चोभार सुख्खा बन्दरगाह वरिपरी जग्गाको भाउ छोइनसक्नू



काठमाडौं । सरकारले ३ वर्षअघि सुख्खा बन्दरगाह निर्माणका लागि शिलन्यास गरेको चोभारमा सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न गरेको छ । उक्त निर्माण कार्य सम्पन्न भएको बन्दरगाहको अहिले सरकारले सञ्चालनको तयारी गरेको छ ।

बन्दरगाह सञ्चालनको तयारी गरिरहेको अवस्थामा चोभारको वरिपरिको जग्गाको मूल्य भने छोइनसक्नु भएको छ । विगतमा सो क्षेत्रमा घरजग्गा कारोबारमा खासै चहलपहल बढेको थिएन ।

तर, सरकारले चोभारमा सुख्खा बन्दरगाह निर्माण गर्ने तयारीपश्चात् जग्गाको मूल्य आकासिएको व्यवसायीहरू बताउँछन् ।

करिब ८ वर्षदेखि किर्तिपुर नगरपालिका र चोभारका वरिपरी क्षेत्रमा घरजग्गा कारोबार गर्दै आएका रियल स्टेट कारोबार नेपालका सञ्चालक प्रकाश छतकलीले चोभार सुख्खा बन्दरगाहका कारण जग्गा किन्ने मानिस बढेको बताए । छतकलीका अनुसार विगतमा केही मात्रामा खरिदबिक्री हुने सो क्षेत्रमा अहिले उच्चरुपमा घरजग्गाको कारोबार हुन थालेको छ ।

करिब ८ वर्षअघि सो क्षेत्रमा प्रतिआना ५ लाखको हाराहारीमा मूल्य थियो । त्यसपश्चात चोभार निर्माण हुने भन्ने वित्तिकै ९ लाखदेखि १० लाखको हाराहारीमा कारोबार भएको उनले जानकारी दिए । तर, अहिले चोभार बन्दरगाह बनिसक्दा उक्त क्षेत्र वरिपरिको जग्गा २४ लाखदेखि २८ लाख प्रतिआना मूल्यमा बिक्री हुन थालेको छ ।

‘४ वर्ष अगाडिसम्म सो क्षेत्रमा मैले कारोबार गर्दा प्रतिआना ९ लाखसम्म मूल्य थियो,’ उनले भने, ‘अहिले सुख्खा बन्दरगाह बनिसक्दा २४ लाखभन्दा कम मूल्यमा प्रतिआना पाउने अवस्था छैन ।’

उक्त क्षेत्रमा घरजग्गाको मूल्य १३० प्रतिशतले बढेको उनले जानकारी दिए ।

त्यसैगरी, बन्दरगाहकै कारण व्यवसायीहरूको पनि बढ्दो आकर्षण देखिएको उनको भनाइ छ । हाल बन्दरगाह सञ्चालनमा कहिले आउँछ भन्ने कुनै टुङगो छैन । तर, आगामी दिनलाई लक्षित गरेर सो क्षेत्रमा घरजग्गा कारोबार गर्नेहरुको संख्या उच्च छ ।

त्यस्तै, लामो समयदेखि घरजग्गा कारोबार गर्दै आएका दिलिप केसीले बन्दरगाह आइसके पनि जग्गाको मूल्य बढ्नु स्वाभाविक रहेको बताए ।

‘कुनै पनि आयोजना आउने वित्तिकै सो क्षेत्रमा आकर्षण बढ्ने त भइहाल्यो,’ उनले भने, ‘बन्दरगाह निर्माण गर्ने तयारी नभएको अवस्थाको तुलनामा अहिले बनिसक्दा शतप्रतिशत जग्गाको मूल्य बढेको छ ।’

हाल सो क्षेत्रमा २० लाखभन्दा कम मूल्यमा प्रतिआना नपाउने उनले जिकिर गरे । साथै, सो क्षेत्रमा फास्ट ट्र्याक बन्ने भएकाले तीब्ररुपमा जग्गाको कारोबारसँगै मूल्य अत्यधिक बढेको छ ।

नेपाल भूमि रियल स्टेट एजेन्सीका सञ्चालक अर्जुन लामाले स्थानको आधारमा कारोबार हुने बताए । तर, पनि चोभार सुख्खा बन्दरगाह निर्माण कार्यले सो क्षेत्रमा २० लाखभन्दा कम मूल्यमा जग्गा पाउन निकै मुश्किल रहेको उनको भनाइ छ ।

‘सुख्खा बन्दरगाह आउने वित्तिकै चोभारमा उच्चरुपमा चहलपहल शुरु हुनेछ । जसले गर्दा व्यवसायिक तथा आर्थिकरुपमा बढी कारोबार हुने देखिने भएकाले मानिसहरूले त्यसतर्फ जग्गा किन्न खोजिरहेको देखिन्छ,’ उनले भने ।

त्यसैगरी, चोभारको सुख्खा बन्दरगाहले मात्रै नभएर आगामी दिनमा फास्ट ट्र्याकको आयोजना पनि सञ्चालनमा आउने भएकाले सो क्षेत्रमा बढी जग्गा कारोबार हुँदै आएको व्यवसायीहरू बताउँछन् । हाल चोभार वरिपरिका क्षेत्रमा प्रतिआना २० लाखभन्दा बढी रुपैयाँमा कारोबार भइरहेको अवस्था छ । यदि बन्दरगाह छिट्टै सञ्चालनमा आए जग्गाको भाउ निकै आकासिने व्यवसायीहरूले अनुमान गरेका छन् ।


क्लिकमान्डु