टेलिकमका कान्छा एमडीको ३ वर्षे कार्यकालः फोरजी र फाइबर नेटमा सफल, आम्दानी बढाउन असफल



काठमाडौं । तीन वर्षअघि नेपाल टेलिकमको प्रबन्ध दिर्नेशकमा डिल्ली अधिकारी नियुक्त भएपछि सबैभन्दा कान्छो एमडी भनेर चर्चा भयो । २०७५ पुस २३ गते उनले नियुक्ती पाउँदै गर्दा यतिछिट्टै एमडी हुँलाा भन्ने सोचेका थिएनन् ।

तत्कालीन सरकारले उनलाई पत्यायो र उनी सरकारी स्वामित्वको नेपाल टेलिकमको प्रबन्ध निर्देशक भए ।

उनको तीन वर्षे कार्यकाल यही पुस २२ गतेदेखि सकिँदै छ । कार्यकाल सकिनै लाग्दा नेपाल टेलिकमका नयाँ प्रचलन शुरु गर्दै बिहीबारदेखि बिदामा बसेका छन् उनी ।

उनको तीन वर्षे कार्यकालमा त्यत्ति सहज भएन । पछिल्लो दुई वर्ष पूर्णरुपमा कोरोनाकालमा बित्यो । तर, विभिन्न समस्या, अप्ठारो समयका बापजुत पनि कति काम गर्न सक्यो भन्ने महत्वपूर्ण हुन्छ ।

नेपाल टेलिकमजस्तो मुलुकको सबैभन्दा जेठो टेलिकम कम्पनी तीन वर्षसम्म नेतृत्व सम्हाल्नु ठूलो कुरा हो । तीन वर्षको समीक्षा गर्दा अधिकारी आफैं भने आफ्नो कामप्रति सन्तुष्ट छन् ।

टेलिकमको एमडीको कुर्चीमा बस्दै गर्दा जुन अवस्थामा नेपाल टेलिकम थियो । र, जस्तो अवस्थाबाट उनले काम शुरु गरेका थिए, तीन वर्षपछि हेर्दा धेरै क्षेत्रमा प्रगति गरेको उनको ठम्याई छ ।

अधिकारीले नेतृत्व सम्हाल्दै गर्दा धेरै आशंका उब्जिएका थिए । एक त उनीसँग सार्वजनिक संस्था हाँकेको अनुभव थिएन । अर्कोतिर टेलिकम क्षेत्रमा १६ वर्षको अनुभव संगाल्दै १०औं तहमा पुगेका थिए ।

उनीभन्दा माथि ४० जना सिनियर कर्मचारीहरु थिए । अन्य सरकारी संस्थानमा जस्तै उनीहरुलाई व्यवस्थापन गरेर जान सहज हुँदैन भन्ने आशंका थियो । अर्कोतिर बजारमा धेरै प्रतिस्पर्धी थियो । निजी क्षेत्रको टेलिकमले फोरजी विस्तारलाई व्यापक बनाइरहेको बेला नेपाल टेलिकमको फोरजी विस्तार भर्खर शुरु भएको थियो ।

फाइबर टु दी होम (एफटीटीएच)को विस्तार हुन सकेको थिएन । जबकी, प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक धेरै अगाडि बढाइसकेका थिए ।

नेपाल टेलिकमले परम्परागत रुपमा चल्दै आएको भ्वाइस सेवा र टुजी, थ्रिजीबाहेक उपभोक्तालाई दिन अन्य ठूलो प्रोडक्ट थिएनन् । ठूला आयोजना थिएनन् । ठूला चालु आयोजनामा एक करोड जिएसएम विस्तार गर्ने परियोजना थियो । जुन सात वर्ष लगाएर सम्पन्न भयो ।

टेलिकमको हरेक सेवाको गुणस्तरप्रति आम उपभोक्ताको ठूलो गुनासो थियो ।

यही परिस्थितिकाबीच प्रतिस्पर्धामा उत्रिन नयाँ योजना, नयाँ प्रविधि, पूर्वाधारमा विकास गर्दै टेलिकमको गुणस्तरमा व्यापाक सुधार गर्नु पर्ने चुनौति उनीसँग थियो ।

त्यो बेला उनले मुख्य चार क्षेत्रमा विशेष काम गर्ने प्रतिवद्धता जायर गरेका थिए । फाइबर नेट र फोरजी सेवा देशभरी विस्तार, अप्टिकल पूर्वाधारको विकास, गुणस्तरमा अभिवृद्धि र कम्पनीमा संस्थागत र नीतिगत सुधार ।

‘यी चार क्षेत्रलाई मध्यनजर गरेर काम शुरु गरेको थिएँ,’ उनी भन्छन् ।

तीन वर्षपछि उनका प्रतिवद्धतालाई हेर्ने हो भने फोरजी र फाइबर नेट विस्तारमा सफलता पाएका छन् । टेलिकमको टावर जस्ता पूर्वाधार विकासमा राम्रो भए पनि अप्टिकल फाइबर विस्तारको काम सन्तोषजनक छैन ।

पहिलो नेपाल टेलिकमको भ्वाइस सेवादेखि रिचार्ज, डेटा नचल्ने जस्ता गुणस्तरका गुनासो धेरै थिए । अहिले ति धेरै कम भएका छन् भने संस्थागत सुधारमा तालिम र अनलाइन मोनिटरिङको विकास गरेको उनको भनाइ छ ।

अर्कोतिर, टेलिकमको खुद आम्दानी घटेको छ ।

फोरजी: फोरजी उनको कार्यकालको सफल परियोजना हो ।

उनी एमडीको कुर्चीमा बस्दै गर्दा काठमाडौं र पोखराकामा केही ठाउँमा फोरजी संचालनमा थियो । झन्डै २ लाख ग्राहक थिए ।

अहिले ७७ जिल्लाको ७२३ स्थानीय तहमा फोरजी नेटवर्क विस्तार भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको २०७८ कात्तिक महिनाको रिपोर्टअनुसार नेपाल टेलिकमका फोरजीका ग्राहक ७४ लाख ८५ हजार पुगिसकेका छन् । निजी क्षेत्रलाई उछिन्दै नेपाल टेलिकम अगाडि बढेको छ ।

‘अहिले फोरजीबाट वार्षिक ६-७ अर्ब रुपैयाँ आम्दानी हुनथालेको छ,’ अधिकारी भन्छन्, ‘कोरोना महामारी हुँदाहुँदै पनि फोरजी विस्तारको ९४ प्रतिशत काम सकिएको छ ।’

मोबाइल डेटाको कुल आम्दानीमा करिब ८५ प्रतिशत योगदान फोरजीले गरिरहेको छ । यसलाई निकै ठूलो उपलब्ध मान्छन् उनी ।

कोभिडकालमा जब मान्छेहरु घरभित्र बसे त्यसले गर्दा कनेक्टिभिटीको लागि ठूलो सहयोग गर्यो । मनोरञ्जमा धेरै व्यस्त भए, नेटवर्क उपलब्धता र सस्तो डेटाले गर्दा फोरजी विस्तारमा सफलता पाएको अधिकारी बताउँछन् ।

नेपाल टेलिकमको मोबाइल ब्रोडव्यान्ड देशभर चल्ने अवस्थामा पुगेको छ । अबको बजार ‘डेटा ड्रिभन’ भएकाले भविष्यको लागि आधार खडा भएको अधिकारीको भनाइ छ ।

फाइबर नेट: फाइबर नेटको शुरुवात २०७० भन्दा अघि नै भएको थियो । तर, विस्तार हुन सकेको थिएन । अधिकारी प्रबन्ध निर्देशक हुनेबेलासम्म १२ सय लाइन वितरण भएको थियो ।

विस्तार नहुनुमा केही समस्या थिए । आवश्यक उपकरण, सामग्रीको अभाव र जनशक्तीको अभाव पनि थियो । टेलिकमका काम गर्नेहरु कपर नेटवर्कमा अभ्यस्त थिए । तर, फाइबरमा अनुभवी थिएनन् ।

नेपाल टेलिकमको फाइबर नेटमा धेरै विश्वास पनि थिएन । उही एडीएसलसजस्तै त होला भन्ने थियो । त्यसले गर्दा फाइबरनेट विस्तारमा शुरुका दिनमा अलि गाह्रो भएको उनको अनुभव छ ।

के के समस्या छन् भन्ने पहिल्याएर परियोजना विस्तारको योजना बनाए ।

कर्मचारीहरुलाई फाइबर नेटसम्बन्धी विशेष तालिम दिए । एउटै टिमले एकै दिनमा धेरै जनाको ग्राहकका फाइबरनेट जोड्ने क्षमता विकास गरे ।

अहिले फाइबरनेटप्रति विश्वास धेरै बढेको छ ।

‘प्रतिस्पर्धी कम्पनीको सेवा छोडेर हाम्रो फाइबनर नेट लिनेक्रम धेरै बढेको छ,’ उनले भने ।

पछिल्लो तीन वर्षमा भने फाइबरनेटको विस्तार व्यापक भएको छ । यसमा सस्तो इन्टरनेट र गुणस्तरमा सुधार गरेकाले नेपाल टेलिकमको सेवामा फाइबर नेटले विश्वास जगाएको छ ।

एउटै तारमा नेट, आइपी टिभी र टेलिफोन लाइनको सुविधा उपलब्ध गराएको छ ।

कात्तिकसम्मको तथ्यांकअनुसार १ लाख ५१ हजार फाइबर नेटका ग्राहक पुगिसकेका छन् । कोरोनाकालको दुई वर्षमा यसका ग्राहक धेरै वृद्धि भएका छन् ।

६० जिल्लाको १ सय १० स्थानीय तहबाट फाइबरनेट पुगिसकेको छ ।

‘थम रुलमा भन्ने हो भने एक लाख फाइबर नेट ग्राहकबाट एक वर्ष १ अर्बको आम्दानी भइरहेको छ,’ अधिकारी भन्छन् ।

पूर्वाधार विकास र प्रशासनिक सुधार

टेलिकम क्षेत्रको विकास गर्न सबैभन्दा ठूलो आधार भनेको पूर्वाधार हो । यसको लागि व्याकबोन ट्रान्समिसन पूर्वाधार र मोबाइल नेटवर्कलाई रेडियो नेटवर्क पूर्वाधार आवश्यक पर्छ ।

व्याकबोन ट्रान्समिसन पूर्वाधार भनेको अप्टिकल फाइबर नेटवर्क हो । यसलाई ‘प्यासिभ’ पूर्वाधार भनिन्छ । करिब १२ सयक किलोमिटरको अप्टिकल फाइबर विस्तार भएको छ । अझै पनि २ हजार किलोमिटरको विस्तार हुन बाँकी छ ।

प्राधिकरणले नेपाल टेलिकमलाई प्रदेश १, २ र बागमति फाइबर बिछ्याउने ठेक्का दिएको थियो । ‘एक्टिभ’ पूर्वाधारको रुपमा डीडब्लुडीएम र राउटरको काम लगभक सम्पन्न भइसकेको छ भने फाइबर विछ्याउने काम भने १२ सय किलोमिटरमात्र सम्पन्न भएको छ ।

अझै पनि दुई हजार किलोमिटर बाँकी छ । सडक विभागसँगको सहकार्यको अभाव, विद्युतको पोलको भाडामा देखिएको समस्या र कोभिडका कारणले समयमा सम्पन्न हुन नसकेको अधिकारीको भनाइ छ ।

स्मार्ट टेलिकमले काम नगरेपछी कर्णाली प्रदेश र सुदूरपश्चिममा पनि अप्टिकल फाइबर विस्तार गर्ने जिम्मा नेपाल टेलिकमलाई नै आएको छ । यसमा टाइमलाइनअनुसार नै काम अगाडि बढेको छ ।

अर्को भनेको एक्टिभ पूर्वाधारमा डिजिटल र राउटरहरु पर्छन् । पहिला १० जी क्षमताका राउटर थिए भने अहिले १०० जीका डिडब्लुडीएम राउटरहरु राखिएको छ ।

उनको कार्यकालमा १२ सय टावर र ती टावरलाई चाहिने सोलार पावर निर्माण भएका छन् । जसले गर्दा टुजी र थ्रिजीमा पहुँच नभएका, मोबाइलका कुनै पनि पहुँच नभएका ग्राहकलाई फोरजी नेटवर्कमा ल्याउन सफल भए ।

फोरजी नेटवर्क दिएरमात्र हुदैन, भ्वाइस कलका लागि टुजी पनि आवश्यक पर्छ । टुजी विस्तार पनि गरिरहेका छन् । जुन फोरजीमा सजिलै अपग्रेड गर्न सकिन्छ । अहिले टुजी, थ्रिजी र फोरजीको लागि बनेको यी पूर्वाधार फाइभजी आएपछि त्यसमा पनि प्रयोग गर्न सकिने उनी बताउँछन् ।

प्रशासनिक सुधारको लागि पनि विशेष ध्यान दिएको उनको भनाइ छ । पहिलो वर्ष झन्डै ८ सय कर्मचारी तालिम लिन विदेश पठाए । स्वदेशमा तालिम संचाल भए । त्यसपछिका वर्षमा कोभिड भएकाले विदेश र स्वदेशमा तालिम संचालन हुन सकेनन् ।

उनले प्रशासनिक कार्य क्षमता वृद्धि होस् भनेर हरेक कार्यलयलाई अनलाइनबाट मोनिटर गर्ने व्यवस्था मिलाएको बताए । अहिले पनि उनले आफ्नो मोबाइलबाट हरेक कार्यलयको कामलाई अवलोकन गर्न सक्छन् । त्यसले कार्यलयबीच प्रतिस्पर्धा बढेको छ । काम गर्ने र नगर्नेबीचलाई रातो, पहेँलो, हरियो रंगले छुट्याउने प्रणाली विकास गरे ।

नाफा किन घट्यो ?

४५ वर्षको उमेरमै नेपाल टेलिकमको एमडी बनेर जुन जोशजाँगरमा संस्थालाई अगाडि बढाए तर खुद नाफालाई हेर्ने हो भने उनैकै कार्यकालमा ह्रास आएको छ ।

उनी नियुक्त भएको वर्ष २०७५/७६ मा टेलकमको नाफा १० अर्ब २० करोडको हाराहारीमा थियो भने अर्को वर्ष २०७६/७७ मा ९ अर्ब ७४ करोड र २०७७÷७८ मा ७ अर्ब ४५ करोड रुपैयाँ नाफा भएको छ ।

एमडी अधिकारी भने परिस्थिति, पूर्वाधारको विकास र एकै पटक धेरै भार लिनुपर्दा नाफा घटेको बताउँछन् ।

‘नेपाल टेलिकमको कोर आम्दानी घटेको छैन,’ अधिकारी भन्छन्, ‘म यस टेलिकमको नाफा सन्तुष्ट नै मान्छु ।’

नेपाल टेलिकमको आम्दानीमा तीनवटा पक्ष छन् । पहिलो अपरेटिङ आम्दानी, दोस्रो फाइनान्सियल आम्दान र अन्य आम्दानी ।

नेपाल टेलिकमको कोर व्यवसायबाट आउने आम्दानी भनेको अपरेटिङ आम्दानी हो । यो सेवा प्रयोग गरेवापत उठाएको आम्दानी हो ।

अपरेटिङ आम्दानी दुई तरिकाबाट हुन्छ । पहिलो आन्तरिक र अर्को अन्तर्राष्ट्रिय । अन्तर्राष्ट्रियमा रोमिङलगायत अन्तर्राष्ट्रिय कल पर्छन् ।

जब ओभरदी टप (ओटीटी)को सेवा व्यापक भए त्यसपछि टेलिकम क्षेत्रको आम्दानीमा ठूलो गिरावट भयो । नेपाल टेलिकममात्र नभएर निजी क्षेत्रका टेलिकम कम्पनीको आम्दानी घटेको छ ।

अधिकारी प्रबन्ध निर्देशक हुनुभन्दा अघि कुल आम्दानीमा अन्तर्राष्ट्रिय कलको आम्दानी ३० प्रतिशत हाराहारीमा थियो भने अहिले तयो योगदान १४ प्रतिशतमा झरेको उनी बताउँछन् ।

कोरोना महामारीका कारण फाइनान्सियल आम्दानी पनि घटेको छ । बैंकको व्याजबाट हुने आम्दानी घटेको छ ।

आन्तरिक सेवा जस्तो की मोबइल डेटा, भ्वाइस कल, एसएमएस कलबाट हुने आम्दानी भने बढेको छ ।

आम्दानी घट्नुमा उनको अर्को तर्क छ, ‘डेटाको धेरै सस्तो भयो ।’

तीन वर्षअघि प्रतिएमबी औषत ३० पैसामा बिक्री भइरहेको डेटा अहिले प्रतिएमबी औषत ३-४ पैसामा झरेको छ । भ्वाइसकल प्रतिमिनेट औषत ८० पैसा हुन्थ्यो भने अहलिे २० पैसा हाराहारीमा झरेको छ ।

‘एकातिर सेवा सस्तो भइरहेको छ भने अर्कोतिर ओटीटी र कोभिडको कारणले अन्तर्राष्ट्रिय कल र रोमिङको आम्दानी घटेको छ,’ उनी भन्छन् ।

नाफा घट्नुको अर्को कारण पूर्वाधारमा भएको ठूलो लगानी ठान्छन् । पूर्वाधारमा धेरै लगानी हुँदा यसको नाफामा असर गरेको बताए ।

जीएसएम अनुमतिपत्र नवीकरणको शुल्क पनि यही बेला तिर्नु परेकाले नाफामा सोझो असर गरेको उनको भनाइ छ । नवीकरण शुल्कवापत ५ वर्षमा २० अर्ब रुपैयाँ तिर्नु पर्छ । उनको कार्यलकाल १५ अर्ब रुपैयाँको नवीकरण शुल्क तिरेकाले पनि आम्दानीमा असर गरेको उनको भनाइ छ ।

पहिला कर्पोरेट कर २५ प्रतिशत थियो भने अहिले ३० प्रतिशत भएको छ । कर्पोरेट कर २५ बाट ३० प्रतिशत हुँदा वार्षिक १ अर्ब दायित्व बढेको छ ।

‘पहिलो यी दाहित्व पूरा नगरेर नाफा देखाइएको थियो । यसो गर्दा नाफा बढ्छ,’ अधिकारी भन्छन्, ‘मेरो पालामा यी सबै दाहित्व पूरा गरेरमात्र नाफा देखाइएको हो ।’

कुल आम्दानीमा ह्रास आइरको अवस्थामा टेलिकमको सेवा वापतको आम्दानी भने वृद्धि भएको छ । २०७७/७८ सालको वित्तीय विवरणअनुसार सेवावापत कमाउने आम्दानी सवा अर्बले माथि गएको थियो । २०७८÷७९ को पहिलो त्रैमासिकमा पनि यस्तो आम्दानी वृद्धि भएको छ । नाफा ४९ प्रतिशतले वृद्धि भएको छ ।

नेटवर्क विस्तार धेरै विस्तार भएको, ग्राहक धेरै विस्तार भएको र सेवा सस्तो भएकाले अबका दिनमा आम्दानी धेरै बढ्ने उनको भनाइ छ । अबको दिनमा बैंकको बयाजदर बढ्ने, कोभिड विस्तारै कम हुँदै गएकाले फाइनान्सियल आम्दानी पनि बढ्ने उनको भनाइ छ ।

विभिन्न कारणले आम्दानी घटे पनि नेपाल टेलिकमको बजार पुँजीकरण २ खर्ब हाराहारी पुगेको छ । उनी एमडी हुँदै गर्दा एक खर्बभन्दा केही बढी थियो । त्यस्तै, सेयर म्यालु ६ सयदेखि ७ सयको बीचमा थियो भने अहिले त्यो बढेर १३ देखि १४ सयमा पुगेको छ ।

नेपाल टेलिकमका लागि नाफामात्र पनि उद्देश्य नभएको उनको भनाइ छ । सरकारको स्वामित्वको कम्पनी भएकाले नाफा नहुने क्षेत्रमा पनि लगानी गर्नु पर्ने हुन्छ । ती ठाउँमा हेलिकप्टरबाट उपकरण पुर्याएर सेवा विस्तार गरेको छ । यो भनेको नाफाभन्दा पनि उपभोक्तालाई दिएको सेवा हो भन्छन् उनी । यस्तो सेवाबाट नाफा आउँदैन ।

‘अहिलेको नाफा सन्तोषजनक छ,’ उनी भन्छन् ।

फोरजी ठेक्का, फाइभजी परीक्षण र नमस्ते पे

अधिकारी एमडी भएर फोरजी ठेक्का दिँदैगर्दा अति महंगोमा लगाएको भनेर व्यापक अलोचना भयो । संसदीय समितिमो यसको ठूलै चर्चा पनि भयो । सञ्चारमन्त्री थिए गोकुल बास्कोट ।

नेपाल टेलिकमले झन्डै एक अर्ब ६० करोडमा जेटीएलाई कोर नेटवर्कले ठेक्का दिएको थियो भने १८ अर्बमा सीसीएसआईलाई रेडियो एक्सेसको ठेक्का दिइएको थियो ।

ठेक्काको चर्चा भएसँगै यो विषयमा अधिकारीले पनि धेरै ठाउँमा प्रस्टिकरण दिनु पर्यो ।

फोरजी आयोजनामा उपकरणमात्र नभएर यसको लागि चाहिने सम्पूर्ण पूर्वाधार किनिएको यो महंगो भएको उनको भनाइ छ ।

६४० वटा टावर किनिएको थियो । ती टावर जोड्न ट्रान्समिसन नेटवर्क पनि खरिद गरिएको थियो । एउटा टावर निर्माण गर्न मै ३० देखि ४० लाख खर्च हुने उनी बताउँछन् । विद्युत उपलब्ध नभएको ठाउँको लागि सोलार पावर सिस्टम पनि खरिद गरिएको थियो ।

करिब ८ अर्ब हाराहारीको पूर्वाधारमा खर्च भएको थियो बाँकी १० अर्बको फोरजीका उपकरणहरु, लाइसेन्स, सफ्टवेयर किनिएको थियो ।

सार्वजनिक खरिद ऐन र आर्थिक विनियमावलीले पनि लागत अनुमान गर्ने विधि निर्धारण गरिदिएको छ । यही विधिमा तयार गरेको लागत अनुमान सञ्चालक समितिबाट स्वीकृति गरेपछि अन्तर्राष्ट्रिय ठेक्का गरिएको अधिकारीले बताए ।

‘यसमा खरिद विधि र अन्तर्राष्ट्रिय विधिअनुसार गरेकाले पारदर्शी छ,’ उनले भने, ‘यो पूर्वाधार आगामी कैयन वर्षसम्म प्रयोग गर्न सकिनेछ ।’

फोरजीलाई देशभर पुर्याउन सफल भएका अधिकारीले फाइभजी परीक्षण गर्ने अवसर भने पाएनन् । तालिकाअनुसार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले काम अगाडि बढाएको भए फाइभजी परीक्षण शुरु भइसक्ने थियो ।

फोरजीको सम्भौता गर्ने बेलामा नै चार सहरमा फाइजी पनि परीक्षण गर्ने भन्ने प्रावधान राखिएको थियो ।

नेपाल टेलिकमलाई प्राधिकरणबाट अनुमति र फ्रिक्वेन्सी उपलब्ध गराउनु पर्ने थियो । नेपाल सरकारबाट अनुमति र फ्रिक्वेन्सी दिने भन्ने निर्णय पनि भएको थियो । कुन फ्रिक्वेन्सी दिने भन्ने निर्णय नियामक निकाय गर्नुपथ्र्यो ।

गत बैशाखमा फाइजीको मोडलसहित निवेदन दिए पनि मंसिर पहिलो हप्ता ३६ सय मेगाहर्जमा ६० मेगाहर्ज व्यान्डविथ प्रयोग गरेर फाइजी परीक्षण गर्ने र नेपाल टेलिकमले आफूसँग भएका अन्य फ्रिक्वेन्सीमा फाइभजी परीक्षण गर्नु पर्ने भएमा आवश्यक समन्वय गरेर गर्ने भन्ने अनुमति पाएको थियो ।

अहिले उपकरण सप्लायरसँग कुन कन्फिग्रेसनमा, कुन ठाउँमा कुन मोडालिटीमा परीक्षण गर्ने भन्ने कार्यटोली गठन भएको छ । कार्यटोलीले ती सप्लायरसँग सहकार्य गरिरहेको र केही समयमा यसको निक्र्यौं हुने र त्यसपछि उपकरण खरिदको अनुमति दिइने अधिकारीले बताए ।

उपकरण आएपछिमात्र परीक्षण शुरु हुने हो ।

नेपाल टेलिकमले नेपाल बाणिज्य बैंकसँग सहकार्य गरेर अगाडि बढाएको अर्को ठूलो परियोजना हो डिजिटल भुक्तानी सेवा नमस्ते पे ।

नेपाल टेलिकका ग्राहकलाई नमस्ते पेमार्फत डिजिटल फाइनान्स सेवा दिने उद्देश्यले नमस्ते पे शुरु भएको हो । सरकारी क्षेत्रमा यस प्रकारको पिएसपी सेवा नभए पनि नमस्ते पेको कन्सेप्ट आएको थियो ।

सार्वजनिक भएको लामो समयमा पनि बजारमा यसको उपस्थिति नदेखिँदा असफल आयोजना बन्ने त होइन भन्ने आशंका हुनथालेको छ ।

अधिकारी भने अहिले अलि सुस्ताएको जस्तो देखिए पनि आन्तरिक तयारीको काममा व्यस्त भएको बताए ।

‘अब बजारमा आक्रमक जाने तयारी भइरहेको छ,’ उनले भने, ‘अहिले सबै संस्थासँग इन्टिग्रेसन नभएकाले बजारमा आक्रमक जान सकिएको छैन ।’

‘फुल इन्टिग्रेसन’ नहुँदासम्म यसले काम गर्न नसक्ने भएकाले त्यो काम भइरहेको उनले बताए ।

के भइरेको छ रणनीतिक साझेदार भित्र्याउने काम ?

नेपाल टेलिकमलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने भनेर रणनीतिक साझेदारी कम्पनी ल्याउने भन्ने विषयले चर्चा पाउने थलेको २०६० को दशकदेखि हो ।

यसको लागि विभिन्न समिति, कमिटी गठन भए । अर्थ मन्त्रालय, सञ्चार मन्त्रालय र विभिन्न विज्ञ राखेर अध्ययन भएका थिए । रणनीति साझेदार कसरी भित्र्याउने भन्ने विभिन्न सिफारिस पनि भए । विभिन्न मोडलमा छलफल पनि भएका थिए ।

पछिल्लो समयमा अधिकारीको कार्यकालमा डीडीए गरेर यसको प्रतिवेदन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थमन्त्रलयलाई बुझाएको थियो । त्यसमा लगानीसहितको रणनीतिक साझेदार भित्र्याउने सिफारिस गरिएको थियो ।

तर पछि अर्थ मन्त्रालय, निजीकरण समितिबाट २०७६ फागुनमा पत्र पठाउँदै ‘नेपाल टेलिकमलाई रणनीतिक साझेदार चाहिने हो वा होइन, चाहिने हो भने कस्तो मोडलको हो ? सञ्चालक समितिको निर्णयसहित सञ्चार मन्त्रालयमार्फत निजीकरण समितिमा पठाउनू’ भन्ने निर्देशन आएको थियो ।

त्यसको लागि टेलिकमले अध्ययन समिति बनाएको र अध्ययन समितिले विभिन्न पाँच विकल्पमा सिफारिस गरेको थियो ।

‘ती विकल्पमा मन्त्रालयमा गहन छलफल गरेर एउटा विकल्प दिइउको छ,’ अधिकारीले भने, ‘सेयरसहितको राणनीति साझेदारी नल्याउने तर केही वर्षको लागि व्यवस्थापन जिम्मा दिने विकल्प दिइएको थियो ।’

अहिले जिनीकरण समितिमा उक्त विषय विचारधिज अवस्थमा रहेको र यसको निर्णय गर्ने काम अर्थमन्त्रालयको भएको अधिकारीले बताए ।

अब कता जान्छन् अधिकारी ?

अधिकारीले नेपालको दूरसंचार क्षेत्रमा झन्दै दुई दशकको अनुभव संगालिसकेका छन् । त्यसमध्ये पनि तीन वर्ष मुलुकै जेठो र ठूलो संचरना भएको टेलिकम कम्पनीको प्रबन्ध निर्देशकको अनुभव लिएका छन् ।

पछिल्लो तीन वर्षले व्यवस्थापकीय जिम्मेवारी र लिडरसिपको भूमिकाको अनुभव दिएको उनी बताउँछन् ।

हुन त कानुनी हिसाबमा उनी तीन वर्षको लागि प्रबन्ध दिर्नेशक भएपछि यथास्थानमा जागिरको पदस्थापन हुन्छ । अर्थात, उनी एमडी हुनुभन्दा अघि रहेको १०औं पदमा जागिरे हुनेछन् ।

‘अब यही बसेर काम गर्ने वा नयाँ क्षेत्रमा जाने भन्नेमा विचार गर्दै छु,’ अधिकारी भन्छन् ।

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा काम गर्ने राम्रो अवसर भएमा राम्रो गर्न सक्छु भन्ने लागेको बताउँछन् उनी।

‘हेरौं समय परिस्थितिले के भन्छ,’ अधिकारीले भने ।


सन्तोष न्यौपाने