सेयर बजारमा अब इन्साइडर ट्रेडिङ रोकिन्छ: नेप्से सीइओ कृष्ण कार्की



नेपाल स्टक एक्सेचेञ्ज लिमिटेड (नेप्से)ले करिब ६ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीइओ ) पाएको छ । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले पाल्पाका कृष्णबहादुर कार्कीलाई सीइओमा नियुक्त गरेको छ । नवनियुक्त सीइओ कार्कीसँग क्लिकमाण्डूले गरेको संक्षिप्त कुराकानी

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)को सीइओमा नियुक्त हुनु भयो । तपाईंका योजनाहरु के-के छन् ?

सबैभन्दा पहिले त सूचना प्रविधिको क्षेत्रमा कैयन कामहरु गर्न बाँकी छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने ग्याप देखेको छु । मेरो पहिलो प्राथमिकता सूचना प्रविधिलाई बलियो बनाउने काममै केन्द्रित हुनेछ । त्यसका साथै अनुगमनलाई प्रभावकारी बनाउँदै नेप्सको विकासमा केन्द्रित हुनेछु । अनुगमनका नयाँ औजारहरु बनाएर काम गर्नेछु ।

सेयर बजारमा लगानीका औजारहरु कम छन्, त्यस विषयमा यहाँको योजना के छ ?
पछिल्लो समयमा सेयर लगानीकर्ताको संख्या निकै बढेको छ । खासगरी अनलाइनबाट कारोबार गर्नेहरुको संख्या पनि निकै ठूलो छ । साथै लगानीकर्ताहरु बढ्दो संख्यामा रहँदा लगानीका अन्य के कस्ता औजारहरु हुन सक्छन् सोही विषयमा पनि काम गर्ने मेरो योजना छ ।

तपाईंले हाल सेयर बजारमा देखेका के कस्ता समस्या छन् ?
हाल सेयर बजार सम्बन्धी कैयन नीतिगत समस्या छन् । ब्रोकर कार्यालयहरुलाई सुदृढ बनाउनु पर्नेछ । त्यसलाई पहिचान गरी समस्या समाधान गर्नुपर्ने अवस्था छ । हाल सेयर बजारमा इन्साइडर ट्रेडिङको समस्या व्याप्त छ । यो समस्या निकै ठूलो समस्या पनि हो । मेरो कार्यकालमा विगतमा भइरहेको इन्साइडर ट्रेडिङको अभ्यास न्यूनिकरण गर्नु मेरो प्राथमिकता हुनेछ । नेप्से कार्यान्वयन गर्ने संस्था हो । धितोपत्र बोर्डसँग समन्वय गरी सेयर बजारको विकासमा काम गर्नु नै मेरो उद्देश्य हुनेछ ।

वित्तीय साक्षरताका विषय पनि छन्, साथै सबै प्रदेशमा ब्रोकरको कार्यालय स्थापना गर्ने विषयमा यहाँको के योजना छ ?
पक्कै पनि वित्तीय साक्षरताका विषयमा काम गर्ने ठाउँहरु छन् । साथै, सात वटै प्रदेशमा ब्रोकर कार्यालय स्थापना गर्नका लागि नेप्सेको कार्यक्षेत्रभित्र रहेर काम गर्नका लागि म तयार छु ।


क्लिकमान्डु