नेपाल टेलिकमले घटायो अन्तरआवद्धता शुल्क, एनसेलमा फोन गर्दा अब कति पैसा लाग्छ ?



काठमाडौं । नेपाल टेलिकमले नयाँ अन्तरआवद्धता शुल्क निर्धारण गरेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको नयाँ अन्तरआबद्धता निर्देशिका अनुसार शुल्क घटाएको हो ।

नयाँ निर्देशिकाले कुनै पनि एक नेटवर्कबाट अर्को नेटवर्कमा कुराकारी गर्दा लाग्ने थप शुल्क घटाएको थियो । सो व्यवस्था बमोजिम अब नेपाल टेलिकमको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा महशुल दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र लाग्नेछ ।

यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा लाग्ने छ ।

त्यस्तै, जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम लाग्ने टेलिकमले जनाएको छ ।

साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुनेछ । उल्लिखित दररेटमा करवापत लागु हुने रकम समावेश नगरिएको टेलिकमले जनाएको छ ।


क्लिकमान्डु