विद्युतीय भुक्तानीः पुस महिनामा क्यूआरबाट साढे ६ अर्ब र वालेटबाट सवा १६ अर्बभन्दा बढी कारोबार



काठमाडौं । कोरोना महामारीका कारण लागू भएको लकडाउनपछि आक्रामकरुपमा बढेको विद्युतीय भुक्तानी पछिल्लो समयमा उल्लेख्य रुपमा बढेको छ ।

खासगरी नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि गरेको नीतिगत पहलका कारण क्यूआर, वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकलगायतबाट हुने भुक्तानी रकम बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस महिनामा मात्रै क्यूआर कोड स्क्यानमार्फत् १९ लाख १८ हजार ५२६ वटा कारोबारबाट ६ अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । यस्तो रकम मंसिर महिनामा ६ अर्ब २८ करोड, कात्तिक महिनामा ५ अर्ब ३६ करोड, असोज महिनामा ६ अर्ब ९ करोड, भदौ महिनामा ५ अर्ब ८५ करोड र साउन महिनामा ५ अर्ब ५ करोड रुपैयाँ थियो ।

साथै, वालेटबाट १ करोड ३७ लाख १२ हजार २०६ वटा कारोबारमार्फत् १६ अर्ब २७ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ । यस्तो रकम मंसिर महिनामा १५ अर्ब ५२ करोड र कात्तिक महिनामा १३ अर्ब ९४ करोड रुपैयाा थियो ।

त्यसैगरी मोबाइल बैंकिङबाट ९४ अर्ब ४० करोड ७० लाख र इन्टरनेट बैंकिङका माध्यमबाट १३ अर्ब ४९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।

यता कनेक्ट आइपीएसबाट हुने कारोबारपनि पुस महिनामा हालसम्मकै सबैभन्दा बढी देखिएको छ । कनेक्ट आइपीएसबाट पुस महिनामा मात्रै २ खर्ब ४७ अर्ब ४७ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस्तो रकम मंसिर महिनामा २ खर्ब २८ करोड ४५ लाख, कात्तिक महिनामा २ खर्ब ३ करोड, असोज महिनामा २ खर्ब ३९ करोड रुपैयाँ थियो ।


क्लिकमान्डु