राजस्व उठाउन सरकार असफल, दोब्बर राजस्व बनाउने अर्थमन्त्रीको गफमात्रै




काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसार राजस्व संकलन गर्न सरकार असफल भएको छ ।

अर्थ मन्त्रालयले पुष मसान्तसम्म ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो ।चालु आर्थिक वर्षको ६ महिनमा लक्ष्य भन्दा २१ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ ।

तर, क्लिकमाण्डुलाई प्राप्त राजस्व संकलनको प्रारम्भिक तथ्यांक अनुसार सरकारले पुष मसान्तसम्म ५ खर्ब ३८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन गर्न सकेको छ । ६ महिनामा लक्ष्य भन्दा २१ अर्ब रुपैयाँ कम राजस्व संकलन भएपनि कोरोना महामारीले अर्थतन्त्रमा असर नपारे सरकारले लक्ष्य अनुसार नै राजस्व उठाउने अर्थमन्त्री जनार्दन शर्माले दाबी गर्दै आएका छन् ।

यो वर्ष सरकारले ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

भन्सार लक्ष्य भन्दा बढी, उठेन आन्तरिक राजस्व र गैरकर

सरकारले यो वर्ष पुष मसान्त सम्म भन्सार विभागलाई २ खर्ब ६२ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा विभागले २ खर्ब ७० अर्ब रुपैयाँ संकलन गरेको विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार पुष महिनामा नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्ने गरि नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेकाले आयातमा गिरावट आउँदा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको हो ।

विभागलाई पुष महिनामा ४५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य दिइएकोमा प्रारम्भिक तथ्यांक अनुसार विभागले ४३ अर्ब रुपैयाँ संकलन गर्न सकेको छ ।

भन्सार विभागले पुषमसान्तसम्म लक्ष्य भन्दा ८ अर्ब रुपैयाँ बढी राजस्व संकलन गर्दा आन्तरिक राजस्व विभागले भने लक्ष्य भन्दा करिब १७ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ ।

विभागलाई पुष मसान्त सम्म २ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने जिम्मेवारी दिइएकोमा सो अवधिमा विभागले २ खर्ब २४ अर्ब रुपैयाँमा संकलन गर्न सकेको हो ।

विभागले आन्तरिक तर्फको अन्तशुल्क र स्वास्थ शुल्क लक्ष्य अनुसार संकलन गर्दा आयकर, घरबाहल कर, मुल्य अभिबृद्धि कर, शिक्षा सेवा शुल्क लक्ष्य अनुसार संकलन गर्न सकेन् ।

यस्तै सरकारले ५६ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा प्रारम्भिक तथ्यांक अनुसार पुष मसान्त सम्म ४४ अर्ब रुपैयाँ संकलन भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले लगातार राजस्वको बृद्धिदर दोब्बर बनाउने दाबी गर्दै आए पनि सरकार लक्ष्य अनुसार राजस्व उठाउन असफल देखिएको हो ।

लक्ष्य अनुसार राजस्व संकलन नहुने भएपछि गत साता अर्थमन्त्रालयका आयोजित उच्चतहका कर्मचारी सँगको बैठकमा अर्थमन्त्री शर्माले सबै कर्मचारीको जिम्मेवारी परिवर्तन गर्ने चेतावनी दिएका थिए ।

राजस्व दोब्बर पार्ने आफ्नो लक्ष्य पुरा हुने गरि कार्ययोजना ल्याउन निर्देशन दिदैँ जसरी पनि असार मसान्तसम्म लक्ष्य अनुसार राजस्व उठाउनु पर्ने बताएका थिए ।

शर्माको निर्देशन पछि अर्थ सचिव मधु मरासिनीले व्यवसायीलाई फोन गर्दै बढी राजस्व दाखिला गरिदिन आग्रह समेत गरेका थिए । ठूला करदाताले वाणिज्य बैंकसँग कर तिर्न अनुरोध गर्दै छलफल समेत गरेको थियो ।

तर, पनि सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको हो ।


क्लिकमान्डु