स्वास्थ्य बीमा बोर्डले नमुना स्थानीय तह घोषणा गर्ने



काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको नमुना स्थानीय तह घोषणा गर्ने भएको छ ।

बोर्डले कार्यविधि नै बनाएर नमुना स्थानीय तह घोषणा गर्ने कार्यक्रम अघि ल्याएको हो ।

यस कार्यविधिअनुसार प्रत्येक प्रदेशमा एउटा पालिकालाई स्वास्थ्य बीमाका लागि नमुना स्थानीय तह बनाइने छ ।

स्वास्थ्य बीमा कार्यक्रमको नमुना स्थानीय तह बनाउँदै देशभर स्वास्थ्य बीमा कार्यक्रमको पहुँच पर्याउन बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ४१ अनुसार उक्त कार्यविधि बनाएको हो ।

स्थानीय स्वास्थ्य बीमा संयोजन समितिको बैठकको निर्णय र सोको आधारमा स्थानीय तह कार्यसमितिबाट नमुना स्थानीय तह छनौटका आधारमा पुरा भएको सिफारिस बोर्डमा प्राप्त भएमा बोर्डले नमुना स्थानीय तह घोषणा गर्ने जानकारी दिएको छ ।

तर, कार्यविधि बनाएर कार्यान्वयनमा ल्याउदा पनि हालसम्म पनि कुनै पनि स्थानीय तहले निवेदन नदिएको बोर्डका सुचना अधिकारी सोभित रिजालले जानकारी दिए ।

‘कार्यविधिअनुसार हामीले सबै प्रक्रिया पुरा गर्यो । हामीलाई चाँही नमुना पालिका घोषणा गरिदिनु पर्यो भनेर निवेदन दिनुपर्छ,’ सूचना अधिकारी रिजालले क्लिकमाण्डूसँग भने,‘कार्यविधि बनाएर सामान्य प्रशासन मन्त्रालयमा समेत राखिएको छ । तर, हालसम्म कार्यविधिअनुसार कुनै पनि निवेदन दिन आउनु भएको छैन,।’

प्रत्येक वडाबाट कम्तिमा कुल परिवारको ९० प्रतिशत बीमित भएको जानकारी सहितको सिफारिस पज्ञ स्थानीय तहमा प्राप्त भएमा, सम्बन्धित स्थानीय तहको क्षेत्रभित्र अस्पताललले न्यूनतम सेवा मापदण्ड अनुसार कम्तिमा ८० प्रतिशत पुरा गरेको, अस्पतालमा २४ सै घण्टा चिकित्सकिय सेवा उपलब्ध भएको आधारमा बोर्डले नमुना स्थानीय तह छनौट गर्ने छ ।

कार्यविधिअनुसार स्वास्थ्य बीमा लागु भएका अस्पतालहरुमा डिजिटल प्रणालीमार्फत नियमित स्वास्थ्य बीमा कार्यक्रम अद्यावधिक समेत गरेको हुनुपर्ने छ ।

स्थानीय तहमा स्वास्थ्य बीमा हेर्ने जिम्मेवार व्यक्ति तोकिएको, स्थानीय तहको वार्षिक कार्यक्रममा स्वास्थ्य बीमा प्रवद्र्धनको कार्यक्रम समावेश भएको, अस्पतालमा आधारभुत र स्वास्थ्य बीमाबाट प्रदान गर्न तोकिएका औषधि आफ्नै फर्मेसीमा उपलब्ध भएको तथा लक्षित वर्गको प्राथमिकता निर्धारण गरी नियमित रुपमा प्रिमियम तिर्ने व्यवस्था भएको आधारहरुमा बोर्डले नमूना स्थानीय तह घोषणा गर्ने छ ।


क्लिकमान्डु