डुबेको स्टार अस्पताल किशोरको इन्ट्रीसँगै पहिलो पटक नाफामा, अस्पताल थप्नेदेखि आइपीओ जारी गर्ने योजना



काठमाडौं । तीन दशक लामो बैंकिङ करियारबाट किशोर कुमार महर्जन ‘रिटायर्ड’ भइसकेका थिए । यो कुरा उनका छिमेकीलाई पनि थाहा थियो ।

‘आजकाल तिमी कहाँ छौं ?’ एकदिन घरबाट निस्किँदै गर्दा छिमेकीले सोधे ।

‘मैले स्टार हस्पिटल किनेको छु अहिले । त्यहीँ काम गर्छु,’ गाडी चढ्दै गर्दा किशोरले जवाफ दिए ।

‘स्टार हस्पिटल रे ! कहाँ छ यो ?’ छिमेकीले फेरि सोधे । स्टार हस्पिटल सानेपामा छ । किशोरको घर पुल्चोकमा । अस्पतालसँगको दूरी एक किलोमिटर मात्रै ।

स्टार हस्पिटल संचालनमा आएको ११ वर्ष भइसकेको थियो । एक दशकको अवधिमा पनि पुल्चोकका मान्छे सानेपाको स्टार हस्पिटलबारे अनविज्ञ थिए ।

किशोरलाई अचम्म लाग्यो ।

जब मान्छेहरुलाई अस्पतालको बारेमा नै थाहा छैन भने सेवाग्राहीको ‘फ्लो’ कसरी बढ्छ ? अस्पताल कसरी चल्छ ? व्यवसाय कसरी सस्टेन हुन्छ ?

यसैकारण स्टार अस्पताल लामो समयसम्म घाटामा चल्यो । ३६ करोडको पुँजी रहेको अस्पतालको घाटा २६ करोड पुगिसकेको थियो ।

लगानीकर्ताहरुले मासिक ८० देखि ९० लाख रुपैयाँ घाटा ब्यहोरिरहेका थिए । डुब्न लागेको घामजस्तो क्षितिजको किनारामा पुगिसकेको थियो अस्पताल । बैंकले लिलामी गर्न मात्रै बाँकी थियो भन्दा पनि हुन्छ । कर्मचारीको ४/५ महिनाको तलब ड्यु हुन्थ्यो ।

त्यही अवस्थामा स्टार अस्पतालमा ‘इन्ट्री’ भयो किशोर कुमार महर्जनको । ३३ वर्ष लामो बैंकिङ करिअर बनाएका किशोरको प्रवेशसँगै साढे दुई वर्षमा स्टार हस्पिटल चम्किएको छ ।

विरामीको चाप बढेको छ । अस्पताल नाफामा गएको छ । कर्मचारीले तलबमात्र होइन, यस वर्ष बोनससमेत पाउँदैछन् । किशोरको कुशल व्यवस्थापनले स्टारजस्तै अन्य संस्था पनि यसैगरी उक्सिएका छन् । अर्को उदाहरण हो, प्रोग्रेसिभ फाइनान्स ।

बैंकले लिलामीमा राख्ने अवस्थामा पुगेको स्टार हस्पिटललाई किनेर चलाउने ‘हिम्मत’ कसरी आयो उनलाई ? र, कसरी नाफामा लगे ? स्टार हस्पिटलको आफ्नै कार्यालयमा हामीसगँको भेटमा किशोर महर्जनले बेलिविस्तार लगाए ।


ज्यापु समाजको आधार
काठमाडौंमा २७ वर्ष पुरानो ज्यापु समाज छ । एक लाखभन्दा धेरै सदस्य भएको ज्यापु समाज ७० भन्दा धेरै टोल फैलिएको छ । यस समाजले ८ वर्षअघि ‘भिजन २०२०’ भनेर विभिन्न योजना बनाएको थियो ।

उक्त भिजनमा पिछडिएको ज्यापु समाजलाई सबल बनाउने विभिन्न योजना बनाइएको थियो । जस्तो कि, प्रत्येक घरमा कम्तिमा एकजनाले ग्राजुयट गर्ने, बैंक खोल्ने, आफ्नै अस्पताल खोल्ने लगायत ।

ज्यापु समाजको एक प्रमुख कन्सल्ट्यान्टका रुपमा किशोर महर्जन कार्यरत थिए । र, अहिले पनि छन् । उक्त समाजले महर्जनलाई भिजन २०२० का योजनामध्ये अस्पताल खोल्ने र बैंक खोल्ने योजनामा लिड गर्न अनुरोध गर्यो ।

बैंकर किशोरलाई अस्पतालको क्षेत्रको अनुभव शून्य प्रायः थियो । त्यही पनि समाजको आग्राहलाई नाईं भन्न सकेनन् ।

सरकारले नयाँ अस्पताल खोल्ने अनुमति भने बन्द गरिसकेको थियो ।

महर्जनकी श्रीमति स्टार अस्पतालमा काम गर्थिन् । श्रीमतिबाट उनले थाहा पाए, ‘अस्पताल ठूलो समस्यामा छ ।’

ठूलो संरचना र सम्भावना हुँदाहुँदै पनि निरन्तर घाटाले कुनै पनि दिन बैंकले लिलामी गर्ने अवस्थामा अस्पताल पुगिसकेको थियो ।

नयाँ अस्पताल शुरु गर्न नसकिने अवस्थामा यसैलाई ‘रेस्क्यु’ गरेर चलाउन सकिन्छ भन्ने बारे ज्यापु समाजमा छलफल भयो ।


किशोरले स्टार अस्पतालको वित्तीय विवरण हेरे । घाटा थियो २६ करोड रुपैयाँ । मासिक संचालन खर्च ८० देखि ९० लाख थियो । बैंकको ऋण ५० करोड र बजारमा तिर्न बाँकी ११ करोड थियो । सबै गरेर झन्डै ६५ करोड ऋण थियो ।

४/५ महिनादेखि कर्मचारीको तलब दिइएको थिएन । स्थायी कर्मचारी कोही पनि थिएन् । अन्य भेन्डरको भुक्तानी पनि बाँकी थियो ।

अस्पताल संचालन गर्न नगदको अभाव भएपछि बजारबाट २४ प्रतिशत व्याजदरमा ऋण लिएको थियो । त्यसको पनि व्याज तिर्न सकेको थिएन ।

अस्पताल भने पब्लिक लिमिटेड कम्पनीकारुपमा दर्ता थियो । ३५० जना सेयरधनी थिए । पुरानो लगानीकर्ताको नेतृत्वमा कुशल व्यवस्थापक नहुँदा अस्पताल चल्न सकेन । पुरानो व्यवस्थापनको नेतृत्वमा रहेकाहरु व्यवसायी त थिए तर इन्जिनियर व्याग्राउन्डका । सिमेन्ट उद्योग चलाए पनि अस्पतालको व्यवस्थापन गर्न जानेनन् वा सकेनन् ।

बैंकिङ करियर

काठमाडौंको हुनेखाने परिवारमा जन्मेका किशोरलाई परिवारले डाक्टर बनाउन चाहन्थे । किशोरको चाहने भने डाक्टरमा थिएन ।

तैपनि परिवारको इच्छा विपरित जान चाहेनन् । स्कुल सकेपछि उनी वायोलिजी विषय लिएर अमृत साइन्स कलेज (अस्कल) मा भर्ना भए ।

‘परिवारबाट डाक्टर बन्नुपर्छ भन्ने ठूलो प्रेसर थियो,’ उनी भन्छन्, ‘मलाई भने चाहना थिए ।’ विएस्सी गरे ।


पछि त्रिभुवन विश्वविद्यालय एमबीए शुरु भयो । उनी साइन्स छोडेर एमबीएतिर लागे । सीए बन्ने चाहना त थियो । तर, त्यो पनि आँट गर्न सकेनन् ।
उनले जागिर शुरु गरे नेपाल बैंकबाट । त्यहाँ एक वर्ष काम गरे ।

त्यसपछि नेपाल वाणिज्य बैंकमा काम गरे । पछि इन्डोसिज, हिमालय बैंक हुँदै सनराइज बैंक र सिभिल बैंकको स्थापना कालको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बने । बैंकिङ क्षेत्रमा ३३ वर्ष बिताए ।

उनी बैंकरसँगै खेलाडी पनि हुन ।

‘म प्रायः सबै खेल खेल्थे,’ उनी भन्छन् ।

नेपाल इस्वास एसोसियसनको अध्यक्ष हन् । ३८ वर्षदेखि इस्क्वास खेल खेलिरसहेका छन् । एन्फामा पनि आवद्ध छन् । एभरेष्ट प्रिमियरमा सभागी भएको ललितपुर प्याट्रीयोज उनको क्रिकेट टिम हो । विमेन्स टीम पनि छ उनको ।


केएफए ग्रुपमार्फत् केएफए कलेजमा लगानी गरेका छन् ।

रेस्टुरेन्टदेखि कृषिसम्म

कृषिमा पनि उनको रुची छ । त्यही समूहमार्फत केएफए एग्रो फार्म खोलेका छन् । सिराहामा १० विगाह क्षेत्रफलमा कृषि शुरु भएको उनको फार्ममा ५ विगाहामा एलोबेराको विरुवा लगाइसकेको उनले बताए ।

एलोबेराको प्रोसेसिङ हाउस बनाउने र त्यसबाट पाउडर बनाएर निर्यात गर्ने योजना रहेको उनले सुनाए । एभोकार्डोको पनि विरुवा रोपेका छन् ।

साथीहरुसँग मिलेर ११ वर्षदेखि झम्सिखेलमा जिःजिः मछाना नामक रेष्टुरेन्ट चलाइरहेका छन् । यसमा पनि १ करोड ६० भन्दा धेरै लगानी लागेको छ ।

रेस्टुरेन्ट भएका जग्गा किशोरको आफ्नै हो । जहाँ बैंकरहरु सुदेश खालिङ, सुधीरबाबु खत्रीलगायतको पनि लगानी छ ।

उद्यमी बन्ने रहरले केवलकारको सपना


३३ वर्षको बैंकिङ जागिरे जिवनमा हजारौं व्यक्तिलाई ऋण दिए । पाँच लाखको ऋण लगेको कुनै व्यक्ति अर्को वर्ष एक करोड ऋण माग्न आउँथ्यो । तेस्रो वर्ष २ करोड हुँदै पाँच सात वर्षमा अर्ब कमाउँथ्यो ।


उनी सोच्थे आफू भने ‘नदी तार्ने माझी’ जस्तै जहाँको त्यही । ‘ऋण दिने म आफू भने सधै त्यहीको त्यही,’ किशोरलाई लाग्यो, ‘अब ऋण दिने होइन, ऋण लिने हो र उद्यम गर्ने हो ।’

बैंकको जागिर छोडेपछि केवलकार व्यवसाय गर्ने योजना बनाए । दक्षिणकालीको डाँडोमा केवलकार बनाउने योजनासहित सम्भाव्यता अध्ययनसमेत भइसकेको थियो ।

तर, यता ज्यापु समाजले प्रोग्रेसिभ फाइनान्स चलाउने भनेपछि केवलकारको योजना पनि त्यत्तिकै थन्किएको छ ।

‘केवलकार कुनै पनि बेला पुनः शुरु हुनसक्छ,’ सानेपाको स्टार अस्पतालको आफ्नै कार्यलयमा आफ्नो योजना सुनाउँदै किशोरले भने ।

उद्यमी बन्ने उत्कर्षले केवलकारको योजना अगाडि बढाएका किशोरले प्रोग्रेसिभ फाइनान्स हुँदै स्टार हस्पिटलमा छिरेका छन् । जहाँबाट उनको चाहना पूरा भएको छ, अहिले उनी ऋण दिने होइन, ऋण लिने ठाउँमा छन् ।

बैंकको ऋण लिएर अर्बौं कमाएका व्यवसायीजस्तै उनी पनि त्यही ऋण लिएर स्टार हस्पिटललाई ‘स्टार’ बनाउने बाटोमा छन् । ऋणको प्रतिफल दिनेगरी अस्पतालले नाफा दिन थालिसकेको छ ।


सन्तोष न्यौपाने