गोर्खाज फाइनान्समा लगानी गर्नेको सम्पत्ति ४०% ले घट्यो, लगानीकर्तामा किन बड्यो आकर्षण ?



काठमाडौं । गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी १५०० रुपैयाँसम्म पुगेको थियो । अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९४ रुपैयाँ पुगेको छ ।

कम्पनीको उच्च बिन्दुमा पुगेको मूल्य मंगलबारको तुलनामा ४०.४ प्रतिशतले कमी हो । उक्त कम्पनीको सेयर जसले १५०० मा किनेका थिए । ति लगानीकर्ताहरुको सम्पती अहिले ४०.४ प्रतिशतले घटेको छ ।

फाइनान्सको वित्तीय अवस्था धेरै सन्तोषजन छैन । लगानीकर्तालाई पनि राम्रो लाभांश दिएको छैन । तैपनि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण निकै बढिरहेको छ । अहिले कम्पनीको वित्तीय अवस्था बुझेर भन्दा पनि लहैलहैको भरमा लगानी गर्ने लगानीकर्ता बढिरहेको जानकारहरुको भनाइ छ ।

पछिल्लो समय क्लव हाउस लगायतका सामाजिक सञ्जालमा केही लगानीकर्ताले केही पुराना भनिएका लगानीकर्ताहरुले फाइनान्स कम्पनीको सेयर किन्नुस भन्दै उक्साउने गरेको र त्यसको प्रभाव यो कम्पनीमा पनि परेको देखिएको छ । कम्पनीको मूख्य सूचक धेरै प्रभावशाली नहुँदा पनि कम्पनीमा लगानीकर्ताको आकर्षण भने निकै देखिएको छ ।

अहिलेसम्म कम्पनीले आर्थिक वर्ष २०७१/०७२ मा ७ प्रतिशत बोनस सेयर दिएको थियो । त्यसपछि कुनै पनि लाभांश दिएको छैन । फाइनान्सले करिब ५ वर्षअघि २ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गरेको थियो ।

फाइनान्सले यो वर्ष पनि लगानीकर्ताको हात खाली बनाएको छ । अघिल्लो आवमा पनि लगानीकर्ताको हात खाली बनाएको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय अवस्था हेर्दा कम्पनीले लगानीकर्तालाई लाभांश दिनसक्ने अवस्था भने थियो ।

गत आवको वितरणयोग्य नाफाबाट कम्पनीले लगानीकर्तालाई ११.९३ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको थियो । तर पनि कम्पनीले लगानीकर्ताको हात खाली बनाएको छ ।

लाभांश दिन सक्ने कम्पनीमा पनि लगानीकर्ताको आकर्षण भने धेरैनै देखिएको छ । असार मसान्तसम्म कम्पनीको नाफा २० करोड १८ लाख ९६ हजार ३३७ रुपैयाँ रहेको थियो । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ऋणात्मक रहेको थियो ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३० करोड ४८ लाख ५८ हजार रुपैयाँबाट घटेर २१ करोड ५८ लाख ५६ हजार रुपैयाँ रहेको थियो । उक्त अवधिमा कम्पनीको अन्य सञ्चालन मुनाफा भने धेरै नै बढेको छ ।

अघिल्लो आवको चौथो त्रैमासमा ४५ लाख ५१ हजार रुपैयाँ रहेकोमा गत आवको सोही अवधिमा ९ करोड ७७ लाख १३ हजार रुपैयाँ पुगेको थियो । गत वर्ष कम्पनीले गरेको सेयर कारोबारले अन्य प्रकृतिको नाफा बढाउन सहयोग पुगेको देखिएको छ । गत आवको चौथो त्रैमाससम्म आइपुग्दा ऋणत्मक रहेको सञ्चालक मुनाफामा केही सुधार भने देखिएको छ । असार मसान्तसम्म कम्पनीको सञ्चालन मुनाफा ३२ करोड ८० लाख ८८ हजार रुपैयाँ रहेको थियो ।

८६ करोड ७९ लाख ९३ हजार ८ सय रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटर्न अर्निङ १० करोड ३६ लाख १६ हजार ३१२ रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७५ करोड ६४ लाख ५८ हजार ४५८ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा कम हो । अघिल्लो आवमा ७६ करोड ३२ लाख १ हजार ९८७ रुपैयाँ हेको थियो । असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २६ पैसा, प्रति सेयर नेटवर्थ २०१ रुपैयाँ ४४ पैसा रहेको थियो ।

यस्तै असोज मसान्तसम्म आइपुग्दा फाइनान्सको नाफा १ करोड ६५ लाख ७० हजार रुपैयाँ रहेको छ । कम्पनीको नाफा गत वर्षको भन्दा घटेको छ । गत वर्ष फाइनान्सको नाफा ६ करोड ५८ लाख ९१ हजार रुपैयाँ रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि घटको छ । सञ्चालन नाफा २४ लाख ७७ हजार रहेको छ । गत वर्ष ७ करोड ४१ लाख १४ हजार रहेको थियो ।

यस्तै सञ्चालन नाफा ९ करोड ४१ लाख ३० हजार रुपैयाँबाट घटेर २ करोड ७५ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीको अन्य प्रकृतिको सञ्चालन नाफा भने २२ लाख ५३ हजार रुपैयाँबाट बढेर १० करोड ७३ लाख ९१ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म आइपुग्दा कम्पनीको जगेडा कोषमा ७८ करोड ७२ लाख ८५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा रहेको फाइनान्सको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७६ पैसा रहेको छ ।


क्लिकमान्डु