पोखरामा अपार्टमेन्ट र हाउजिङको लहर, बन्दैछन् यी प्रोजेक्ट



काठमाडौं । पर्यटकीय नगरी पोखरामा पछिल्लो समयमा अपार्टमेन्ट र हाउजिङ परियोजनाले तीव्रता पाएको छ । पछिल्लो समय मोफसलमा अपार्टमेन्ट र हाउजिङ परियोजना फस्टाउँदै जाँदा यसको प्रभाव पोखरामा परेको छ ।

पोखरा एक सुन्दर पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ । त्यसैले, स्वदेशी तथा विदेशी भ्रमण गर्ने प्रमुख गन्तव्य बनेको छ । जसले गर्दा उक्त क्षेत्रको विकास पनि तीब्र रुपमा हुँदै गएको छ । साथै, पोखरा केन्द्रित तारे होटलसँगै हाउजिङ र अपार्टमेन्टको माग भएपछि डेभलपरहरूले तीब्र रुपमा परियोजना शुरु गरेका छन् ।

सुनगाभा अपार्टमेन्ट
पोखराको फूलबारीमा सुनगाभा अपार्टमेन्ट निर्माण गर्ने भएको छ । सद्भावना हाउजिङ डेभलपर्स प्रालिले पोखराको फूलबारीमा कुल ७ रोपनी १० आना क्षेत्रफलमा अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेको हो ।

कम्पनीका एक कर्मचारीले ७ रोपनी क्षेत्रफलमा २ तल्ला बेसमेन्टसहित १२ तल्लाको अपार्टमेन्ट निर्माण गर्ने भएको जानकारी दिए । कम्पनीले आगामी फेब्रुअरीबाट निर्माण कार्य अगाडि बढाउने भएको छ ।

कम्पनीले निर्माण कार्य शुरु भएको साढे २ वर्षभित्रमा अपार्टमेन्ट तयार पार्ने लक्ष्य लिएको छ । जसमा आगामी सन् २०२४ को अन्त्यसम्म अथवा २०२५ को शुरुवातमा निर्माण कार्य सम्पन्न गर्ने कम्पनीको दाबी छ ।

कम्पनीले पोखराको फूलबारीका ५२ वटा युनिटको अपार्टमेन्ट निर्माण गर्ने भएको हो । उक्त अपार्टमेन्टमा २ र ३ वटा बेडरुम भएको अपार्टमेन्ट निर्माण गर्ने कम्पनीले जनाएको छ । जसमा अधिकांश ३ वटा बेडरुम भएको अपार्टमेन्ट निर्माण हुनेछ ।

कम्पनीले सो अपार्टमेन्टमा बसोबास गर्न चाहनेका लागि साढे २ करोडदेखि साढे ३ करोड रुपैयाँ मूल्य तोकेको छ । कम्पनीले सबैभन्दा सानोभन्ने अपार्टमेन्ट पनि १४ सयदेखि १६ सय स्क्वायरफिटमा निर्माण गर्ने भएको छ ।

हालसम्ममा कम्पनीले २३ वटा युनिट बिक्री भइसकेको छ ।

कम्पनीले सो अपार्टमेन्टमा विभिन्न सेवा सुविधाको व्यवस्था गरेको छ । जसमा जिम हल, स्वीमिङ पुल, २४ घण्टा सिसिक्यामरा र सुरक्षा गार्डलगायत अन्य सेवा सुविधाको व्यवस्था गरेको छ ।

लभ्ली हिल्स रेसिडेन्सी
पोखराको पस्र्याङ ५ मा ह्वाइट हर्स डेभलपरले अपार्टमेन्टसहित हाउजिङ निर्माण गरिरहेका छन् । कम्पनीले ‘लभ्ली हिल्स रेसिडेन्सी’ नाम दिई अपार्टमेन्टसहित हाउजिङको निर्माण गरेको हो ।

कम्पनीले १० रोपनी क्षेत्रफलमा निर्माण कार्य अगाडि बढाएको जनाएको छ । सो क्षेत्रफलमा २ वटा टावर भएको अपार्टमेन्ट ‘ट्वीन बिल्डिङ’ र १२ वटा घर निर्माण गरिरहेको कम्पनीका बजार प्रबन्धक लाला गुरुङले बताए ।

कम्पनीले २ वटा अपार्टमेन्ट बिल्डिङमा ४६ वटा युनिट र १२ वटा घर निर्माण गर्ने भएको हो । जसमा कम्पनीले अपार्टमेन्टको फिनिसिङको कार्य गरिरहेका छन् भने १२ वटा घरमध्ये ५ वटा निर्माण गरिसकेका छन् ।

कम्पनीले बेसमेन्ट पार्किङसहित १० तल्लाको अपार्टमेन्ट निर्माण गरेको हो । गुरुङकाअनुसार सो निर्माण भएको ट्वीन अपार्टमेन्टमा २३÷२३ वटा युनिटको निर्माण भएको छ ।

जसमा कम्पनीले तीन थरी युनिट भएको अपार्टमेन्ट तयार गरेको छ । कम्पनीले ट्वीन अपार्टमेन्टमा १ वटा बेडरुम, २ वटा बेडरुम र ३ वटा बेडरुम गरी तीन प्रकारका निर्माण भएको उनले जानकारी दिए ।

कम्पनीले ३ वटा बेडरुम भएको ८ वटा, २ वटा बेडरुमको २२ वटा युनिट र १ वटा बेडरुम भएको १४ वटा निर्माण गरेका छन् । साथै, माथिका १०औं तल्लामा २ प्लेक्स गरी २ वटा युनिटको हुने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रति स्क्वायरफिटको मूल्य १५ हजार रुपैयाँ तोकेको छ । जसमा कम्पनीले ५ सय स्क्वायरफिटदेखि १५ सय स्क्वायरफिटमा अपार्टमेन्ट निर्माण गरेको छ । हालसम्म अपार्टमेन्टको ५० प्रतिशत बिक्री भइसकेको छ भने हाउजिङ भने ३ वटा भने बिक्री भइसकेको छ ।

कम्पनीले निर्माण गरेको अपार्टमेन्टसहित हाउजिङमा विभिन्न सेवा सुविधाको व्यवस्था गरेको छ । कम्पनीले स्वीमिङ पुल, क्लबहाउसहित सौउना, जिम हल, ब्याडमिन्टन कोर्ट, सिसिक्यामरा र २४सै घण्टा पानीको व्यवस्था हुनेछ । साथै, व्यक्तिगत पार्किङको व्यवस्था, खुल्ला क्षेत्र, अन्डरग्राउण्ड तार र बालबच्चाहरूको लागि छुट्टै खेल्ने ठाउँको व्यवस्था रहेको उनले बताए ।

अन्नपूर्ण अपार्टमेन्ट
पोखरामै व्यवसायी कालु गुरुङको कम्पनी रोड शो रियलस्टेटले २ वटा अपार्टमेन्ट निर्माण गर्दैछ । यसअघि दीप अपार्टमेन्टको नामबाट एउटा अपार्टमेन्ट निर्माण गरिसकेको कम्पनीले थप दुई वटा अपार्टमेन्टको कार्य अगाडि बढाएको छ । कम्पनीले पोखरामा दीप हाउजिङमा १०८ घरसहित ४० युनिटको अपार्टमेन्ट निर्माण गरिसकेको छ ।

हाल कम्पनीले अन्नपूर्ण अपार्टमेन्टको नाममा सेदीबगर र मासबारमा २ वटा अपार्टमेन्ट निर्माण गरिरहेका छन् ।

त्यस्तै, कम्पनीले मासबारमा २ रोपनी क्षेत्रफलमा निर्माण गरिरहेको छ भने सेदीबगर हाइटमा निर्माण भइरहेको अपार्टमेन्ट ६ रोपनीमा निर्माण गरिरहेका छन् ।

जसमा कम्पनीले २दुई वटा अपार्टमेन्टमा १०१ वटा युनिटको अपार्टमेन्ट निर्माण गर्नेछ । कम्पनीले सो आपर्टमेन्टको मूल्य न्यूनतम ९८ लाखदेखि करिब दुई करोड रुपैयाँसम्म तोकेको छ । कम्पनीले सो अपार्टमेन्टको मूल्य प्रति वर्गफिट १८ हजार ५ सय रुपैयाँ तोकेको छ ।

अपार्टमेन्टमा स्वीमिङ पुल, जिमखाना, कफी शप, साउना लगायत सुविधाहरु हुनेछ ।

पोखरा रेसिडेन्सी अपार्टमेन्ट
त्यस्तै, कम्फर्ड गुडविल डेभलपर्स प्रालीले तेर्सापट्टीमा १० तलाको अपार्टमेन्ट निर्माण गरेको छ । कम्पनीले साढे ६ रोपनी क्षेत्रफलमा ‘पोखरा रेसिडेन्सी अपार्टमेन्ट’मा निर्माण गरेको हो । कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ लगानीमा उक्त अपार्टमेन्ट निर्माण गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सो अपार्टमेन्टमा १०७ वटा युनिट भएको जनाएको छ । अपार्टमेन्टमा २ बेडरुम, ३ बेडरुम र ४ बेडरुमको मूल्य १ करोड ३० लाखदेखि साढे २ करोडसम्म मूल्य तोकेको छ ।

कम्पनीले अपार्टमेन्टमा ४ वटा लिफ्ट, २ वटा स्टेयरकेस, ५ वाट स्थानबाट आगो लाग्दा बाहिर निस्किने ठाउँको व्यवस्था, ११६ वटा कार पार्किङ गर्न सक्ने, सामुदायिक हल, जिम हल, योगा हल, सौना, २४सै घण्टा सिसिटीभीको सुविधाको व्यवस्था गरेको छ । साथै, गार्डेनको पनि व्यवस्था हुनेछ ।

फेवा प्रिन्स रेसिडेन्सी
लामो समयदेखि रियलस्टेटमा काम गर्दै आएका सीई कन्स्ट्रक्सनले पनि पोखरा केन्द्रित हाउजिङ र अपार्टमेन्ट निर्माण गर्ने भएको छ । कम्पनीले पोखरामा फेवा प्रिन्स रेसिडेन्सीसँगै ‘लेक भ्यू अपार्टमेन्ट निर्माण गर्ने भएको हो । हालसम्ममा कम्पनीले जग्गालगायत नीतिगत कार्यको काम अगाडि बढाइरहेको कम्पनीले जनाएको छ ।

बी एण्ड लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेन्ट
पोखराको सेदीमा बिमल बसेललगायतका लगानीकर्ताको ‘बी एण्ड लेक भ्यू रिसोर्ट एण्ड अपार्टमेन्ट’ निर्माण कार्य शुरु भइससकेको छ । उक्त अपार्टमेन्ट ११ तलेको निर्माण हुनेछ ।

शुरुमा छुट्टाछुट्टै ६ वटा १८ तले अपार्टमेन्ट निर्माण गर्ने योजना अगाडि सारे पनि ११ तलाको मात्रै नक्सा पास भएकाले सोहीअनुसार निर्माण अघि बढाइएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक बिमल बसेलका अनुसार शुरुमा ८ अर्ब रुपैयाँ लगानीमा ४ सय ६४ वटा अपार्टमेन्ट निर्माण गर्ने लक्ष्य लिइए पनि निर्माण अनुमति स्वीकृत नहुँदा ११ तला मात्रै निर्माणको काम शुरु भइसकेको छ । जसकारण लगानी पनि घट्ने उनको भनाइ छ ।

उनका अनुसार पहिलो चरणमा करिब ६० वटा अपार्टमेन्ट तयार हुनेछन् । जसका लागि १ अर्ब रुपैयाँ लगानी हुनेछ ।

कुल ३३ रोपनी क्षेत्रफलमा ६ महिनाअघि शुरु भएको अपार्टमेन्ट निर्माणको डेढ वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।

कम्पनीले अपार्टमेन्टमा रुफटप रेष्टुराँ, सुपरमार्केट, ट्राभल सर्भिस, सैलुन, ब्यूटी पार्टल, स्पा, मनि एक्सचेञ्ज, लङ टेनिस कोर्ट, ब्याडमिन्टन कोर्र्ट, बलिङका साथै २ वटा स्वीमिङ पुल, ह्याङगिङ रेष्टुराँ, स्काइ थिएटर, किड्स प्ले ग्राउण्ड, लेक भ्यू योगा तथा कम्युनिटी हल तथा पर्याप्त मात्रामा पार्किङ सुविधा उपलब्ध हुनेछ ।


अरिष्मा मोक्तान