ऐतिहासिक ठाउँ, संरचना र बस्तुको संरक्षणबाट काठमाडौँको इतिहास जीवन्त रहन्छः मेयर शाक्य



काठमाडौं । आजदेखि हारतीमाता (अजिमा द्यः) देवता घरको पुनर्निर्माण थालिएको छ ।

काठमाडौँ महानगरपालिका–२५ श्रीघ विहार, शान्तिघट बज्रधातु चैत्य महाविहार परिसरमा रहेको मन्दिरको महानगरका मेयर विद्यासुन्दर शाक्यले शिलान्यास गरेर पुनर्निर्माणको काम शुरुवात गरेका छन् ।

पुनर्निर्माणका लागि महानगरले १ करोड रुपैयाँ उपलब्ध गराउनेछ । यसमा शान्तिघट बज्रधातु चैत्य महाविहार संरक्षण समितिले उपभोक्ताकातर्फबाट ५ प्रतिशत रकम थप गरेर पुनर्निर्माण गर्नेछ ।

शिलान्यासपछि मेयर शाक्यले, काठमाडौँको इतिहासलाई जीवन्त बनाइराख्न प्राचीन स्मारकहरुको मर्मत, सम्भार, जीर्णोद्धार र पुननिर्माणलाई नीतिगत प्रबन्ध, बजेट र कार्यक्रमबाट काम गरिरहेको बताए । ‘काठमाडौँ प्राचीन सांस्कृतिक र ऐतिहासिक सहर हो । यसको पहिचानलाई दिगो बनाइ राख्न, सहरमा भएका स्मारकहरुलाई यथावत राख्नुपर्छ ।

त्यसैले हामीले जीवन्त सांस्कृतिक सहरको पहिचान जोगाउन समुदाय, पुजारी र गुठीयारहरुसँग सहकार्य गरिरहेका छौँ’ हारती माता देवघर पुननिर्माणको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने, ‘मन्दिरका काठहरु मक्काएका थिए । पर्खाल कमजोर भएको थियो । त्यसैले परम्परागत निर्माण सामग्रीको प्रयोग गरेर पूर्ववत स्वरुप र शैली हुने गरी उपभोक्ता, गुठीयार र पुजारीहरुसँगको सहकार्यमा पुननिर्माण थालेका हौँ ।’

समितिका पदाधिकारीका अनुसार मन्दिर करीब ३ सय बर्ष पुरानो हो । यसको पुननिर्माण आजभन्दा करीव १ सय ५६ बर्ष अघि एक पटक भएको अभिलेख पाइन्छ । १९९० सालको भूकम्पको धक्का व्यहारेको मन्दिरलाई २०७२ सालको भूकम्पले कमजोर बनाएको थियो ।


क्लिकमान्डु