तपाईंको घर बिरामी भएको छ ? जचाउनुहोस् इन्जिनियर रमेशको टिमलाई



काठमाडौं । रमेश तिमिल्सिनालाई लाग्छ घर भनेको मान्छेको शरीरजस्तै हो । जन्मिसकेपछि कतिखेर के समस्या आउँछ पत्तै हुँदैन । त्यसैले बेलाबेलामा जाँचिरहनुपर्छ । र, स्वस्थ राख्नुपर्छ ।

यस्तै समस्या बुझेका रमेशको टिम घर परीक्षण र उपचारमा तल्लिन छ । तीन वर्षअघि २७ वर्ष हाराहारकिा तीन सिभिल इन्जिनियर साथीहरु महेश तिमल्सिना, रामशरण विक्रम थापा र उनी मिलेर ‘स्किल सेवा’ शुरु गरेका थिए ।

त्यही कम्पनीमार्फत् उनीहरुले घरमा आउने विभिन्न समस्याहरुको पहिचान र समाधानको काम गरिरहेका छन् ।

‘घर भनेको हाम्रो शरीरको चेकजाँच गरेजस्तै हो,’ रमेशले क्लिकमाण्डूसँग भने, ‘रोग लागुभन्दा अघि र पछि जाँच गरिरहनुपर्छ ।’

ठिकै छ, चलिरहेको छ भन्ने बानी धेरैको हुन्छ । पछि समस्या हुँदा ठूलो जोखिम र पैसा खर्च हुन्छ ।

अहिले घरहरुमा मुख्यगरी क्र्याक, सिपेज, स्टक्चर फेलियर, घर कोल्टिने, सेलटमेन्टलगायतका समस्याहरु देखिएका छन् । समस्याको संकेत देखिनेबित्तिकै समाधानको पहल नगर्दा धेरै खर्च गर्नुपर्छ ।

रमेशको अनुभवमा अहिले काठमाडौं उपत्यकाका घरहरुमा देखिएको सबैभनदा ठूलो समस्या सिपेज हो । सिपेज भनेका घरको भित्तामा पानी रसाउने हो । यसले भित्ताको पेन्ट बिग्रिने, भित्ता बिग्रिने, नराम्रो देखिने समस्या हुन्छ ।

घर बनाउँदा नै गल्ती गरेका कारण सिपेजको समस्या भइरहेको उनी बिताउँछन् ।

‘घरको पिलर र बिम बलियो भए पुग्छ भन्ने सोँच धेरैमा छ,’ रमेश भन्छन्, ‘त्यसले गर्दा पछि घरमा अनेक समस्या आउन थाल्छन् ।’

पिलर र बिमलाई जति महत्व दिइन्छ, त्यत्तिकै अन्य पक्षलाई पनि ध्यान नदिँदा घरमा समस्या आउने उनी बताउँछन् ।

मान्छे स्वस्स्थ रहन छाला पनि स्वस्थ हुनुपर्छ भनेजस्तै घरको प्लास्टरदेखि सबै उत्तिकै महत्व दिएर बनाउनु पर्छ ।

अन्य पक्षमा कम्प्रमाइज गर्दा व्यक्तिगत साना घरदेखि व्यवसायी ठूला भवनमा दुई चार वर्षपछि समस्या आउने भइरहेको छ ।

भूकम्प पछि बनेका घरहरुमा सिपेज आउने समस्या अझ धेरै भएको उनको अनुभव छ । भूकम्पपछि मुलुकभर नयाँ पूर्ननिर्माण चल्यो । यसले गर्दा बजारमा मेनपावर कम भयो । ठेकेदार नै मिस्त्री र इन्जिनिय भएर घर बनाएपछि समस्या आउन थालेको उनी बताउँछन् ।

काठमाडौंका बुढानिलकण्ड, बसुन्धार, चावहिल क्षेत्रमा यस्ता समस्या अझ धेरै छन् । पोखरामा पनि यस्ता समस्या धेरै रहेको उनले देखेका छन् ।

यिनी समस्याहरुको समाधान गर्छ- स्किल सेवाले ।

सबैभन्दा घरको मुख्य समस्या के हो भनेर पहिला रमेशको टिम घरको इनपेक्सन अर्थात परीक्षणको लागि जान्छन् ।

घरको इनपेक्सन गर्न कम्तिमा पाँच जना इन्जिनियर, प्लम्बर, ओभसियर, इलेक्ट्रिसियन, सुपरभाइजर जान्छन् । उनीहरु घरको सबै परीक्षण गर्छन् ।

उनीहरुले घरको समस्या के हो ? यसको कारण के हुन सक्छ र यसको सुधारको उपाय के के हुन भनेर विकल्पहरु अध्ययन गर्छन् । साथै, यसको लागि लाग्ने खर्चको पनि अनुमान गर्छन ।

जस्तो कि बाथरुमबाट हुने सिपेज तीन थरी हुन्छ । प्लमिङ, स्यानिटरी वा टायलबाट हुन सक्छ । सिपेजको कारण के हो भनेर पत्ता लगाउने, यसको कारण के हो ? यसको स्रोत के हो ? यसको समाधान के हो भनेर पत्ता लगायपछि बल्ल काम गर्ने निधो गर्छन् ।

यी सबै अध्ययनलाई लिखितरुपमा रिपोर्ट बनाएर घरधनीलाई उपलब्ध गराउँछन् ।

घरधनीले उक्त रिपोर्टका आधारमा आफ्नो घरका समस्या समाधान गर्न सक्छन् । समास्या समाधान गर्न स्किल सेवालाई नै जिम्मा दिन पनि सक्छन् वा घरधनीले चाहेको अन्य व्यक्तिलाई काम लगाउन सक्छन् ।

स्किल सेवाले इनपेक्सन गरेका अधिकांस घरको समाधान पनि उनीहरुलाई दिने गरेको रमेश बताउँछन् ।

‘तपाईहरुले नै हेर्नु भयो, तपाईंहरु नै गरिदिनुस् भन्ने धेरै हुन्छन्,’ उनले सुनाए ।

इनपेक्सनपछिको काम गर्न पनि उनीसँग ठूलो टिम छ । हाल घर रिनोभेसनको लागि रमेशसँग फुल टाइम काम गर्ने १६ जना र आवश्यकतअनुसार काम गर्नको लागि ५० जनाभन्दा धेरैको टिम छ ।

अहिलेसम्म एक हजारभन्दा धेरै घर इनपक्सन गरिसकेका छन् भने ५ सय घर रिनोभेसन गरिसकेका छन् ।

अहिले उनीहरुले काठमाडौं उपत्यकामा आधार काम गरिरहेका छन् । पोखरामा यसको धेरै माग भएकाले भविष्यमा पोखरामा जाने विचार गरिरहेका छन् । उनीहरुले कामलाई अझ सहज बनाउन मोबाइल एपको तयारी गरिरहेका छन् ।

उनीहरु टिकटकमा समेत चर्चित छन् । स्किलसेवा नामको अकाउन्टमा उनीहरुलाई पछ्याउने झन्डै ६८ हजार पुगेका छन् ।

‘टिकटक धेरै माझ पुग्ने राम्रो माध्यम बनेको छ,’ रमेशले भने, ‘टिकटकका माध्यमबाट धेरै जनाले हामीलाई सम्पर्क गर्नुहुन्छ ।’

टिकटक उनीहरुको मार्केटिङ टुल्ससमेत बनेको छ ।

यसरी शुरु गरेका थिए स्किल सेवा

स्किल सेवा तीन वर्षअघि भक्तपुर, चागुनारणका रमेश, महेश तिमल्सिना र सिन्धुपाल्चोकका रामशरण विक्रम थापा मिलेर शुरु गरेका थिए ।

रमेशले थापाथलीमा सिभिल इन्जिनियर पढ्दै गर्दा रामशरण साथी बने । महेश उनका भाइ हुन् । रमेशले अटो मोबाइल्स रिपियरिङमा डिप्लोमा समेत गरेका छन् ।

कलेज हुँदा नै अन्य साथीहरुसँग मिलेर उनीहरुले पानी पम्प स्टोरेज प्रोजेक्ट बनाएका थिए । त्यो प्रोजेक्टलाई धेरै ठाउँमा प्रदर्शनी गरे । धेरै चर्चा पायो र धेरैले मन पराए ।

उनीहरु उत्साहित भए । त्यो प्रोजेक्ट निरन्तरता दिन सकिन्छ कि भनेर लागेका थिए । तर, त्यसमा अत्यधिक लगानी लाग्ने भयो ।

त्यसपछि नयाँ केही काम गर्नुपर्छ भनेर लागिरहेका थिए । उनीहरुले विकसिम मुलुकमा घर इनपेक्सनको काम राम्रो भइरहेको पढेका थिए ।

‘नेपालमा पनि घर इनपेक्सनको काम गर्न पक्कै सकिन्छ होला,’ उनलाई लाग्यो । उनले साथीसँग सल्लाह गरे । कुरा मिल्यो र काम नै शुरु गरे ।

उनीहरुले काठमाडौंमा घर इनपेक्सनको काम शुरु गरे । घर परीक्षणको काम खासै प्रचलनमा थिएन । पैसा तिरेर घर जचाउने कमै हुन्थे । त्यसैले निःशुल्क घर जाँच्न थाले ।

त्योसँगै घरको घर रिपियरको काम शुरु गरे ।

‘घर रिपियर र इनपेक्सनलाई सँगसँगै लग्यौं,’ उनले भने ।

६ महिना भएको थियो, त्यही बेला क्यानइन्फोटेक मेला शुरु भयो । त्यहाँ उनीहरुले एक स्टल राखे । प्रदर्शनीमा ढेड दुई लाख मान्छेसँग भेट भयो ।

‘हामीले तपार्ईंको घरको परीक्षण र उपचार गर्छौं,’ स्टल भिजिट गर्न आउने जानकारी गराए ।

घरमा समस्या भएकाले नाम टिपाउन थाले । लामै सूची बन्यो । त्यहाँबाट अझ धेरै उत्साहित भए ।

‘घरमा धेरै समस्या रहेछ,’ रमेशले सुनाए, ‘त्यसपछि लाग्यो इनपेक्सनको काम राम्रो हुन्छ ।’

घर इनपेक्सन आँखाले हेरेरमात्र हुदैन । यसको लािग धेरै उपकरणर चाहिन्थ्यो । कुन कस्तो समस्या कुन उपकरणले गर्न सक्छ भनेर उपकरणको लिष्ट बनाए ।

ती उपकरण नेपालमा पाइने रहेनछन् । ‘क्यान सकिएको तीन दिनपछि हामी उपकरण किन्न दिल्ली गयौं,’ रमेशले भने, ‘हामीले ७ लाख रुपैयाँमा १९ वटा उपकरण ल्यायौं ।’ ६–७ महिना काम गरेको केही रकम बचाएका थिए । त्यसमा केही ऋण थपेर उपकरण ल्याए ।

आवश्यक उपकरण ल्याए तर सबै प्रयोग हुन सकेनन् । १९ वटा उपकरणमध्ये ११ वटामात्र काम लाग्यो । उनीहरुले पढेको र विदेशमा प्रयोग भएको आधारमा विभिन्न उपकरण ल्याएका थिए । तर, नेपालको संरचनाअनुसार प्रयोग गर्न सकिदोरहेनछ ।

ती उपकरण विधि र प्रयोग बारे सिक्न थाले । त्यसमा आएका डेटाहरु कसरी बुझ्ने र त्यसलाई कसरी कार्यान्वयन गर्ने भनेर सिक्न नै दुई–तीन महिना लाग्यो ।

त्यसपछि क्यानमा भेटेका ग्राहकहरु आउन थाले । उनीहरुको घरको परीक्षण र समाधान गर्न थाले । विस्तारै उनीको काम बढ्दै गयो । धेरैले स्किल सेवा भनेर चिन्न थाले ।

अहिले त उनीहरुलाई भ्यानइभ्याइ छ ।


सन्तोष न्यौपाने