निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउँदै बीमा समिति



काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ ।

कोरोना बीमावापतको अर्बौ रकम बीमितलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा भुक्तानी नहुँदासम्मका लागि नगद लाभांश वितरणमा रोक लगाउने समितिले तयारी गरेको हो ।

हाल ११ अर्ब ४३ करोड रुपैयाँ कोरोना बीमावापतको रकम भुक्तानी गर्न बाँकी छ ।

कोरोना बीमाको रकम भुक्तानी नभएसम्मका लागि निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने समितिले तयारी गरेको हो ।

कोरोना बीमा गरेका बीमितले दुई वर्ष बित्दा पनि भुक्तानी नपाएको अवस्थामा नगद लाभांश वितरणमा रोक लगाउने तयारी भइरहेको बीमा समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजुरमण पौडेलले बताए ।

यसअघि पनि भूकम्पको समयमा निर्जीवन कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाइएको उनको भनाइ छ ।

‘बीमा हामीले नै गरेको हो । त्यसतर्फ पनि कम्पनीहरुले सोच्नु पर्छ । बीमितले अझै भुक्तानी पाएका छैनन्,’ कार्यकारी निर्देशक पौडेलले क्लिकमाण्डूसँग भने, ‘यस्तो अवस्थामा नगद लभांश वितरण गर्न उचित हुँदैन ।’

‘कोरोना बीमाको भुक्तानी नहुँदासम्म नगद लाभांश वितरणमा रोक लगाउने तयारी भइरहेको छ,’ उनले भने, यद्यपि निर्णय भने भइसकेको छैन ।’

अहिलेसम्म कुनै पनि कम्पनीले लाभांश घोषणाका लागि बीमा समितिमा प्रस्ताव नआएको उनले जानकारी दिए ।

विश्वमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नियामक निकाय बीमा समितिले कोरोना बीमालेख जारी गरेको थियो । जसमा भुक्तानीको दायित्व बीमा समिति, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र सरकारलाई बाँडफाँट गरिएको थियो ।

मापदण्डअनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले आफ्नो मातहतको भुक्तानी गरिरहेका छन् । तर सरकारको दायित्व अन्तर्गतको भुक्तानी हुन बाँकी छ ।

सरकारले आफ्नो दायित्व बहन नगरेको भन्दै कम्पनीहरुले कोरोना बीमाको रकम भुक्तानी गर्न बन्द गरेका छन् । बीमा कम्पनीहरुले बीमाशुल्क उठाएर बीमालेख बिक्री गरेपछि भुक्तानी गर्ने दायित्वबाट पछि हट्न नहुने कम्पनीहरुले तर्क गर्दै आएका छन् ।

यता सरोकारवालाहरु भने बीमालेख जारी गरिसकेपछि नाफा घाटा जे भए पनि भुक्तानी गर्नुपर्ने कम्पनीहरुको दायित्व भएको बताउँदै आएका छन् । बीमाप्रतिको विश्वास कायमै राख्न पनि कम्पनीहरु मिलेर भुक्तानी गर्नुपर्ने उनीहरुको तर्क छ ।

समितिका अनुसार कोरोना बीमा अन्तर्गत १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको थियो । जसमध्ये कम्पनीहरुले १७ लाख ५८ हजार ३४३ वटा कोरोना बीमालेख जारी गरी १ अर्ब ५ करोड ५ लाख २७ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।

समितिका अनुसार हालसम्म पुलमार्फत् ३ अर्ब ५० करोड रुपैयाँ र बीमा कम्पनीहरुबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ भने नेपाल सरकारको दायित्व अन्तर्गतको ११ अर्ब ४३ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।


क्लिकमान्डु