दुवईमा १०० स्टोर खोल्दै साथीमार्ट, ६ महिनामा १० स्टोर शुरु गर्ने



काठमाडौं । एक वर्षको अवधिमा मुलुकभर पुगेको रिटेल व्यवसाय साथीमार्टले ६ महिनाभित्र दुवईमा पनि आफ्नो शाखा विस्तार गर्ने भएको छ ।

विश्वका विभिन्न मुलुकमा पुग्ने योजना बनाएको साथीमार्टले त्यसको शुरुवात दुवईबाट गर्ने जनाएको हो ।

विदेशबाट धेरै माग आइरहेको भन्दै अन्तर्राष्ट्रिय बजारको शुरुवात दुवाईबाट गर्न लागेको साथीमार्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सागर पोख्रेलले बताए ।
लकडाउनकै समयमा खुलेको साथीमार्टले एक वर्षको अवधिमा मुलुकभरका विभिन्न ठाउँमा ८८ वटा स्टोर खोलिसकेको छ ।

मुलुकभर एक हजार स्टोर खोल्ने योजना बनाएको साथीमार्टको माग विदेशबाट पनि धेरै भइरहेको पोख्रेल बताउँछन् ।

‘विदेशबाट पनि धेरै नेपालीले शाखा खोल्नु पर्यो भनेर भनिरहनु भएको छ,’ क्लिकमाण्डूसँग कुरा गर्दै पोख्रेलले भने, ‘हामीले दुवईबाट विदेशको बजारमा प्रवेश गर्दैछौं ।’

बढीमा ६ महिनामा दुवईमा साथीमार्टको स्टोर शुरु हुने उनले बताए । पहिलो चरणमा ८ देखि १० वटा स्टोरको शुरुवात गर्न लागेका छन् ।

व्यवसायको तयारीका लागि महिना दिनभित्र दुवई जान लागेको उनले बताए ।

‘दुवाईमा स्टोर खोल्न आवश्यक कानुनी प्रकृया मिलाउनु पर्नेछ,’ पोख्रेलले भने, ‘त्यसको लागि स्थानीय व्यवसायीसँग सहकार्य गर्न लागेका छौं ।’

विदेशमा नेपालीले शाखा विस्तार गर्न सहज नभएकाले त्यहीका लगानीकर्ता र स्थानीय व्यवसायीसँग सहकार्य गर्न लागेको पोख्रेलले बताए ।

दुवाईपछि मध्यपूर्वका अन्य देश, अष्ट्रेलिया, अमेरिका, जापान, युरोपमा पनि साथीमार्टको शाखा विस्तार गर्ने योजनामा छन् सागर । यी मुलुकबाट पनि धेरै नेपालीले साथीमार्टको शाखा खोल्न इच्छुक भइरहेको उनले बताए ।

नेपालबाट कुनै पनि लगानी विदेश लैजान पाइँदैन । यसले गर्दा विदेशमा बसेका नेपाली र त्यहीका स्थानीयले लगानी गर्न लागेको उनले बताए ।

नेपालबाट स्टार्टअप बारिह लैजान नपाउनु अव्यवहारिक भएको उनको तर्क छ । ‘अहिले सानो बीऊ जान्छ भनेर रोक्नु हुदैन,’ सागरले भने, ‘त्यो बीऊले धेरै प्रतिफल नेपालमा ल्याउन सक्छ ।’

नेपाल सरकारले तत्कालको भन्दा पनि भविष्यको प्रतिफल हेरेर नेपालीले पनि विदेशमा लगानी गर्न पाउने व्यवस्था गर्नुपर्ने उनको तर्क छ ।

साथीमार्टलाई अबको कम्तिमा एक दशकमा एक खर्बको बनाउने योजनाअनुसार देशभित्र र बाहिर यसका शाखा विस्तार गर्न लागेका छन् ।

कोरोना संक्रमणको उत्कर्षको बेला १४ महिनाअघि साथीमार्ट शुरु भएको थियो । यसअवधिमा मुलुकभर यसका शाखा विस्तार भइरहेका छन् ।

बिहीबारमात्रै यसको ८८औं शाखा काठमाडौंका टोखामा शुरु भएको छ । अन्य थुप्रै शाखा पाइपलाइनमा रहेको पोख्रेलले बताए ।

अबको ४५ दिनमा साथीमार्टका १०० शाखा पुग्ने उनले बताए ।

डेढ करोडमा शुरु भएको साथीमार्ट कम्पनीको अहिलेको चुक्तापुँजी २६ करोड पुगेको छ । यो आर्थिक वर्षमा एक अर्बको पुर्याउने योजना उनीको छ ।

साथीमार्टका सबै स्टोरमा अहिलेसम्म १ अर्ब ५० करोडभन्दा धेरैको लगानी भइसकेको छ । ७ सयभन्दा धेरै रोजगारी पाएका छन् ।

साथीमार्टको सञ्जाल ठूलो भइसकेकोले यसलाई पब्किल कम्पनीमा लैजाने योजनामा छन् पोख्रेल । पब्लिक कम्पनीमा गएर सर्वसाधरणलाई प्राथमिक सेयर (आईपीओ) जारी गर्ने उनले बताए ।


क्लिकमान्डु