शिवम् सिमेन्टले गर्यो ३ हजार निर्माणकर्मीको जोखिम बीमा



काठमाडौँ । शिवम् सिमेन्टले दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको ५ लाख रुपैयाँ बराबरको जोखिम बीमा गरेको छ ।

शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्र्तक्रिया कार्यक्रम गर्दै जोखिम बीमा समेत गरिदिएको हो ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आएकाले जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।

उक्त अन्र्तक्रिया कार्यक्रममा उपस्थित निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी बिस्तृत जानकारी गराइएको थियो ।

यसका साथै उपस्थित ३ हजार ४५ निर्माणकर्मीहरुलाई दैनिक कार्यमा आवश्यक पर्ने सामानहरु, व्याग, टिफिन बक्सआदिका साथै इन्स्योरेन्स पोलिसी समेत हस्तान्तरण गरिएको छ ।

शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, गोरखा, तनहु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुर लगाएतका जिल्लाहरुको विभिन्न ५२ स्थानमा उक्त निर्माण परामर्श कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ ।

शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका विक्रेतासँगको समन्वयमा यस अन्तक्रिया तथा निशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु