वैदेशिक रोजगारमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा सहजीकरण गर्न बोर्डको आग्रह



काठमाडौँ । वैदेशिक रोजगारीमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यका लागि सहजीकरण गर्न स्वास्थ्य बीमा बोर्डले अनुरोध गरेको छ ।

बोर्डले एक सूचनामार्फत सातै प्रदेशका प्रदेश संयोजक, प्रदेश शाखा कार्यालय र जिल्ला संयोजक, सम्पर्क शाखा कार्यालयलाई उक्त कार्यक्रमका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।

स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई अनिवार्य रुपमा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउनका लागि अभ्यास गर्दै छ ।

सोही कार्यक्रमका आवश्यक सहयोग, सहजीकरण एंव समन्वयन गर्नका लागि बोर्डले आग्रह गरेको हो ।

नेपालको संविधानको धारा (५१) को उपधारा ज(१५) मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ भनी उल्लेख भए बमोजिम समेतको कार्यान्वयनका लागि बीमा ऐन, २०७४ को दफा(३) को उपदफा(४) मा ‘वैदेशिक रोजगारमा जाने कामदारको लागि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने छ’उल्लेख छ ।

स्वास्थ्य बीमा ऐनमा व्यवस्था भएबमोजिम नै वैदेशिक रोजगारीमा जाने प्रत्येक कामदारले परिवारको अनिवार्यरुपमा बीमा गर्नुपर्ने कार्यक्रम अघि ल्याएको हो ।

बोर्डले स्वास्थ्य बीमा नियमावली, २०७५ एंव वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि, २०७८ जारी गरेको हो ।

बोर्डका अनुसार उक्त कार्यविधि यसै महिनादेखि लागू हुने छ । श्रम विभागसँगको समन्वयनमा उक्त कार्यविधि कार्यान्वयनमा ल्याउने भएको हो ।

कामदारले श्रम स्वीकृति लिने समयमा नै स्वास्थ्य बीमामा आबद्ध भएको प्रमाण पेस गर्नुपर्नेछ ।

वैदेशिक रोजगारीमा जाने कामदारका परिवार अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेछ  ।


क्लिकमान्डु