९ अर्ब डलर लगानीमा आकाशा उडाउँदै राकेश झुनझुनवाला



एजेन्सी । भारतको सरकारी स्वामित्वको ध्वजावाहक एयर इण्डिया नरेन्द्र मोदीको सरकारले पुनः टाटा समूहलाई नै जिम्मा लगाएको छ ।

व्यवसायिक रुपमा घाटा भएको तथा सरकारी कम्पनी एवम् संस्थानहरु क्रमशः विनिवेश गर्दै जाने योजना अनुसार भारत सरकारले एयर इण्डिया निजीकरण गरेको हो ।

तर्क र तथ्य जे–जे पेश गरेपछि सम्पूर्ण भारतीयको शान र मानसँग जोडिएको एयर इण्डिया निजीकरण गरेर मोदी सरकारले धेरैले मन दुखाएको चर्चा शुरु पनि भएको छ ।

किनकी, यसको हावा अन्य देशमा पनि फैलन सक्छ । किनकी, कोरोनाका कारण संसारभर नै वायुसेवा कम्पनीहरु समस्यामा छन् ।

एकाध बाहेक संसारभरका अधिकांश वायुसेवा प्रदायकहरुले यतिबेला घाटाको व्यापार गरिरहेका छन् । निजी वायुसेवा कम्पनीले भरमार नाफा गरिरहेको बेला सरकारी स्वामित्वका वायुसेवा प्रदायकहरुले घाटाको व्यापार गरिरहेका छन् ।

थाई एयरदेखि क्याथे प्यासिफिसम्मले घाटाको व्यापार गरिरहेका छन् । तर, निजी क्षेत्रका वायुसेवा प्रदायकहरुले भने घाटा खानु परेको छैन ।

भारतीय नागरिकले रगत र पसिना कटाएर स्थापना गरेको साम्राज्य हेर्दा हेर्दै निजी क्षेत्रको पोल्टामा पुगेको छ । यो दुःखद् दृश्य १ अर्ब ३५ करोड भारतीयले टेलिभिजनका दृश्यमा नमीठो मानेर हेरिरहे । तर देखिने गरी प्रतिक्रिया जनाउन सकेनन् ।

भारतका हाल सञ्चालनमा रहेका अधिकांश वायुसेवा प्रदायकको हिस्सा राम्रै छ । खासमा निजी क्षेत्रको इण्डिगोको हिस्सा ४८ प्रतिशत छ । यस्तै, स्पाइसजेटको १६ प्रतिशत छ ।

यस्तै एयर इण्डियाको हिस्सा ११ प्रतिशत छ । गो एयरको ११, एयर एशियाको ७ प्रतिशत, भिस्ताराको ६ र अन्य वायुसेवा प्रदायकको हिस्सा १ प्रतिशत छ ।

कूल १८ हजार करोड भारुमा टाटा समूहले एयर इण्डिया लिएको छ । निजी क्षेत्रका वायुसेवा प्रदायकले राम्रो व्यवसाय गरिरहेको बेला सरकारी स्वामित्वको एयर इण्डिया भने दिन दुई गुणा, रात चार गुणाको दरमा ओरालो लागेको थियो ।

तदर्थवादमा रमाउने व्यवस्थापन, कामचोर कर्मचारी, राजनीतिक हस्तक्षेप तथा अन्य विभिन्न कारणले भारतीय ध्वजावाहक हेर्दा हेर्दै निजी क्षेत्रको पोल्टामा पुगेको छ ।

यो यस्तो समयमा भएको छ कि सेयर बजारका बादशाह मानिएका राकेश झुनझुनवालाले नयाँ विमान कम्पनी आकाशा ल्याउने तयारी गरिरहेको बेला भएको छ । गत अक्टोवरमा टाटा समूहले एयर इण्डियाको बोली लगाएको बेला नै प्रख्यात लगानीकर्ता राकेशलाई आकाशा उडाउनका लागि नो अब्जेक्शन लेटर दिइएको थियो ।

एकातिर सरकारी कम्पनी निजीकरण गर्ने , अर्कोतर्फ निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनीलाई विमान चलाउने अनुमति दिने काम एकै पटक भएको थियो ।

विवरण अनुसार आकाशाले आगामी मेदेखि उडान गर्न शुरु गर्नेछ । सेप्टेम्बर २०२१ म जेट सेट गो नामक कम्पनीले पनि २०२४ देखि उडान भर्ने गरी तयारी गरेको विवरण सार्वजनिक भएको थियो ।

झुनझुनवालाले आकाशा एयरका लागि ७२ वटा बोइङ ७३७ म्याक्स जेटको अर्डर दिएका छन् । यो अर्डर दुवईमा भएको एयर शोमा दिइएको थियो । ती विमानको कूल लागत ९ अर्ब डलर बराबर छ । विमानको डेलिभरी यसै वर्षदेखि शुरु हुनेछ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत वनय दुवेका अनुसार ७३७ म्याक्स विमानका कारण किफायती एयरलाइन्स चलाउने हाम्रो लक्ष्यमा सहयोग गर्नेछ । आकाशा एक मैत्रीपूर्ण विमान कम्पनी हुनेछ ।

उनका अनुसार सन् २०२३ सम्म सो कम्पनीका साथमा कूल १८ विमान हुनेछ । त्यसको एक वर्षपछि थप १८ वटा विमान हुनेछ । आगामी ५ वर्षभित्र कूल ७२ विमान हुनेछन् ।

उनका अनुसार कम्पनीले बजेट एयरलाइन्स चलाउनेछ । राम्रो सेवा दिने कम्पनीको लक्ष्य छ । आगामी जुनदेखि व्यवसायिक उडान थाल्ने आकाशाको तयारी छ ।

कम्पनीले शुरुवाती चरणमा मुम्बई, दिल्ली, बेंगलुरुमा सेवा दिनेछ । कम्पनीले अन्तर्राष्ट्रिय उडानमा पनि हात हाल्ने तयारी गरेको छ । छिमेकी देशहरुमा उडान भर्ने योजना उनले सुनाए । यस्तै दक्षिण एशिया र मध्यपूर्वका देशमा समेत सेवा बिस्तार गर्ने योजना उनले सुनाए ।

विवरण अनुसार सन् २००९ देखि १० को बीचमा एयर इण्डियाको घाटा बढेर १२ हजार करोड भारु बराबर पुगेको थियो । घाटाको खास कारण भने सन् २००५ मा १११ विमान खरिद गर्नु नै थियो । उक्त डिलमा मात्रै ७० हजार करोड खर्च भएको थियो ।

निजी क्षेत्रका विमान कम्पनीले अनेकन स्किम ल्याएर सेवा विस्तार गर्दा एयर इण्डिया भने चुपचाप बस्दा समस्या देखा परेको थियो ।

निजी वायु सेवा कम्पनीका विमानले एक दिनमा १४ घण्टासम्म उडान भर्दा एयर इण्डियाको विमानले मात्रै १० घण्टा उडान भर्ने गरेको थियो । यस्तै, घाटा हुने क्षेत्रमा एयर इण्डियाका बढी उडान थिए ।

यस्तै, एयर एण्डियाले पाँच तारे होटल ताजबाट ल्याइएको खाना यात्रुलाई दिने गरेको थियो । ताजको क्याटरिङले उपलब्ध गराउने खानाका कारण पनि विमान अरुभन्दा फरक थियो । जबकी निजी क्षेत्रका विमान कम्पनीले केवल पानी मात्रै निःशुल्क दिन्थे । एयर इण्डियाले अब पनि खाना र खाजा भने निशुल्क नै दिने बताएको छ ।

दोस्रो विश्व युद्धपछि भारतमा सामान्य रुपमा उडान शुरु भएको थियो । सोही समयमा नै यसको नाम एयर इण्डिया राखिएको थियो । यो सार्वजनिक क्षेत्रको कम्पनीका रुपमा स्थापना भएको थियो । १९४७ मा भारत स्वतन्त्र भयो ।

त्यसपछि एक राष्ट्रिय एयरलाइन्सको आवश्यकता महशुस भयो । भारत सरकारले त्यसमा ४९ प्रतिशतको हिस्सेदारी लिएको थियो । त्यसपछि भारत सरकराले १९५३ मा एयर कर्पोरेशन एक्ट पारित गरेको थियो । त्यसपछि टाटा समूहबाट सो कम्पनीको सबैभन्दा बढी सेयर सरकारले लिएको थियो । यसै प्रकारले सो कम्पनी पूर्णरुपमा सरकारी कम्पनी बन्न गयो ।

सन् १९३३ मा टाटा एयरलाइन्सले नै यात्रु लिएर पहिलो उडान भरेको थियो । टाटाले कूल २ लाख भारुको लगानीमा सो कम्पनी स्थापना गरेको थियो । खासमा १९३२ को अप्रिलमा एयर इण्डियाको स्थापना भएको थियो । सो कम्पनीको स्थापना उद्योगपति जेआरडी टाटाले गरेका थिए । शुरुमा सो कम्पनीको नाम टाटा एयरलाइन्स नै थियो ।

एयर इण्डियाको कूल २३ हजार करोड भारु बराबरको ऋण अब टाटा समूहले नै तिर्नुपर्नेछ । सो एयरलान्सको आन्तरिक रुपमा ४४०० ल्याण्डिङ र पार्किङ स्लट छ भने अन्तर्राष्ट्रिय रुपमा १८०० वटा ल्याण्डिङ र पार्किङ स्लट छन् ।

आफैले स्थापना गरेको एयर इण्डिया आफैले लिन पाउँदा खुसी लागेको भन्दै टाटा सन्सका अध्यक्ष एन चन्द्रेशखरले खुसी व्यक्त गरेका छन् ।

उनले सेवामा पनि व्यापक सुधार ल्याउने र सफल विमान कम्पनी बनाउने बताएका छन् । यस्तै, स्टेट बैंकले जति ऋण चाहिन्छ, त्यो चन्द्रशेखरनलाई दिन तयार रहेको बताएको छ । कम्पनीले सबै यात्रीलाई राम्रोभन्दा पनि राम्रो सेवा दिने बताएको छ ।


क्लिकमान्डु