मन्त्रालयको भनाइ छ । भिजिट भिसामा गएका नेपाली श्रमिकले कम्तिमा पनि डेढ लाखदेखि ७ लाख रुपैयाँसम्म म्यानपावर कम्पनीलाई दिएको पाइन्छ ।

म्यानपावर कम्पनीहरूले धेरै आम्दानी हुने र रोजगारीको राम्रो व्यवस्था मिलाउने प्रलोभनमा नेपालीहरूले कम्तिमा पनि डेढ लाखभन्दा कम मूल्यमा युएई नपुगेको सरोकारवालाहरूको भनाइ छ ।

जसमा हालै मात्रै ठगी आरोपमा पक्राउ परेको ट्रिपलस्टार इम्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरूङ्ले युएईमा ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारको दरले युएई पठाएको खुलेको थियो ।

यो त केवल एक उदाहरण मात्रै हुन् । यस्तै, हजारौं नेपाली म्यानपावरको प्रलोभनमा फसेर हजारौं नेपालीले मोटो रकम लिएर युएई गएको श्रम मन्त्रालयको दाबी छ ।

भिजिट भिसामा जाने अधिकांश अलपत्र
म्यानपावर व्यवसायीको प्रलोभनमा भिजिट भिसामा गएका सयौं नेपाली अलपत्र परेका छन् । विभिन्न चरणमा भिजिट भिसामा गएका श्रमिकहरू आफू अलपत्र परेको भन्दै सरकारलाई हारगुहार गरिरहेका छन् ।

हालै रोजगारी लगाइदिने भन्दै युएईमा पुगेको १२ जना श्रमिकले आफूहरू अलपत्र परेको भन्दै उद्दारका लागि हारगुहार गरेका थिए । उक्त श्रमिकको उद्दारका लागि श्रम मन्त्रालयले सहयोग गरेका थिए । साथै, अलपत्र पार्ने म्यानपावर कम्पनीमा अनुगमनसमेत गरेर कारबाहीको दायरामा ल्याएको छ ।

साथै, विभिन्न चरणमा गुनासोको आधारमा श्रम मन्त्रालयले अनुगमनमा तीब्रता दिएको छ ।

श्रम विज्ञ सोम लुईटेलले म्यानपावरको प्रलोभनमा नेपाली श्रमिक भिजिट भिसामा युएई जाँदा अलपत्र परेको बताउँछन् । उनका अनुसार एकातिर म्यानपावरलाई दिएको लाखौं रुपैयाँ खेर जाने र गन्तव्य मुलुकमा पुगेर अलपत्र परिरहेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङ्ले भिजिट भिसामा व्यवसायीले मात्रै नभएर एनआरएनएले लैजाने गरेको बताए ।

उनले जुन म्यनपावरले भिजिट भिसामा पठाउँछ उक्त म्यानपावर दलाल हो बताउँदै कुनै पनि म्यानपावरले भिजिट भिसामा लैजाने थाहा पाएमा कारबाही गर्ने बताए ।

साथै, सरकारले भिजिट भिसामा कडाई गरेरगम्भीरतासहित अनुगमन गरी कडा कारबाही गर्नुपर्ने जिकिर गरे ।

अलपत्र हुने डर हुँदा पनि किन जान्छन् ?
विभिन्न समयका भिजिट भिसामा युएईमा पुगेका श्रमिकहरू अलपत्र परेको भन्दै उद्दारमा लागि माग गरिरहेका धेरै सूचनाहरू विभिन्न सामाजिक सञ्जालमार्फत् सुन्न र देख्न सकिन्छ । तर, कतिपय मानिसहरू अलपत्र हुन्छ भन्ने थाहा हुँदाहुँदै रोजगारीका लागि भिजिट भिसामा युएईमा जाने गरेको पाइएको छ ।

संघका कार्यवाहक अध्यक्ष तामाङ्ले भिजिट भिसामा अशिक्षित श्रमिकभन्दा शिक्षित श्रमिक बढी जाने गरेको जानकारी दिए । साथै, विभिन्न समस्या आएपनि जानेको संख्या कमी हुन नसकेको गुनासो पोखे । साथै, सरकारको कमजोर नीति नियमले गर्दा नेपालीहरू दुःख पाउने थाहा हुँदाहुँदै जाने गरेको उनको बुझाइ छ ।

श्रम विज्ञ लुईटेलले भिजिट भिसामा अलपत्र हुन्छ भन्ने थाहा हुँदाहुँदै युएई जान नरोक्नुको मुख्य कारण सरकारले श्रमिकको व्यवस्थापन गर्न नसक्नु ठूलो कमजोरी रहेको बताउँछन् ।

उनकाअनुसार कोभिडका कारण हजारौं नेपाली बेरोजगार भएको अवस्थामा राज्यले केही पनि व्यवस्थापिन गर्न सकेका छैनन् । जसले गर्दा अलपत्र हुने थाहा हुँदा पनि लाखौं रुपैयाँ तिरेर विदेशिने गरेको छ ।

‘स्वदेशमा युवाहरूका लागि रोजगारी छैन । स्वदेशमा रोजगारी नभएपछि जसोतसो गरेर पनि वैदेशिक रोजगारीमा जाने प्रचलन छ,’ उनले भने । त्यसैगरी, कतिपय श्रमिक भने भिजिट भिसाबारे थाहा नपाएर जाने गरेको उनले जिकिर गरे ।

युएईमा भिजिट भिसामा गएपश्चात करिब १ महिनाको अन्तरालमा वर्क पर्किट पाउने व्यवस्था छ । उक्त व्यवस्थाले पनि युएईमा भिजिट भिसामा जाने मानिसको संख्या उच्च छ । तर, युएईमा गएर विभिन्न समस्या भोग्नुपर्नेको परिणाम कसैले कल्पना नगर्दा ठूलो दुर्घटना हुन सक्ने उनले बताए ।

‘नेपालीहरू रोजगारी कै लागि रिस्क लिएर जाने प्रचलन रहेको छ । कतिपय नेपालीहरू उक्त रिस्कले कस्तो परिणाम ल्याउँछ भन्ने हेकु नराख्ने र जानकारीको अभावले पनि जाने क्रम बढ्दो छ,’ उनले भने ।

भिजिट भिसाबारे छानबिन गर्न ‘मार्सल टीम’ परिचालन
कोभिडपश्चात रोजगारीको क्रममा निकै चर्चा पाएको भिजिट भिसाको हालसम्म समस्या समाधान हुन सकेको छैन । त्यसैले, भिजिट भिसाबाट उत्पन्न भएको विभिन्न समस्यालाई समाधान गर्नका लागि गृह मन्त्रालयले कार्यदल गठन गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँडको पहलमा गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

त्यस्तै, श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले पनि श्रम गन्तव्य मुलुक पुगेर समस्यामा परेकाहरुलाई सम्बोधन गर्नका लागि ’मार्सल टिम’ गठन गरिएको छ । म्यानपावर व्यवसायीले रोजागारीको आस्वासन देखाउँदै भिजिट भिसामा पुगेर अलपत्र परेका श्रमिकको समस्या समाधान गर्नका लागि मार्सल टीम गठन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मन्त्रालयका उपसचिव विष्णु लामिछाने, नेपाल प्रहरीका प्रतिनिधिको सहकार्यमा सो टीम गठन गरेको हो । सो टीमले विभिन्न चरणमा अनुगमन गरेर समस्यामा परेका श्रमिकको उद्दार भइरहेको मन्त्रालयले जनाएको छ । साथै, मन्त्रालयले २४सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गरेको छ । उक्त व्यवस्थाले श्रमिकको गुनासो सम्बोधन हुने श्रममन्त्रीको दाबी छ ।

युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाने
भिजिट भिसामार्फत् विभिन्न समस्या आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएको छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका बिषयमा युएई सरकारसँग फलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेको हो ।

मन्त्री श्रेष्ठले सो समस्या समाधानका लागि युएईका राजदूत साइद हमदान अल नाकीसँग आज मन्त्रालयमा छलफल समेत गरेका छन् । उक्त छलफलमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गरेका थिए ।

नक्कली मागपत्र बनाउने, झुटो आस्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउने श्रम मन्त्रीको भनाइ छ ।


अरिष्मा मोक्तान