४० वर्षको उमेरमै साथीमार्टलाई १ खर्बको बनाउने सागरको योजनाः १००० स्टोर खोल्ने, आइपीओ निकाल्ने



काठमाडौं । साथीहरुले भन्छन्, ‘सागरले वर्षदिनमै कति धेरै प्रगति गर्यो । रिटेल मार्केटको लिडरनै बन्ने भयो ।’

हुन पनि हो, पछिल्लो एक वर्षलाई हेर्ने हो भने साथीमार्टका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) सागर पोख्रेलले रिटेल बिजनेशमा छलाङ नै मारेका छन् ।

कोरोना संक्रमणको उत्कर्षमा पुगेका बेला शुरु भएको साथीमार्ट १४ महिनामा मुलकुभर पुगेको छ । ८७ शाखा विस्तार भइसकेका छन् । थुप्रै पाइपलाइनमा छन् । हरेक हप्ता कुनै न कुनै शाखा विस्तार भइरहेको छ ।

बढीमा ४५ दिनमा १०० शाखा पुर्याएर ‘सेन्चुरी केक’ काट्ने योजनामा छन् सागर । कति फ्रेन्चाइजमा दिएका छन् भने कति आफ्नै लगानीमा गरेका छन् । अहिलेसम्मको सबै स्टोरको लगानी हेर्ने हो भने १ अर्ब ५० करोड रुपैयाँभन्दा माथि पुगिसकेको छ । ७ सयभन्दा धेरैले रोजगारी पाएका छन् ।

वर्षदिनमै साथीमार्ट ‘ब्रेकइभन’मा पुगिसकेको छ । यस्तो प्रगति देखेपछि साथीहरुले प्रशंसा नगर्ने कुरै भएन ।

तर, सागर भने वर्षदिनमा देखिएको प्रगतिका पछाडि धेरै रात बितेको बताउँछन् । १० वर्षदेखिको अनवरत मिहेनत, होमवर्क र असफलताका कोप्चेराबाट निस्केको सानो अंकुर ठान्छन् साथीमार्ट ।

‘यो रातारात भएको प्रगति होइन,’ सागरले क्लिकमाण्डूसँग भने, ‘यसका पछाडि धेरै लामो संघर्ष छ ।’

हुन त, सामाजले देख्ने भनेको प्रगतिमात्र हो । त्यो प्रगति प्राप्त गर्न गरेको संघर्ष, दुखः पीडा बाहिरी संसारलाई थाहा हुँदैन । थाहा हुनेले पनि नदेखेजस्तो गर्छन् ।

सागरको कथा अलि बेग्लै छ । लाउँ-लाउँ, खाउँ-खाउँ भनिने १६ वर्षको कलिलो उमेरमै सागर घरघरमा सामान बेच्न निस्कन्थे । त्यो उमेरमा उनका साथीभाई बाउआमाको पैसा उँडाइरहेका थिए । तर उनी कसरी पैसा कमाउने र करियर बनाउने भनेर सोच्दैनथे मात्रै, दिनरात नभनी काम गरिरहेका हुन्थे ।

१६ वर्षको उमेर घरघरमा सामान बेच्न शुरु गर्दाताका सागर शून्यमा थिए । कहिले त्यसलाई सयमा पुयार्ए त, कहिले माइनसमा झरे ।

आफ्नो यात्रालाई परिवारले साथ नदिँदा सागर लामो समय एक्लै हिँड्न बाध्य भए । जुन चानचुन विषय थिएन । र, अर्को महत्वपूर्ण कुरा शिखरमा पुगेको व्यवसाय एकाएक चरम ऋणमा डुब्दा झन्डै डिप्रेसनमा पुगेका थिए उनी ।

तर, पनि हार मानेनन् उनले । शिखर चुमेरै छाड्ने दृढ आकांक्षा र हुटहुटीले झरीबादल, घामपानी नभनी निरन्तर पाइला अघि बढाइरहे उनले ।

एकाएक सफलता देखेका धेरै मान्छेहरुका लागि १५ वर्षको यात्रा सुनाउन चाहन्छन् सागर । उनको सफताको यात्रा सुन्न साथीमार्टको कर्पोरेट कार्यालय बानेश्वर पुग्यौं हामी ।

आफ्नो कुर्चीको अगाडिको भित्तामा सजाएका छन्, एप्पलका पूर्वसीइओ स्टिभ जब्सको तस्बिर । सागरले स्टिभ जब्सलाई मेन्टर मान्छन् ।

उनले मेन्टर मान्ने अर्को विश्वचर्चित व्यवसायी हुन् ज्याक मा ।

सागरको लक्ष्य पनि यी नै मेन्टरको जस्तो स्पष्ट छ । बिलियन डलरको मालिक बन्ने । त्यो पनि ४० वर्षको उमेरभित्रै ।

‘मसँग अब जम्मा ९ वर्ष बाँकी छ,’ आफ्नो महत्वकांक्षी लक्ष्य सुनाउँदै सागरले भने, ‘४० वर्षको उमेरभित्र वान बिलियन डलर बनाउनु पर्नेछ ।’

उनीसँग त्यसका लागि स्पष्ट खाका छन्- मुलुकभित्र एक हजार स्टोरको साम्राज्य फैलाउन । विदेशमा पनि सयौं स्टोर खोल्ने ।

१६ वर्षमा घरघरमा सामान बेच्न शुरु…

धनकुटा गोकुलेश्वर स्कुल पढेका सागर परिवारसँगै कलेज पढ्न विराटनगर झरे । सिद्दार्थ शिशुसदन कलेजबाट प्लास टु गरे ।

परिवारले उनीबाट ठूलो अपेक्षा राखेको थियो । सागर छिटो सिक्ने विद्यार्थी थिए । त्यसैले पनि परिवारको चाहना धेरै पढोस् । प्रोफेसर बनोस् भन्ने थियो ।

सागर भने जागिरभन्दा उद्यमशील बन्नुपर्छ भन्ने सोचमा थिए । कसरी बनिन्छ खुट्याइसकेका थिएनन् ।

त्यही बेलामा विराटनगरमा एक कम्पनीले मार्केटिङको भ्याकेन्सी निकाल्यो । ११ मा पढ्दै गर्दा उनले उनले मार्केटिङका लागि आवेदन दिए ।

उनीजस्तै एक, डेढ सय जनाले आवेदन दिएका थिए । छानिन्छु भन्ने उनलाई लागेको थिएन । उनी छनोट भए ।

‘अनौंठो लाग्यो, मसँग केही भएर त छनोट गरेको होला नि,’ उनलाई लाग्यो ।

१७ वर्षको उमेरमा मार्केटिङको ज्ञान पनि थिएन उनीसँग । तै पनि काम शुरु गरे ।

सागरको काममा परिवार सहमत थिएन । परिवार उनीसँग बेखुस थियो । केही समय त परिवारसँग उनको बोलचाल नै भएन ।

उनी कस्मेटिक, दैनिक उपभोग्य सामान बोकेर घरघर पुग्न थाले । पसलपसल चहार्न थाले । नयाँ ब्रान्डका सामान थिए । बिक्री गर्न सजिलो थिएन ।

तलब खासै हुँदैन्थ्यो । कमिसन भने धेरै आउँथ्यो । पहिलो महिनामा १० हजार कमाए । त्यसपछि विभिन्न उत्पादनहरु धेरै बेचे र आम्दानी पनि राम्रो गरे ।

६ महिनामै कम्पनीले अरुभन्दा राम्रो गरेको भनेर बढुवा गर्यो । सागरले बल्ला थाहा पाए, आफूले धेरै राम्रो गरेको रहेछु भन्ने कुरा ।

उनको गति तीव्र थियो । एक वर्षमा उनी व्यवस्थापनस्तरमा पुगिसकेका थिए । उनको मनमा भने आफैं केही गर्ने सोच डुलिरहेको थियो ।

‘यो मेरो व्यवसाय होइन, उनलाई लाग्यो, ‘अब यहाँबाट निस्किनु पर्छ ।’

कम्पनीले भने उनलाई गुमाउन चाहेको थिएन ।

‘राम्रो पोजिसन र सेयर पनि दिन्छौं, यही काम गरौं,’ सागरलाई प्रस्ताव आयो ।

सागर यहाँबाट आफ्नो सपना पूरा हुँदैन भन्ने निर्णयमा पुगिसकेका थिए ।

उनी विराटनगरबाट अलिकति टाढा जान चाहन्थे । १८ वर्षको हुँदा ४०० किलोमिटर पश्चिम बुटबल पुगे ।

उनीसँग मार्केटिङको राम्रो ज्ञान थियो । दुई दर्जन व्यक्तिको टिम बनाएर विभिन्न कम्पनीको डिस्ट्रिव्युसन शुरु गरे ।

‘त्यो मेरो पहिलो स्टार्टअप थियो,’ उनी भन्छन् ।

साथीहरुको सहयोग पाए । व्यापारमात्र नभएर सामान उत्पादन गर्नुपर्छ भन्ने साथीहरुबाट आयो ।

उनले ढिला गरेनन् । अर्को वर्ष १९ वर्ष हुँदा युनाइटेड सोप एण्ड हेल्थ केयर इन्ड्रस्ट्री र नेसनल ड्रग एण्ड अर्गानिक इन्ड्रिष्ट्रि दुई कम्पनी काठमाडौंमा दर्ता गरे । उद्योगमा २५-३० लाख रुपैयाँ लगानी गरे ।

बुटबलको डिस्ट्रिव्युसन पनि चलिरहेको थियो । उनी काठमाडौं हानिए ।

एक ढेड वर्षमा उनले राम्रो नेटवर्क बनाए । कतिपय उत्पादनहरु जस्तो कि ग्रिन टी, हर्बल सोप, स्याम्पु, लोसनलगायतका उत्पादन नेपालभरी नै बिक्री हुन थाल्यो ।

चीन, रसिया, अष्ट्रेलिया, अमेरिका, दुवईलगायतका देशमा अन्य साथीहरुको माध्यमबाट पठाए ।

दुई वर्षमा कम्पनीले धेरै राम्रो प्रगति गर्यो । २१ वर्षे ठिटोले गरेको त्यो प्रगति सबैका लागि लोभलाग्दो थियो । सागरले प्रशस्त पैसा खेलाउन थाले ।

सागरलाई पनि लाग्यो, ‘अब यति भए के चाहियो र !’ उनी दंग परे ।

फेरि शून्यामा

व्यवसाय उचाइमा थियो । प्रशस्त आम्दानी र हाइहाइ पनि । तर, उनी कहाँ चुके थाहा नै पाएनन् । जब उनले थाहा पाए, उनका सारा व्यवसाय डुबिइसकेका थियो ।

उनले एक वर्षमा जति प्रगति गरेका थिए । अर्को वर्षभरीमा विस्तारै ओरालो लाग्यो । शून्यमा पुग्न एक वर्ष पनि लागेन । शून्यबाट माइसनमा गए । उल्टै १४ लाख रुपैयाँ ऋण लाग्यो ।

पछि थाहा पाए, व्यवसाय डुब्नुको मुख्य कारण उनी आफैं रहेछन् ।

‘इगोस्टिक’ तरिकाले काम गरे । डिस्ट्रिव्युटरलाई सिद्याउने, सम्बन्ध बिगार्ने, अस्वस्थ प्रतिस्पर्धा गरे ।

‘जसरी भए पनि बजारमा नाम आउनुपर्छ भन्ने मेरो सोच भयो,’ सागर सम्झन्छन्, ‘उत्पादन लागत नहेरिकन अत्यन्तै कम मूल्यमा सामान बेचें । प्राइस फ्याक्टर ध्यान दिइँन । कतैबाट म्यानुपुलेट पनि भएँ होला सायद ।’

व्यवसाय डुबेपछि उनी विक्षिप्त नै भए । २२ वर्षको उमेरमा व्यवसाय डुबाएर लाखौं ऋण लागेपछि तीब्र मानसिक दवावमा पुगे उनी ।

एक/डेढ वर्ष निकै अप्ठ्यारो परिस्थितिमा गुज्रिए । आफू डुब्दा संसार नै डुबेजस्तो भयो । अझ भनौं आकाश खसेर थिचेझैं भयो ।
सहयोग गर्ने हात भेटेनन् उनले । परिवारको पनि साथ थिएन ।

परिवारले कि डुबेर सकिन्छ कि विदेश जान्छ केही गर्न सक्दैन भनेको थियो ।

नभन्दै त्यस्तै भयो ।

उनले अर्को मनले सोचे, ‘आखिर म शून्यबाट नै यहाँ आएको हुँ, गुमाएको के नै पो छु र !’

उनी पुनः डिस्ट्रिव्युसनमा फर्किए । जुन उनको आधार थियो । केही समयमा डिस्ट्रिव्युसनले फेरि माथि उठायो । लागेको ऋण तिरे । सामान्य अवस्थामा आए । उनले डिस्ट्रिव्युसनसँगै उत्पादनलाई पनि सँगै लगे ।

दाइहरु सहकारीमा भएकाले उनी पनि त्यही क्षेत्रमा लागे । तर, त्यो निरन्तर हुन सकेन ।

केही स्टार्टअपहरु पनि शुरु गरे ।

‘साथीमार्ट मेरो नवौं स्टार्टअप हो,’ उनी भन्छन्, ‘अहिले उनको ४ वटा अर्गानाइजेसन चलिरहेको छ भने ५ वटा स्टार्टअप पूर्णरुपमा असफल भए ।’

आयात–निर्यात, सहकारी, उत्पादनमूल उद्योग, स्मार्टटो लाइफ, साथीमार्ट चलेका व्यवसाय हुन् । डिस्ट्रिव्युटरसँग सम्बन्धित ब्रान्डहरु, नेसनल ड्रग एण्ड अर्गानिक इस्ड्रस्ट्री, लिफा ब्रान्ड असफल भए ।

यसरी शुरु भयो साथीमार्टको यात्रा

ज्याक मा उनका प्रेरणाका स्रोत हुन् । व्यवसाय गर्दै जाँदा उनी जस्तै इकमर्श व्यवसायी गर्नुपर्छ भन्नेमा सागर पुगेका थिए ।

कहाँबाट कसरी शुरु गर्ने निर्णय गर्न सकेका थिएनन् । सन् २०१७ मा उनले अरु तीन साथीसँग मिलेर ‘सफल साथी’ भन्ने स्टार्टअप शुरु गरे । यसबाट उनीहरुले उद्यमशीलताको तालिम दिन्थे ।

‘आफैं सफल छैनन्, कसरी तालिम दिन्छन्,’ बाहिरबाट कतिले भन्थे ।

सफलसाथीको सानो प्लेटफर्ममा काम गरिरहेको बेला ‘बिग प्लेटफर्म’ बनाउनु पर्छ भन्ने लक्ष्य उनीहरुको थियो । मार्ट संचालन गर्ने । त्यसको चेन बनाउने, सबै वस्तु अनलाई बेच्ने र होम डेलिभरी पनि गर्ने ।

त्यसका लागि सफलसाथी होइन, साथीमार्ट बनाएर जानुपर्छ भन्ने उनलाई लाग्यो ।

शुरुमा कस्मेटिक र इलेक्ट्रोनिक्स वस्तुहरुलाई फेसबुकबाट बेच्न थाले । सानो लगानीको वेभसाइट बनाए ।

एक दुई जना डेलिभरी गर्ने, एकजना सोसल मिडिया हेर्ने र एक जना फाइनान्स हेर्ने कर्मचारी थिए ।

उनीहरु विभिन्न ठाउँमा स्टोरमा राख्ने भनेर तयारीमा जुटे । झन्डै ७/८ ठाउँ स्टोर बुक गरिसकेको बेला विश्वभर कोरोना महामारी फैलियो ।

बुकिङ गरेको स्टोरको भाडा नै ५० हजारदेखि एक लाख रुपैयाँसम्म थियो ।

मार्ट शुरु गरिहाल्ने परिस्थिति भएन । त्यही लकडाउनमा केही होमवर्क गर्न लागे । तर, सफल साथीमा रहेका अन्य तीनजना साथीहरुले भने उनलाई छोडेर हिँडे ।

‘यस्तो ठूलो जोखिम लिन सकिँदैन,’ साथीहरुले भने ।

सफल साथीमा साथ दिएका तीन साथी साझेदारीबाट निस्किए । उनी एक्लै भए ।

‘एक्लै भए पनि ‘लेट्स डु इट’ भन्ने लाग्यो मलाई,’ सागर सुनाउँछन्, ‘मलाई पनि फेरि पनि लगानी डुब्छ कि कि भन्ने डर भने थियो ।’

तर, उनले सोचे, ‘म शून्यबाटै आएको हुँ । अब फेरि शून्य भए पनि गुमाउने केही होइन ।’

‘नोथिङ टु लुज’सम्म जान्छु भन्ने आँट गरे ।

बाहिर निस्किने अवस्था थिएन । साथीमार्ट शुरु गर्दा उनीसँग एकजना पनि काम गर्ने थिएनन् । उनी एक्लै थिए ।

उनीसँग पुराना एकदुई जना साथी थिए । ‘वर्कफ्रम होम’ काम गर्न ति साथीहरुले डिजिटलमा सहयोग गरे ।

उनीसँग आफ्नो योजना थियो तर त्यसबाहेक पनि यसमा कोही जोडिन चाहनुहुन्छ कि भनेर ‘वेबिनार’ शुरु गरे ।

पहिलो वेबिनारमा सय जनालाई अनुरोध गर्दा ८-९ जनामात्र सहभागी थिए । जति सहभागी भए सबै उनको व्यवसाय आइडियामा कन्भिन्स भए । ‘हामीले पनि गर्न चाहन्छौं,’ भन्ने प्रक्रिया उनीहरुबाट पाए ।

उनलाई आत्मविश्वास बढ्यो ।

लकडानभरी नै फेसबुकमा लाइभ गरे । लाइभमा एकदुई जनाभन्दा धेरै आउँदैनथे ।

उनी भने निकोला टेस्लाको ‘थ्रि सिक्स नाइन’ फर्मुलामा विश्वास गर्थे । उनको सिद्दान्तले भन्छ, ‘मान्छेले केही चिज पाउनु छ भने भाइभरेन्ट गरिराख । त्यसले फ्रिक्वेन्सी जेनेरेट गर्छ र फ्रिक्वेन्सीलाई इनर्जीमा परिणत गर्छ ।’

उनी पनि फ्रिक्वेन्सी उत्पादन गरेर शक्तिमा रुपान्तरण गर्न चाहन्थे ।

उनको आत्मविश्वासले काम गर्यो । महिना दिनभित्र उनीसँग ठूला लगानीकर्ता आए ।

‘मेरो व्याकग्राउन्ड हेरेर नै उहाँहरु त्यसरी आएको हुनुपर्छ,’ उनी भन्छन्, ‘मेरो मेहेनत र निरन्तर लागेको देखेर आउनु भयो ।’

साथीमार्ट कम्पनी दर्ता गर्ने बेलामा उनीसहित चारजना लगानीकर्ता भए ।

‘फ्रेन्चाइज गर्नुपर्छ भनेर ५० जना तयार हुनुहुन्थ्यो,’ सागर भन्छन्, ‘उहाँहरुले ठाउँसमेत बुक गर्नुभएको थियो ।’

पहिलो लकडाउन सकिएपछि २०७७ भदौमा साथीमार्ट इनकर्पोरेट गर्दा गरे । भदौ महिना १२ वटा फ्रेन्चाइज स्टोर शुरु भए ।

‘त्यो बेला हरेक दिन नयाँ शाखा शुरु हुन्थे,’ उनी भन्छन् ।

लकडाउनपछि ३५ वटा स्टोर ओपनिङको लागि लाइपलाइनमा थिए । बजारको साथ झनझन बढ्दै गयो ।

डिस्ट्रिव्युसन, उत्पादन, इ-कमर्श र रिटेलमा हाँसिल गरेको अनुभवको संयुक्तरुप नै साथीमार्टमा हो भन्छन् उनी ।

साथीमार्ट यसरी तीव्र गतिमा फैलिएको १४ महिना भएको छ ।

पहिलो दिनकै भिजनअनुसार काम गर्न सकेमा दुई वर्षमा बजारको लिडर बन्न सकिन्छ भन्ने विश्वास सागरलाई लागिसकेको छ ।

तीनदेखि चार वर्षमा चोकचोकमा साथीमार्ट खोल्ने योजना छ उनको छ ।

‘अबको ३ वर्षमा १००० स्टोर पुर्याउँछौं,’ उनी भन्छन्, ‘त्यो सम्भावना देखिसकेको छ ।’

एक वर्षमा साथीमार्ट ब्रेकइभनमा आइसकेको छ । एक स्टार्टअप पहिलो वर्षमै नाफामा जानु ठूलो कुरा हो ।

८७ शाखा शुरु भइसकेका छन् । ८७ मध्ये ४० प्रतिशत कम्पनीको नियन्त्रणमा छन् भने ६० प्रतिशत फ्रेन्चाइजमा गएका छन् । ३० वटा ठाउँमा सबैभन्दा धेरै बिक्री हुने मार्टमा पर्न सफल भएको उनको दाबी छ ।

‘चाँडै १०० वटा शाखा खोलेर केक काट्छौं,’ उनी भन्छन्, ‘उक्त केक खान बढीमा ४५ दिन लाग्ला ।’

एक डेढ करोडमा शुरु भएको साथीमार्ट कम्पनीको अहिलेको चुक्तापुँजी २६ करोड पुगेको छ । यो आर्थिक वर्षमा एक अर्बको पुर्याउने योजना उनीको छ । सबै प्लेटफर्मको लगानी १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी भइसकेको छ । ७ सयभन्दा धेरै कर्मचारी छन् । १०० जना कर्मचारी सेन्टर कन्ट्रोलमा छन् ।

आईपीओ जारी गर्ने र अन्य स्टार्टअप थप्ने

अब उनी एक्लै दौडिन चाहँदैनन् । बजारको साथ, आफूलाई मायाँ गर्नेहरुलाई यसमा सहभागी बनाउनु पर्छ भन्ने उनको धारणा छ ।

अरुलाई पनि सहभागी बनाउने माध्यम पब्लिक कम्पनी बनाउने हो । पब्लिक कम्पनी बनाउने योजनामा उनी अगाडि बढेका छन् ।

‘शुरुमा साथ दिने सबै साथीलाई समेट्न पब्लिकमा जाने निर्णय गरेका छौं,’ सागरले भने, ‘त्यसपछि आईपीओ जारी गर्नेछौं ।’

एक वर्षमा पब्लिक कम्पनी बनाउँदै छन् । त्यसपछि सर्वसाधरणलाई सेयर जारी गर्ने ।

सागरको अर्को चरणको योजना भनेको अन्य स्टार्टअप खोल्ने छ । रिटेलमा साथीमार्ट जस्तै स्वास्थ्य, पर्यटन, फुडलगायतका आठवटा स्टार्टअप सँगै लैजाने योजना छ । त्यसलाई ग्रुप अप कम्पनी बनाउने योजना छ ।

केही समयभित्र ममको चेन स्टोर खोल्ने उनले बताए । एनएस चिन्हसहित उच्चस्तरको मम चेन स्टोर खोल्ने उनको योजना छ । हरके साथीमार्टको अगाडि मम पसल हुनेछन ।

विदेशमा पनि व्यवसाय विस्तार गर्ने

उनले नेपाल बाहिर पनि साथीमार्टका स्टोरहरु खोल्ने योजना बनाइरहेका छन् । विदेशबाट धेरैको माग आइरहेको छ ।

त्यसको शुरुवात दुवइबाट गर्दै छन् । एक महिनापछि उनी दुवई जाँदै छन् । त्यहाँको कानुनी प्रक्रिया मिलाएर स्थानीय र केही नेपाली मिलेर स्टोर खोल्ने तयारी उनको छ ।

‘६ महिनाभित्र ८ देखि १० वटा स्टोर शुरु हुने छन्,’ उनले भने ‘दुई वर्षभित्र एक सय स्टोर खोल्ने योजना हो ।’

त्यस्तै, अष्ट्रेलिया, अमेरिका, जापान, युरोपबाट पनि धेरै नेपालीले माग गरिरहेको उनले बताए ।

नेपालबाट बाहिर लगानी लैजान भने सकिँदैन । त्यसका लागि उतै बसोबास गरेका नेपालीहरु प्रमोटरका रुपमा आउन तयार छन् ।
नेपालबाट स्टार्टअप बारिह लैजान नपाउनु अव्यवहारिक भएको उनको तर्क छ ।

‘अहिले सानो बिऊ जान्छ भनेर रोक्नु हुँदैन,’ सागरले भने, ‘त्यो बिऊले धेरै प्रतिफल नेपालमा ल्याउनसक्छ ।’

साथी स्टार्टअप

यही पुस १ महानायक राजेश हमाललाई ब्रान्ड एम्बासडर बनाउँदै साथी स्टर्टअप शुरु गरेका छन् । त्यसैदिन देखि होमडेलिभरी पनि शुरु भएको छ ।

हजारौं युवालाई यसमा जोड्ने उद्देश्यले साथी स्टार्टअप शुरु गरेको सागरको भनाइ छ ।

‘जोसँग लगानी, सीप, नेटवर्क छैन उनीहरुसँग हामी जोडिन चाहन्छौं,’ सागर भन्छन्, ‘उनीहरुलाई आफैं केही गर्न सक्ने बनाउने साथी स्टार्टअपको उद्देश्य हो ।’

सहयोग र सहारा नहुँदा कति कति असहज हुन्छ सागरलाई राम्ररी थाहा छ । त्यही पीडा अन्य युवालाई नहोस् भनेर साथी स्टार्टअप शुरु गरेको बताए ।

‘यसमा बिनालगानी युवाले मासिक आम्दानी गर्न सक्छन्,’ सागर भन्छन्, ‘आफ्नो व्यवसाय पनि चलाउन सक्छ ।’

देशभरीका युवाले यहाँबाट केही सिकेर आफैंले केही गरुन् भन्ने चाहन्छन् उनी ।

यो भनेको ‘रिफर एण्ड अर्न’ प्लेटफर्म हो । यसमा एक फर्म भरेर सहभागी हुन सकिन्छ । त्यसको लागि शुरुमा केही सामान किन्न पर्छ ।

त्यसपछि लिंक पाउँछन् । त्यही लिंक शेयर सेयर गरेर, त्यही लिंक प्रयोग गरेर सपिङ गरे भने उनीहरुले कमिसन पाउँछन् ।

उनीहरुले विभिन्न ठाउँमा दिने उद्यमशील विकास तामिल, सेमिनारमा भाग लिने अवसर पनि पाइनेछ ।

परिवारमा खुसी

जब सागर परिवारको चाहनालाई लत्याउँदै एक्लै हिँडे, उनी धेरै लामो समय एक्लै भए ।

बुबाआमा, दाइहरुलाई सागरले केही गर्छ भन्नेमा विश्वास थिएन । १७ वर्षको उमेरमा पढाइ छोडेर घरघरमा सामान बेच्न थालेपछि उनी परिवारबाट टाढिए ।

गाह्रो अवस्थामा पनि सहयोग पाएनन् । ‘कि डिप्रेसनमा जान्छ, असफल हुन्छ कि विदेश हानिन्छ, नभए जिन्दगीभर संघर्ष गरिरहन्छ,’ सानै उमेरमा महत्वकांक्षी योजनामा हात हालेपछि परिवारको आकलन थियो ।

धेरै लामो समयसम्म परिवारमा बोलचाल पनि भएन । जब उनी अलिकति सफलतातिर लम्मे बल्ला परिवारमा अलि खुसी आयो ।

केही दिनअघि इटहरीमा साथीमार्टको ८७औं शाखा खुल्दै गर्दा परिवारको उपस्थिति थियो ।

त्यही उद्घाटनमा सागरका दाईले सबैका अगाडि भने, ‘पोख्रेल परिवारमा सबैभन्दा अगाडि जाने मान्छे सागर निस्किने भयो ।’

उनी मुस्कुराए ।

अहिले उनले परिवारबाट पूर्ण ‘रेस्पेक्ट’ पाएका छन् ।

त्यो ‘रेस्पेक्ट’ परिवारबाटमात्र होइन, देशभरका युवाबाट पनि पाएका छन् ।


सन्तोष न्यौपाने