३ महिनाभित्र ४ वटा बीमा कम्पनीले सीइओ नियुक्त गर्नुपर्ने



काठमाडौं । चार बीमा कम्पनीले तीन महिनाभित्र प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गर्नुपर्ने भएको छ । बीमा समितिले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा पहिलो संशोधन गर्दै रिक्त भएको मितिले तीन महिनाभित्रमा सीइओ नियुक्त गर्नुपर्ने व्यवस्था गरेसँगै दुई जीवन बीमा कम्पनी र दुई निर्जीवन बीमा कम्पनीले सो मितिमा सीइओ नियुक्त गर्नुपर्ने भएको हो ।

पद रिक्त भएको लामो समयसम्म नयाँ सीइओ नियुक्ति हुन नसक्दा बीमकको व्यवस्थापन तथा सञ्चालनमा असर पर्ने कारण देखाएकाले यस्तो व्यवस्था गरिएको समितिको भनाइ छ । हाल सीइओ पद रिक्त भएका कम्पनीमा नेपाल लाइफ, रिलायन्स लाइफ, नेपाल इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको कार्यबाहक प्रमुख कार्यकारी अधिकृतमा सुशिल कुमार चौधरी छन् । कम्पनीका तत्कालीन सीइओ सन्तोष प्रसाईको राजीनामा स्वीकृत भएपछि कम्पनीको संचालक समितिले चौधरीलाई कार्यबाहक कार्यकारी अधिकृतका रुपमा नियुक्त गरेको थियो । कम्पनीले प्रसाईको कार्यकाल कात्तिक २१ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्समा डेपुटी सीइओको रुपमा कार्यरत रहेका चौधरीलाई कम्पनीको संचालक समितिले कात्तिक २१ गते कार्यबाहक कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नेपाल इन्स्योरेन्सका सीइओ विजयबहादुर शाहको कार्यकाल साउन ८ गते सकियो थियो । शाहको कार्यकाल सकिए पछि कम्पनीले सीइओ नियुक्ति गर्न सकेको छैन । कम्पनीको कायम मुकायम सीइओमा विके महर्जन छन् ।

महर्जनलाई कम्पनीले कात्तिक ७ गते कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको थियो । कम्पनीले कुलिङ पिरियड नसकिदै महर्जनलाई उक्त पदको जिम्मेवारी दिएको थियो । यस्तै, रिलायन्स लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी पनि सीइओविहीन छन् ।

रिलायन्स लाइफ इन्स्योरेन्समा आफ्नो ४ वर्षे कार्यकाल सकिएपछि प्रवीन रमण पराजुली गत पुस १२ गते बाहिरिएका हुन् ।पराजुली बाहिरीएपछि सञ्चालक समितिले निरज कँडेललाई कामु सीईओको जिम्मेवारी दिएको छ ।

यता, राष्ट्रिय बीमा कम्पनीमा डिल्ली राज अर्याल भदौ महिनामा कम्पनीको प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका थिए । अर्याल पछि कम्पनीले सुवाष कोइरालालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको छ । कम्पनीले खुल्ला प्रतिष्पर्धाबाट सीइओ नियुक्तिका लागि विज्ञापन आह्वान गरेको थियो ।

शैक्षिक योग्यता, कार्यानुभव र व्यवासायिक कार्ययोजना मूल्याङ्कन अनुसार पाँच जना उम्मेद्धवार सर्ट लिष्टमा परेका छन् । कम्पनीले सर्ट लिष्टमा परेका ती उम्मेद्वारको व्यवसायीक कार्ययोजना प्रस्तुतिकरण र अन्र्तवार्ता समेत लिईसकेको ।

बीमा समितिको व्यवस्था अनुसार एउटा बीमा कम्पनीबाट सीइओ पदबाट बाहिरिएको ६ महिनासम्म सीइओ बन्न नपाइने व्यवस्था छ । तर, बीमा कम्पनीले समितिको सो व्यवस्थालाई मिच्दै एउटा कम्पनीको सीइओ पदबाट बाहिरिएको भोलिपल्ट नै अर्को कम्पनीमा नियुक्ति दिँदै आएका छन् ।

नेपाल इन्स्योरेन्सले विके महर्जनलाई सीइओ बनाउने गरी कायम मुकायम सीइओमा नियुक्ति गरेको थियो । यता, प्रविण रमण पराजुलीलाई नेपाल लाइफले डिसिइओमा नियुक्त गर्ने तयारी गरेको छ । कम्पनीले पराजुलीलाई सीइओ पदमा नियुक्ति गर्ने गरी डिसिओमा नियुक्ति गर्ने तयारी गरेको हो ।


क्लिकमान्डु