
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नोटबन्दी नगर्ने बताएका छन् । सामाजिक सञ्जाल ‘एक्स’मा एक प्रयोगकर्ताको सुझावमा जवाफ दिँदै वाग्लेले वर्तमान सरकार नोटबन्दीको बाटो रोज्ने पक्षमा नरहेको बताएका हुन् ।
‘एयरलाइन गाई’ नामक एक एक्स प्रयोगकर्ताले डा. वाग्ले र अर्थ मन्त्रालयलाई ट्याग गर्दै सस्तो लोकप्रियताका लागि सन् २०१६ मा भारतले गरेजस्तो ‘डिमोनिटाइजेसन’ (नोटबन्दी)को बाटो नलिन सुझाव दिएका थिए ।
नोटबन्दीले काम नगर्ने, त्यसले गरिबलाई पीडा दिने र राष्ट्रलाई ठूलो आर्थिक क्षति पुर्याउने भन्दै ती प्रयोगकर्ताले नोटबन्दी नगर्न सुझाव दिएका थिए । अर्थमन्त्री वाग्लेले त्यसको संक्षिप्त जवाफ दिदै ‘हामी गर्दैनौ’ भनेर उत्तर दिएका छन् ।

केही समय यता नेपालमा व्याप्त भ्रष्टाचार र ‘कालो धन’ नियन्त्रण गर्नका लागि ५०० र १००० रुपैयाँका ठूला दरका नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बहस चलिरहेको छ ।
विशेषगरी जेन–जी आन्दालेनका क्रममा केही शिर्ष नेताका घरमा ठुलो मात्रामा नोटहरु जलेका थिए । त्यसपछि नोटबन्दीको बहस उठेको थियो ।
रास्वपा नेतृत्वमा सरका गठन भएसँगै अर्थतन्त्रमा केही साहसिक कदम चालिने अपेक्षाकाबीच नोटबन्दीको हल्लाले बजारमा आशंका पैदा गरेको थियो । स्थानीयस्तरमा नोटबन्दी हुने चर्चा बढ्दै गएको सन्दर्भमा अर्थमन्त्री वाग्लेले भने सरकार नोटबन्दी गर्नेतर्फ नलाग्ने बताएका छन् ।








प्रतिक्रिया