कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्तिः १ करोड बढी बैंकमा, कुन कम्पनीको सेयरमा कति लगानी ?



काठमाडौं । कर्णाली प्रदेशमा मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार विभिन्न तीन वटा कम्पनीमा सेयर लगानी रहेको देखिएको छ ।

शाहीले आफ्नो नाममा चिलिमे हाईड्रोपावरको २६ सय कित्ता साधारण सेयर खरिद गरेको देखिएको छ । यस्तै ज्योति विकास बैंकको संस्थापक सेयर १० हजार कित्ता रहेको छ । उनले सार्वजनिक गरेको विवरण अुनसार कृषि विकास बैंकको ४०० कित्ता साधारण सेयर रहेको छ ।

शाही तथा उनका परिवारको नाममा विभिन्न बैंक, सहकारी संस्थाहरुमा १ करोडभन्दा बढी बचत रहेको देखिएको छ । शाहीको नाममा सिटिजन्स बैंकमा पारिश्रमीकबाट पाएको २५ लाख रुपैयाँ, सानिमा बैंकमा ३८ लाख, एनआईसी एशिया बैंकमा १४ लाख, शुभचिन्तक सहकारीमा ६ लाख रुपैयाँ रहेको देखिएको छ । शाहीले २०५० सालदेखि नै सहकारीमा बचत गर्ने गरेका रहेछन् ।

यस्तै बसन्ती शाहीको नाममा शुभ चिन्तकमा ६ लाचख, सिटिजन्स बैंकमा १५ लाख र एसबीआई बैंकमा १६ लाख रुपैयाँ रहेको छ । उनीसँग ५६ तोला सुन, २ किलो चाँदी रहेको छ । यस्तै उनीसँग सवारी साधनको नाममा ९५ लाखको कार मात्रै रहेको छ । सम्पति विवरण अनुसार हुम्लाको सिमकोट ६ मा ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा ३३०.७५ क्षेत्रफल, वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा ५४८.२५ क्षेत्रफलमा घर रहेको देखिएको छ ।

हुम्ला, बाँँके र काठमाडौंको चन्द्रागिरिमा जग्गा रहेको छ । घर जग्गा सबै पुर्ख्यौली सम्पत्ति, जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख छ । शाहीको घर जग्गाको साथै चौँरी, जुमा, गाई, गोरु १२ वटा, घोडा २ वटा र भेडाबाख्रा ५० वटा रहेको छ ।


क्लिकमान्डु