बालेन बने एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री

357
Shares

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका छन्, बालेन्द्र शाह अर्थात बालेन ।

निर्वाचित प्रधानमन्त्रीका रुपमा बालेन नेपालकै कान्छा मात्र होइनन् एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री बनेका हुन् ।

२०४७ वैशाख १४ गते जन्मिएका बालेन फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ५० हजार मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए ।

उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले कुल २७५ सदस्यीय प्रतिनिधि सभामा १८२ सिटमा जित हात पारेको हो । दुई तिहाइ सिटका लागि २ सिट अपुग भएको रास्वपा वरिष्ठ नेता शाहलाई प्रधानमन्त्री घोषणा गरेर चुनावी मैदानमा उत्रिएको थियो ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ दिलाएका हुन् । संविधानको धारा ७६ को १ अनुसार राष्ट्रपति पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।

एसियाकै दोस्रो कान्छा प्रधानमन्त्री

बालेन प्रधानमन्त्री बन्दा उनी एसियाकै दोस्रो कान्छा निर्वाचित प्रधानमन्त्री बनेका हुन् । निर्वाचन आयोगको तथ्यांक अनुसार बालेन ३६ वर्षका हुन् ।

विश्वका सबैभन्दा कम उमेरका प्रधानमन्त्री भने अस्ट्रियाका सेबास्टियन कुर्ज बनेका थिए । अस्ट्रियामा प्रधानमन्त्री सरहको पदलाई चान्सलर भनिन्छ । उनी सन् २०१७ मा ३१ वर्षको उमेरमा चान्सलर बनेका थिए । उनी आधुनिक इतिहासमा सबैभन्दा कम उमेरमा सरकार प्रमुख बन्ने व्यक्ति हुन् ।

बालेन प्रधानमन्त्री बन्दा एसियाबाट सबैभन्दा कम उमेरका प्रधानमन्त्रीमध्ये दोस्रो हुन् ।

एसियाबाट पहिलो कम उमेरको प्रधानमन्त्री भने ३८ वर्षअघि पाकिस्तानले बेनजिर भुट्टोलाई पाएको थियो । उनी सन् १९८८ मा ३५ वर्षको उमेरमा पाकिस्तानको प्रधानमन्त्री बनेकी थिइन् । उनी कुनै पनि मुस्लिम बाहुल्य राष्ट्रको प्रधानमन्त्री बन्ने पहिलो महिला र एसियाकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन् ।

पाकिस्तानका सैनिक शासक जियाउलहकको मृत्युपछि सन् १९८८ मा आम निर्वाचन भएको थियो। उक्त निर्वाचनमा बेनजिर भुट्टोको पार्टी ‘पाकिस्तान पिपुल्स पार्टी’ सबैभन्दा ठूलो दल बनेको थियो।

एसियामा सबभन्दा कम उमेरको प्रधानमन्त्रीको तेस्रोमा थाइल्यान्डकी पेतोङतार्न शिनावात्राले बनाएकी छन् । उनी ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी हुन् ।

सन् १९८६ अगस्ट २१ मा जन्मेकी शिनावात्राले सन् २०२४ अगस्ट १६ मा प्रधानमन्त्री पद सम्हालेकी थिइन् । उनी पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्राकी छोरी हुन् । तर, पदीय नैतिकता पालन नगरेको भन्दै थाइल्यान्डको संवैधानिक अदालतको निर्णय आएपछि उनी सन् २०२५ अगस्टमा पदमुक्त भएकी थिइन् ।

फिनल्याण्डकी ३४ वर्षीय सान्ना मारिन विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने पहिलो महिला हुन् । सन् २०१९ मा उनी ३४ वर्षको उमेरमा फिनल्याण्डको प्रधानमन्त्री बनेकी थिइन् ।