प्रचण्डको राजनीतिक प्रतिवेदनः अर्बपति व्यापारीको जीवनशैली अपनाएर पुँजीवादको विरोध
काठमाडौं । सामान्यतया, राजनीतिमा रुप र सारको कुरा गरिन्छ । रुप अर्थात् बाहिर देखाउने एउटा र सार (भित्र) अर्को गर्ने काममा विशेषतः कम्युनिस्ट भनिने नेताहरु बढी देखिन्छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हकमा रुप र सारको कुरा बढी लागू हुन्छ । उनी स्वयम् पनि त्यही कुरालाई पटक–पटक स्मरण गर्छन् ।
तर सैद्दान्तिक प्रश्नमा एउटा र जीवन व्यवहारमा अर्को गर्ने काममा उनी उद्यत् छन् । उनलाई आलोचनाले छुँदैन । त्यसलाई नेपाली समाजले ‘जुन गोरुको सिंङ छैन उसैको नाम तिखे’ भनेर टिप्पणी गर्छ ।
प्रधानमन्त्री बन्ने क्रममा उनले बुझाएको सम्पत्ति विवरणमा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन मात्रै रहेको उल्लेख गरेका थिए ।
चितवनको जग्गा प्रचण्डको नाममा भने छैन । सो जग्गा श्रीमती सीता दाहालको नाममा छ । २ पटक प्रधानमन्त्री भएका प्रचण्ड व्यक्तिगत सम्पत्तिको हिसाबले हेर्दा गरिब प्रधानमन्त्रीभन्दा पनि हुन्छ ।
तर, उनको जीवनशैली भने हरेक भाषणमा गाली गर्ने पूँजीपति व्यापारीको भन्दापनि विलाशी छ । यो विषयमा माओवादीका नेता तथा कार्यकर्ताले नै बेला बेलामा प्रश्न उठाएका छन् । तर उनले उत्तर भने कहिल्यै दिएनन् र जीवनशैलीमा परिवर्तन गरेनन् । बरु प्रश्न उठाउनेहरु पलायन भए ।
प्रचण्डले महंगो मानिएको २ लाख बराबरको आइफोन बोक्छन् । त्यो उनले विरोध गर्ने गरेकै पूँजीपतिले बनाइदिएको हो । उनले लगाउने कपडा महंगो त्यसमा पनि ब्राण्डेड नै हुन्छन् । उनले लगाउने सुट, जुत्ता तथा ज्याकेट सामान्य नेपालीले लगाउन त के आँक्न समेत सक्दैनन् ।
सरकारी सुविधा नै सही, प्रचण्ड टोयटाको ल्याण्डक्रुुजर गाडीमा हिँड्छन् । माओवादीको युद्धमा नै प्रचण्ड लगाउने र खाने कुरामा विशेष सौखिन थिए र छन् ।
विभिन्न अन्तर्वार्ताको क्रममा उनले ‘ब्याकलेभल’ र ‘सिंगल मार्ट’ पिउन रुचि राख्ने बताएकै छन् । उनले चलाउने आइफोन र महंगा कपडासँग जोडिएको पूँजीवाद र उदारवादकै उनले राजनीतिक प्रतिवेदनमा भने चर्को आलोचना गरेका छन् । धतुरो झारेका छन् । जुन प्रतिवेदन र जीवन व्यवहारसँग मेल खाँदैन ।
उनले लगाउने लुगा हेर्दा अरु नेताको भन्दा निकै ‘ब्राण्ड कन्सस’ जस्तो पनि देखिन्छ । प्रचण्डले रोलेक्स र ओमेगा ब्राण्डका घडी लगाउँछन् ।
नाईक, द नर्थ फेस, रिवोर्क जस्ता ब्राण्डका कपडाले उनको जीवनशैली अर्बपति नेताको भन्दा कम देखिदैन । पछिल्लो समय राजनीतिमा सक्रिय भएका विनोद चौधरीको जीवनशैली र प्रचण्डको जीवनशैलीमा खासै फरक देखिदैन ।
मात्रै प्रचण्डले चौधरीजस्ता व्यवसायीलाई पूँजीपतिको ट्याग सहित आफूलाई कम्युनिष्ट देखाउनका अनेकन डेट स्पायर ‘जार्गन’ प्रयोग गर्छन् ।
प्रचण्डले केही दिन अगाडि माओवादीको प्रदेश सम्मेलन उद्घाटनको क्रममा औद्योगिक क्षेत्रमा आउनुपर्ने लगानी सेयर बजारमा गएर साम्राज्यवादको रुप लिएको बताएका थिए ।
संवेदनशिल मानिएको पूँजीबजार माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिले कारोबार मापक नेप्से परिसूचक १०० अंकभन्दा तल झर्यो । बैंकिङ क्षेत्रमा तरलता अभाव भोगेर घट्दो क्रममा रहेको सेयर बजारलाई प्रचण्डको अभिव्यक्तिले प्यानिक नै बनायो ।
प्रचण्डको अभिव्यक्तिपछि सेयर बजार ओरालो लागेपछि लगानीकर्ताले ‘पूँजी बजार विरोधीलाई नो भोट’ अभियान नै सञ्चालन गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी ओलीले त प्रचण्डलाई सेयर कारोबारीबाट चन्दा नपाएको रिस पोखेको टिप्पणी गरेका थिए ।
बजारबाट विरोध भएपछि प्रचण्डले आफू आम लगानीकर्ताको पक्षमा भएको भनेपनि सैद्दान्तिक रुपमा सेयर बजार विरोधी कै रुपमा आफूलाई प्रस्तुत गरे । अन्तरवार्ता र राजनीतिक प्रतिवेदन त्यस्तै देखिन्छ ।
प्रचण्डले माओवादी अधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा घरजग्गा र सेयर बजारका मानिसहरु अरुको सम्पत्ति हडपेर अकूत पैसा कमाउन लागेको उल्लेख गरेका छन् ।
जबकी माओवादी शिविरका लडाकुको ३ अर्ब बराबरको हिसाब कहाँ छ भनेरे देखाउन सकेका छैनन् । माओवादी कै नेता कृष्णबहादुर महराले चिनियाँ व्यापारीसँग मागेको ५० करोड र उनकी बुहारी बिना मगरले खानेपानीमन्त्री हुँदा मेलम्ची आयोजनाको ठेकेदारसँग कमिसन मागेको कुरा त्यती पुरानो भएको छैन ।
आफ्नो राजनीतिक प्रतिवेदनमा पुरानै कम्युनिष्ट पार्टीको धङधङीको रुप प्रचण्डले आफ्नो राजनीतिक प्रतिवेदनमा देखाएका छन् ।
सन् २००८ को आर्थिक संकटले पूँजीवाद असफल भएको र विश्वमा केही अर्बपतिको हातमा सम्पत्ति थुप्रिएको कुरा उठाएका छन् । तर उनकै भाषामा रुप र सार यही मिलेको देखिदैन । प्रचण्डको आफ्नै जीवनशैलीले त्यसलाई जिस्काउने काम गरेको छ ।
खुल्ला राजनीतिमा आएपछि प्रचण्डको व्यापारीसँगको उठबस नौलो कुरा नै रहेन । आफ्नो नाममा सम्पत्ति नभएको बताउने प्रचण्ड लामो समय व्यवसायी अजेयराज सुमार्गीको आफन्तको घर लाजिम्पाटमा बसे ।
सुमार्गी प्रचण्ड शान्तिप्रक्रियामा आएपछि व्यवसायिक फड्को मार्ने सीमित व्यवसायीमध्येका एक हुन् । अहिले प्रचण्ड खुमलटारमा ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा बस्छन् ।
अधिकारी माओवादी खुल्ला राजनीतिमा आइपछि ठेक्का पाउने र आर्थिक हैसियत बलियो बनाउने मध्येका एक हुन् । अधिकारीले रासायनिक मल आपूर्ति समयमा गर्न सकेनन् भने विभिन्न स्थानका सडक निर्माण समेत गर्न सकेका छैनन् ।
झण्डै ३५ वर्षदेखि पार्टीको प्रमुख रहेका प्रचण्डको दल खुल्ला राजनीतिमा आएपछि माधव नेपाल र सुशील कोइराला बाहेक सबै सरकारमा सहभागी छ । प्रचण्ड दुई पटक प्रधानमन्त्री बने बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री भए । हाल बाबुराम भने माओवादीमा छैनन् । आफूलाई चुनौती दिने नेता नभएको हुँदा माओवादीमा प्रचण्ड नै महाधिवेशनपछि अध्यक्ष बन्ने पक्का छ ।
अर्थशास्त्री डा. अच्चुत वाग्ले विश्वका कम्युनिष्ट नेताकै शैलीमा शक्तिलाई आफूमा केन्द्रित गरेर विलासी जीवनशैली प्रचण्डले बिताएको टिप्पणी गर्छन् ।
‘प्रचण्डको राजनीतिक प्रतिवेदन अहिलेको वास्तविक आर्थिक स्थिती र भूराजनीतिक स्थितीलाई सम्बोधन गर्ने खालको छैन । एकातिर सेयर बजारको लगानीकर्ताको पक्षमा भन्ने र अर्कोतिर त्यही बजारलाई गाली गरेर सैद्दान्तिक रुपमा समेत दोधारे देखिन्छ,’ काठमाडौं विश्वविद्यालयका प्राध्यापक समेत रहेका वाग्लेले क्लिकमाण्डूसँग भने ।
प्रचण्डले आर्थिक र सामाजिक नीतिमा पुरातनवादी साम्यवादी सोच नै राख्ने र कार्यशैलीगत रुपमा विलाशी जीवनशैली अपनाउने गरेको टिप्पणी वाग्लेको छ ।
पूँजी बजार र उदारवादको बारेमा राजनीतिक प्रतिवेदनमा आलोचना गर्न शब्द खर्चेका प्रचण्डले मान्ने माओको देश चीन उदार आर्थिक नीतिले कसरी फड्को मार्यो भन्ने बिर्सेका छन् ।
हालको चीनको आर्थिक नीतिमा माओको स्थान केबल ‘चियरम्यान’ माओमा मात्र सीमित छ । देङ स्यायो पिङको आर्थिक नीतिमा चीन अहिले अगाडि बढेको छ ।
जसले कम्युनिष्टले स्रामाज्यवाद भनेर चिन्ने अमेरिका र त्यसको साझेदार भनेर चिनिने युरापेली देशमा लगानी विस्तार गरेको छ । जुन लगानीले चीनलाई अहिले विश्वको दोस्रो ठूलो आर्थिक शक्तिको रुपमा परिवर्तन गरेको छ ।
विचलन भएपछि उदारवादको सफलतालाई आलोचना गरेर प्रचण्डले पूर्वाग्रह प्रेरित प्रतिवेदन ल्याएको टिप्पणी पूर्वअर्थसचिव रामेश्वर खनालको छ ।
कार्ल माक्र्सले कुनैपनि कुरालाई तथ्य र वैज्ञानिक तरिकाले हेर्नुपर्ने भनेपनि प्रचण्ड आफूले भने त्यो सबै कुरा बिर्सेको खनालको तर्क छ ।
‘प्रचण्डसँग नजिक मानिएका व्यापारी उदारवादले नै जन्माएका हुन्, त्यो कुरालाई प्रचण्डले स्वीकार गरेका छैनन्, पूँजीवादलाई गाली गर्ने तर आफू त्यही शैलीमा बाच्ने दोधारे चरित्र प्रचण्डको देखिन्छ,’ खनालले टिप्पणी गर्दै भने ।
माओवादी युद्धमा प्रचण्डका सहयात्री रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रचण्डको प्रतिवेदन पुरानै एकदलीय व्यवस्थाका धङधङ्गी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको रहेको टिप्पणी गरेका छन् ।
‘माओवादी केन्द्रको महाधिवेशनमा प्रस्तुत दस्तावेज सर्सर्ती पढ्दा पुरानै एकदलीय व्यवस्थाको धंगधंगी बोकेको काल्पनिक समाजवादको स्वैरकल्पनाको पोको जस्तो लाग्यो । फेरि एकपटक असली बाजेको पेडा बेच्ने होडबाजी चल्नेभो । अबोध कार्यकर्ता केही बर्ष अरू झुक्किने भए,’ भट्टराईले ट्वीटरमा टिप्पणी गर्दै भनेका छन् ।