यसरी सञ्चालन हुनेछ चोभारको सुख्खा बन्दरगाह



काठमाडौं । काठमाडौंको चोभारमा ड्राइपोर्ट अर्थात् सुख्खा बन्दरगाहको निर्माणको काम सकिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवसायीलाई सहजीकरण गर्ने उद्देश्यका साथ उपत्यकामै सुख्खा बन्दरगाह निर्माण गरेको हो ।

समितिले करिब ६ महिनाअघि भौतिक संरचनाको निर्माण कार्य सम्पन्न गरिसकेको छ । हिमाल सिमेन्टको अलपत्र परेको जग्गालाई उपयोग गर्ने उद्देश्यका साथ १ अर्ब ६७ करोड रुपैयाँ विश्व बैंकको सहयोगमा निर्माण गर्ने जनाएको थियो । तर, हाल निर्माण कार्य सम्पन्न हुँदा १ अर्ब ५३ करोड रुपैयाँ खर्च भइसकेको छ ।

जसमा समितिले २ सय ३२ रोपनी क्षेत्रफलमा बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय सवारी साधन तथा ट्रक अटाउने क्षमताको रहेको जनाएको छ । साथै, व्यवस्थित यार्ड, क्वारेन्टिको व्यवस्था हुनेछ । तर, निर्माण कार्य सम्पन्न भएको ६ महिना बितिसक्दा पनि सञ्चालनको कुनै टुङ्गो लागेको छैन ।

समितिले सुख्खा बन्दरगाह सञ्चालनका लागि तयारी गरिरहेको छ । समितिले बन्दरगाहका लागि आवश्यक सुरक्षाकर्मी र मालबाहक गाडी लोडिङ/अनलोडिङ गर्नका लागि आह्वान गरिसकेको छ ।

समितिले हाल भन्सार विभागबाट जारी हुने कार्यविधिको मिति र सञ्चालनको मिति कुरिरहेको समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले जानकारी दिए । उनकाअनुसार सम्पूर्ण तयारी गरिसकेको हुँदा सञ्चालनको मिति मात्रै तोक्न बाँकी छ ।

यता भन्सार विभागले पनि कार्यविधि तयार गरिसकेको अवस्था छ । उक्त कार्यविधि स्वीकृत हुन मात्रै बाँकी रहेको भन्सार विभागले जनाएको छ । साथै, विभागले सो बन्दरगाहको जाँचपासका लागि आवश्यक २९ वटा कर्मचारीको स्वीकृत पाइसकेको छ ।

निर्माण कार्य सकिएर सम्पूर्ण तयारी गरिरहेको अवस्थामा सञ्चालनमा ल्याउने निकाय नै कहिले सञ्चालनमा आउँछ भन्नेमा अन्योलता छाएको छ । एकातिर समितिले भन्सारको निर्णय कुरिरहेको बताउँदै आएका छन् भने अर्कोतर्फ भन्सार विभागले मन्त्रालयको निर्णय कुरिरहेको बताउँदै आएका छन् ।

‘समितिले सम्पूर्ण कार्य सम्पन्न गरिसकेको छ । अब कार्यविधि जारी भए सञ्चालनमा आउनेछ,’ समितिका कार्यकारी निर्देशक गजुरेलले भने । तर, कार्यविधि मात्रै आएर पनि सञ्चालन आउन नसक्ने भन्सार विभागको भनाइ छ ।

‘विभागले भन्सारको जाँचपास सम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गरिसकेको छ । उक्त कार्यविधि स्वीकृत भएपनि सञ्चालनमा कहिले आउँछ भन्ने कुनै टुङ्गो छैन,’ विभागका प्रवक्ता पुण्यप्रसाद खड्काले भने ।

सहरभित्र भन्सार कार्यालय वा सुख्खा बन्दरगाह निर्माण भएको धेरै उदाहरण छ । तर, नेपालमा भने पहिलोपटक हो । यसले गर्दा उक्त बन्दरगाहले कसरी व्यापार सहजीकरण गर्ला भन्ने सबैको चासोको बिषय बनेको छ ।

हालसम्म नाकामा रहेको सुख्खा बन्दरगाह र भन्सार कार्यालयमा चाँचपास हुँदै आएको अवस्था छ । सरकारले व्यवसायीहरूको सहजीकरणमा लागि चोभारमा सुख्खा बन्दरगाह निर्माण गरेको बताउँदै आएका छन् । जसमा सरकारले अहिले सम्पूर्ण काठमाडौं ल्याउने सम्पूर्ण मालबाहक गाडीहरूको जाँचपास विभिन्न भन्सार कार्यालयबाट हुँदै आएको छ ।

जसमा वीरगञ्ज, वीरटनगर, भैरहवा, तातोपानीमा भन्सारसम्बन्धी सम्पूर्ण कार्य सकाएर आउनुपर्ने व्यवस्था छ । तर, अत्याधुनिक चोभार बन्दरगाह सञ्चालनमा आएका काठमाडौंको लागि भित्रिएका मालबाहक गाडीहरू सिधै काठमाडौंमा गएर जाँचपास गर्न सक्ने जनाएको छ ।

जसमा सम्बन्धित नाकाका नगरी उपत्यकामा जाँचपास गर्ने भनिएमा सो नाकाबाट गाडीमा लकिङ र जीपीएस जडान गरेर पठाउनेछ । साथै, सो मालबाहक गाडीको सम्पूर्ण चेकजाँच चोभारमा बनेको बन्दरगाहमा हुनेछ ।

उक्त बन्दरगाहमा चेकजाँच भए विभिन्न नाकामा कुरेर बस्नुपर्ने बाध्यता घट्ने समितिको दाबी छ । तर, उक्त चोभार सञ्चालनमा कसरी आउने भन्ने नै ठूलो चुनौती बनेको छ । यसमा प्रत्यक्ष रुपमा व्यवसायीले लाभ लिन सक्ने जनाएपनि कसरी विश्वास गर्ने भन्ने प्रश्न खडा भएको सञ्चालन समितिको निकायकै प्रश्न रहेको छ ।

कार्यकारी निर्देशक गजुरेलले नै उक्त बन्दरगाहको मुख्य समस्यानै नाकाबाट आएपनि कसरी सुरक्षित ल्याउने ठूलो चुनौती रहेको बताउँछन् । उक्त चुनौती रहेपनि कसरी समाधान गर्ने छलफल भइरहेको बताए । तर, सो क्षेत्रधिकार भने भन्सार कार्यलयको रहेको समितिको भनाइ छ ।

कन्टेनर सुरक्षितसाथ ल्याउनका लागि जीपीएस जडान
नाकाबाहेकको पहिलोपटक उपत्यकाका बन्दरगाह निर्माण गरेकाले सबैलाई सुरक्षित कसरी ल्याउने भन्ने चासो सबैमा छ । कतिपय अवस्थामा भन्सारबाट सिधै ल्याउने भनिएपनि बीच बाटोमै आयातित सामग्री हराउने सम्भावना अधिक हुने अनुमान गरेका छन् ।

तर, सामग्री हराउनेलगायत कन्टेनर हराउनेजस्ता कार्य हुन नसक्ने सरोकारवालाहरूको भनाइ छ । समितिकाअनुसार चोभार सुख्खा बन्दरगाहमा सुरक्षित साथ ल्याउनका लागि कन्टेनरमा जीपीएस जडान गर्ने भएको छ ।

‘कुनै पनि देशबाट आएको मालबाहक गाडी बोर्डर आएपछि काठमाडौंमा जाँचपास गर्ने वस्तुको कन्टेनरमा शिल्ड र जीपीएस जडान हुनेछ,’ उनले भने, ‘उक्त प्रक्रिया अपनाउँदा सुरक्षित साथ काठमाडौंमा आउनेछ ।’ साथै, विभिन्न नाकाबाट आएको वस्तु चेकजाँच नगर्दा प्रहरीबाट दुःख पाउने धारणा रहेको छ । त्यसमा भने सिल्ड र जीपीएस जडान भएको हुनाले कुनै समस्या नआउने जनाएको छ ।

‘प्रहरीले खोलेर ल्याएको सामग्रीमा बढी चेकजाँच हुन्छ,’ उनले भने ‘सिल्ड नतोडेकोमा कुनै अप्ठ्यारो हुँदैन ।’

कसरी आम्दानी गर्छ त सरकारले
चोभारको सुख्खा बन्दरगाह दुई वटा मोडालिटीमा चल्नेछ । जसमा आयात निर्यातका लागि दुई वटा एक्जिम ब्लक रहेको छ । उक्त एक्जिमबाट भन्सारका सम्पूर्ण कार्य र क्वारेन्टिनको कार्य हुनेछ । साथै, सोहीबाट आयात निर्यात हुनेछ । बन्दरगाहमा रहेको पार्किङ व्यवसायीहरूले सहज रुपमा प्रयोग गर्नेछन् ।

सरकारले विश्व बैंकसँग ऋण लिएर बन्दरगाहको निर्माण गरेका छन् । उक्त निर्माण भएको सम्पूर्ण कार्य सम्पन्न भएपनि सञ्चालनमा नआउँदा खर्च गरेको रकम कसरी उठाउने भन्ने ठूलो चुनौतीको विषय बनेको छ । राज्यले व्यापार सहजीकरण गरेर लजिस्टिक कस्ट घटाउने मुख्य उद्देश्य राखेको छ ।

‘राज्यले व्यवस्थित पूर्वाधार निर्माण गरेर सुविधा दिने हो,’ गजुरेलले भने ।

तर, आफ्नो संस्था र बन्दरगाह पनि सञ्चालनमा व्यवस्थापन गर्नुपर्ने हुँदा उक्त बनदरगाहबाट जसरी पनि आम्दानी गर्नुपर्ने नै हुन्छ । त्यसैले, सरकारले विभिन्न विधामा खर्च उठाउने तयारी गरेको छ ।

सरकारले सुख्खा बन्दरगाह प्रयोग गर्ने व्यवसायीलाई न्यूनतम मूल्य लिएर चलाउने भएको छ । जसमा गाडी प्रवेश गर्दा प्रवेश शुल्क, धर्माकाटा प्रयोग गर्दा शुल्क, पार्किङको शुल्क, गोदामको शुल्क, वस्तु लोडिङ÷अनलोडिङको शुल्कलगायत अन्य विधामा न्यूनतम मूल्य तोक्नेछ । कुनै पनि बन्दरगाह सञ्चालनका लागि शुल्क लिँदै आएको हुनाले अन्य बन्दरगाहको जस्तै यस बन्दरगाहमा पनि सो नियम लागू हुनेछ ।

हाल काठमाडौंको बन्दरगाह सञ्चालनमा आउन सकेको छैन । जसले गर्दा काठमाडौंमा कन्टेनरको ट्राफिक कति हुन्छ भन्ने अनिश्चितता छ ।

साथै, आम्दानी गर्न सक्छ वा सक्दैन भन्ने ठूलो चुनौती रहेको छ । उक्त विषयमा सरोकारवालाहरूले ले भने सञ्चालनमा ल्याएपछि कति कन्टेनर भित्रिने र बाहिरिनेको आधारमा आम्दानी हुने थाहा हुने जनाएका छन् ।

‘हाल उक्त बन्दरगाह सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढेको छ । तर, सो बन्दरगाहबाट कति महशुल उठ्ने र आम्दानी गर्न सक्ने कुनै अनुमान गरेको छैन,’ भन्सार विभागका प्रवक्ता खड्काले भने ।

पहिलो त कहिले सञ्चालनमा आउँछ भन्ने छ । त्यस्तै, सञ्चालनमा आएपनि व्यवसायीहरू आकर्षण भएर आउँछन् वा आँदैनन् भन्ने ठूलो चुनौती रहेको छ ।

उक्त चुनौतीका बाबजुद सञ्चालनका लागि सरकारले तीब्र कार्य अगाडि बढाएको छ । साथै, सरकारले व्यवसायीहरूलाई आकर्षण गर्नका लागि न्यूनतम शुल्क तोक्ने जनाएको छ ।

सरकारले अन्य बन्दरगाहमा जस्तै न्यूनतम शुल्क कायम गरेर व्यवसायीलाई आकर्षण गर्न सक्ने दाबी गरेको छ । साथै, चोभार बन्दरगाहले कम शुल्कमा सेवा दिने मोडालिटी अपनाएको छ ।

व्यवसायीलाई कसरी सहजीकरण हुन्छ ?
देशको अधिकांश सहर तथा जिल्लामा आयातित वस्तु पुग्छ । तर, मुख्यतया उपत्यका केन्द्रितवस्तु बढी आयात भएको हुन्छ । त्यसैले, उपत्यकाका व्यवसायीहरूको सहजीकरणका लागि सो बन्दरगाह निर्माण गरिएको छ । जसमा काठमाडौंको व्यवसायीले काठमाडौंमै भन्सार जाँचपास हुनेछ । भन्सार जाँचपास हुने वित्तिकै उपभोक्तामा पुग्नेछ ।

निर्यात गर्ने व्यवसायीले पनि सहजै निर्यात गर्न सक्नेछन् । अहिले निर्यातकर्ताको वस्तु वीरगञ्ज भन्सार, तातोपानी भन्सारलगायत अन्य भन्सार गएर जाँचपास हुन्छ भने अबका दिनमा काठमाडौंबाट सहज तरिकाले निर्यात गर्न सक्नेछ । उपत्यकाका व्यवसायीले उपत्यकामा वस्तु आयात निर्यात गर्दा उपत्यकामै सबै कार्य सक्नेछ ।

चोभार निर्माण गर्दा फास्ट ट्रयाकलाई जोडेर बनाएको छ । फास्ट ट्रयाक सञ्चालनमा आए वीगञ्जबाट आउने सामग्रीको सिधै काठमाडौंमा आउँदा खर्च कम हुने र उपभोक्तामा छिटो पुग्नेछ ।

त्यसैगरी, अहिले धेरै भन्सारमा पालो कुर्नुपर्ने अवस्था रहेको छ । तर, काठमाडौं आएर जाँचपास गरेमा छिटो हुन सक्ने उल्लेख गरेको छ । जसमा समय र मूल्यले आकर्षण गर्ने भएको छ ।

सञ्चालनमा आए व्यवसायीको आकर्षण नहुने भन्ने छैनः व्यवसायी
सरकारले उपत्यकामा रहेको व्यवसायीलाई व्यापारमा सहजीकरण गर्ने भन्दै निर्माण गरिएको बन्दरगाहमा व्यवसायीको आकर्षण नहुने कुनै कारण नरहेको व्यवसायीहरूले बताएका छन् । हिमाल स्मिापार व्यापार संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले कहिले सञ्चालनको मिति कुरिरहेको बताए । उनकाअनुसार सरकारले उपत्यकामा निर्माण गरेको बन्दरगाहले व्यापार ठूलो सहजीकरण गर्नेछ ।

‘काठमाडौंमा व्यापार गर्ने व्यवसायीहरूका लागि निकै फाइदा हुनेछ,’ उनले क्लिकमाण्डूसँग भने, ‘आफ्नो वस्तु हेर्नका लागि लामो गन्तव्य तय गर्नुपर्नेको अन्त्य हुनेछ । साथै, आफै गएर आफ्नो वस्तुको सहजै चेकजाँच गर्न सकिन्छ ।’

हाल जति पनि व्यवसायी आफ्ना सामग्री ल्याउनका लागि जहाँ बोर्डर छ त्यही पुग्नुपर्ने अवस्था छ । उक्त बन्दरगाह सञ्चालनमा आएमा सहज हुनेछ । साथै, जाँचपासमा सम्पूर्ण खर्च लागेपनि समयमै वस्तु चेकजाँच हुने र अन्य खर्चहरू कटौती हुनेछ ।

त्यसैगरी, नेपाल निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले पनि सो बन्दरगाहबाट व्यवसायीले निकै लाभ लिन सक्ने बताए ।

‘अहिले निर्यातकर्ताहरू वीरगञ्ज, काँकडभिट्टालगायत अन्य भन्सारमा पुग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘समय र अन्यथा खर्च कम हुनेछ ।’
उक्त बन्दरगाह सञ्चालनमा आए निर्यातकर्ताहरूले सहज तरिकाले वस्तु निर्यात गर्न सक्ने उनको भनाइ छ ।


अरिष्मा मोक्तान