राष्ट्र बैंकको मार्जिन नीति प्रभावः करिब २ अर्बले घट्यो आयात



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि ती आयात वस्तुको आयात घटेको छ ।

राष्ट्र बैंकले गत पुस ५ गते परिपत्र जारी गर्दै १८ वटा वस्तुको आयातमा प्रतितपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने र २ वटा वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

विगतमा बैंक तथा वित्तिय संस्थाले दिने कर्जाका आधारमा एलसी खोलिन्थ्यो । बढ्दो आयातको कारण विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने नीति अपनाएको थियो ।

राष्ट्र बैंकले चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामाग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामाग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृतिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको हो ।

साथै, गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको थियो । उक्त २० वटा वस्तुमा लागू गरेको मार्जिनको नीतिको प्रभाव देखिन थालेको छ ।

गत पुसको शुरुवातीमै लागू गरेको २० वटा वस्तुमा लागू गरेको मार्जिनले पहिलो महिनामै करिब २ अर्बले आयात घटेको छ । आयात घट्दा राष्ट्र बैंकले अपनाएको नीतिको प्रभाव देखिएको हो ।

कात्तिकसम्ममा मार्जिन लागू गरेको २० वस्तु ६४ अर्ब १५ करोडको ५७ लाख रुपैयाँको आयात भएको थियो । त्यस्तै, मंसिरसम्ममा ७६ अर्ब ५९ करोड ९३ लाख रुपैयाँको आयात भएको थियो भने पुससम्ममा सो वस्तु ८७ अर्ब २४ करोड ६२ लाख रुपैयाँको आयात भएको भन्सार विभागको भनाइ छ ।

सो अवधिमा मंसिरमा १२ अर्ब ४४ करोड २२ लाखको २० वटा वस्तु आयात भएको थियो । तर, पुसको शुरुवातीमै लागू गरेको मार्जिनको व्यवस्थाले करिब २ अर्ब रुपैयाँले आयातमा कमी आएको छ । पुस महिनामा १० अर्ब ६४ करोड ६८ लाख रुपैयाँको आयात तथ्याङ्कले उल्लेख गर्दछ । जसमा पुस महिनामा १ अर्ब ७९ करोड ५४ लाख रुपैयाँको कम वस्तु आयात भएको छ ।

उक्त वस्तुहरूमा केहीको आयात बढेको छ भने केही वस्तुको आयातमा कमी आएको छ । राष्ट्र बैंकले कडाई गरेको ल्याङमा पु्स महिनामा १ लाख २२ हजार रुपैयाँले बढी आयात भएको छ । मंसिरको तुलनामा पुसम सो रकम बराबरको आयात कम भएको हो । मंसिरमा ८० लाख रुपैयाँको आयात भएकोमा पुसमा ८१ लाख रुपैयाँको आयात भएको छ ।

त्यस्तै, मार्जिनका कारण चिनीलगायत सख्खर आयातमा भने उच्च गिरावट आएको छ । मंसिर महिनाको तुलनामा पुसमा १५ करोड ७६ लाख रुपैयाँ २२ हजार रुपैयाँको आयात कम भएको छ ।

वाइन, ह्वीस्की र मिनिरल वाटर आयातमा भने पुसमा १३ करोड ३ लाख रुपैयाँले वृद्धि भएको छ भने सुर्ती तथा चुरोटको आयात पनि १५ करोड ६५ लाख ९८ हजार रुपैयाँले आयात बढेको छ ।

त्यसैगरी, पुसमा परफ्यूम र ट्वाइलेट वाटर १ करोड ४ लाख १३ हजार रुपैयाँ, सौन्दर्य सामग्री १७ करोड २८ लाख १८ हजार रुपैयाँ, कपालमा प्रयोग हुने क्रिम तथा स्याम्पो ९ करोड १९ लाख रुपैयाँको कम आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

काठलगायत यससम्बन्धी सामग्री आयातमा भने बढेको छ। जसमा पुस महिनामा मंसिरको तुलनामा ३ करोड ५ लाख ६९ हजार बढीको आयात भएको छ ।

जुत्ता तथा जुत्ता बनाउने सामग्री आयात पुस महिनामा ४० करोड ४१ लाख ८२ हजार रुपैयाँ, टोपीलगायत टाउको ढाक्न प्रयोग हुने विभिन्न वस्तु ९ करोड ७५ लाख ५५ हजार रुपैयाँ, छाता र छडी ३० लाख ४७ लाख, आइब्रो तथा नक्कली कपालका वस्तु २७ लाख ४२ हजार रुपैयाँ, मार्बल, माइलस्टोन्स र घर बनाउनका आवश्यक ब्लक २१ करोड ८१ लाख ८१ हजार रुपैयाँ, इँटा, ब्लक, सेरामिक वस्तु ४५ करोड १९ लाख ७९ हजार, बोतल १ करोड ६७ लाख ११ हजार र चाँदी तथा चाँदीका धुलोमा ४३ करोड ९ लाख ६३ हजार रुपैयाँले आयातमा कम भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, सवारीसाधन (विद्युतीयबाहेक) १९ करोड २१ लाख ८४ हजार रुपैयाँ, मोटरसाइकल ४ करोड ८५ लाख ११ हजार र तास २ करोड ७८ लाख ३० हजार रुपैयाँको कम आयात भएको छ । तर, फर्निचरलगायतका अन्य सामानमा भने १८ करोड २१ लाख ९१ हजार रुपैयाँले बढी आयात भएको छ ।


क्लिकमान्डु