नख्खु-बुङमती सडक चैतसम्ममा नै सम्पन्न गर्न निर्देशन



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्माणाधीन नख्खुबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक चैतसम्ममा सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

आज सडकको अवलोकन गर्न पुग्नुभएका मन्त्री यादवले निर्माणस्थल खाली भइसकेकाले सो अवधिमा सम्पन्न गर्न समस्या नरहेको बताइन् । विस्तारका क्रममा रहेको सो सडकमा केही ठाउँमा निर्माणस्थल खाली हुन नसकेकाले ५/६ वर्षसम्म काम नभएको उनले बताइन् । अहिले निर्माणस्थल खाली गरिसकिएकाले चैतसम्ममा सम्पन्न हुने उनको भनाइ छ ।

‘भिआइपी एरिया पनि भएकाले सबै सक्रिय भएर लाग्दा समयमा काम सकिनेछ,’ उनले भनिन् ।

विगतका वर्षहरुमा निर्माण सुस्त भए पनि आफूले मन्त्रालय सम्हालेपछि त्यहाँ रहेका अवरोध हटाएर निर्माणको वातावरण बनाउन लागेको मन्त्री यादवले बताइन् । उनका अनुसार केही समय पहिलेसम्म सडकमा नै घर, पर्खाल लगायतका संरचना थियो । त्यो हटाउनेसँगै सडकमा रहेका पाइप, ढल हटाइसकिएकाले अहिले काम द्रुत रहेको उनले बताइन् । सडकमा अरू अवरोध नभएको र यहाँको आयोजना र निर्माण व्यवसायी काम सकाउन प्रतिबद्ध रहेको उनले बताइन् ।

‘अब सडकमा कालोपत्र मात्रै बाँकी भएकाले दुई महिनामा काम सकिन्छ,’ उनले भनिन् ।

सो सडक दुई ठेक्कामा निर्माण भइरहेकामा दुवै ठेक्कामा निर्माण अघि बढिरहेको छ । दुवै ठेक्कामा संलग्न निर्माण कम्पनीहरुलाई सडक चैतसम्म सक्न निर्देशन दिइएको छ । केही महिनादेखि मन्त्रालय टोली निर्माणाधीन सडकको अनुमगनका लागि खटिएको र ठाउँठाउँमा पुगेर त्यहाँको सडकको अवस्थाका बारेमा जानकारी लिइरहेको उनले बताइन् ।

कुनै पनि सडकमा सम्बन्धित प्रदेश र स्थानीय तहले पनि अनुगमन गर्नुपर्नेमा उनको जोड छ । कुनै पनि सडक हेरेर किन बनेन वा सडक बनाउँदाको समस्या बुझ्नुपर्छ, समन्वय हुँदा निर्माणमा संलग्नको पनि मनोबल बढ्ने उनको भनाइ छ ।

निर्माणाधीन सडकमा पर्याप्त सङ्ख्यामा जनशक्ति र सामग्री भए समयमा सम्पन्न हुनसक्ने मन्त्री यादवले बताउनुभयो । निर्माण कम्पनीले आवश्यकताअनुसार रातको समयमा पनि काम गराउन सक्छ । मन्त्री यादवसँगै भौतिक पूर्वाधार मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ, सडक विभागका महानिर्देशक शिवहरि सापकोटा लगायतका कर्मचारी सहभागी थिए ।

पाँच किलोमिटर लम्बाइको सो सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने ठेक्का सम्झौतामा उल्लेख थियो ।

आशिष बिरुवा सिएम जेभीले तीन दशमलव पाँच र पप्पु महालक्ष्मी वल्डवाइड जेभीले एक दशमलव पाँच किमी सडक निर्माण गर्ने गरी सम्झौता भएको थियो । पहिलो ठेक्काको सम्झौता विसं २०७३ असारमा र दोस्रो ठेक्का सम्झौता विसंं २०७४ साउनमा भएको थियो ।

अहिलेसम्म दुवै ठेक्काको भौतिक प्रगति ७०÷७० प्रतिशत पुगेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।


क्लिकमान्डु