इजरायल जाने कामदारको करार सम्झौता हुँदै, करार अवधि एक वर्ष



काठमाडौं । इजरायल जाने नेपाली श्रमिकहरूको करार सम्झौता हुने भएको छ । वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै करार सम्झौता हुने जनाएको छ ।

विभागले इजरायलमा दीर्घकालिन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार पदका लागि छनौट भएका उम्मेदवारहरूको करार सम्झौता रोजगारदाताबाट हस्ताक्षर भई विभागका प्राप्त भएको जनाएको छ ।

विभागले प्राप्त करार सम्झौता–पत्रमा सम्बन्धित उम्मेदवारहरूबाट ५ दिनभित्र सम्झौता गराई पीआईबीए, इजरायल पठाउन अनुरोध गरेको छ ।
साथै, भिसा प्रक्रियाका लागि इजरायली दुतावासको कन्सुलर डिभिजनमासमेत पठाउने प्रयोजनाका लागि कागजात पेश गर्न आग्रह गरेको छ । व्यवसायीक तथा सीप विकास तालिम प्रतिष्ठान, भैसेपाटी, ललितपुरमा आउन अनुरोध गरेको छ । त्यसमा उम्मेदवार स्वयंले पुस ४ गतेसम्मभित्र कागजात समावेश गर्न सक्नेछन् ।

विभागकाअनुसार उम्मेदवारहरूले प्रहरी चारित्रिक प्रमाणपत्रको सक्कल प्रतिलिपि ३ थान, कोभिड–१९ विरुद्ध लगाएको खोपको प्रमाणपत्रको सक्कलसहित प्रतिलिपि ३ थान, सक्कल राहदानी र सोको प्रतिलिपि ३ थान, पासपोर्ट साइजको हालसालै खिचेको फोटो २ थान, निवेदनका बखत पेश गरेको शैक्षिक र तालिमको प्रमाण–पत्रको सक्कलसहित सोको प्रतिलिपि ३ थान र संक्षिप्त विवरण (नाम, पासपोर्ट नं, नयाँ पासपोर्ट न. र रन नं.) सहित क्लियर ब्याग ३ थान हुनुपर्ने उल्लेख गरेको छ । उम्मेदवाहरूले बुधबारदेखि पुस ४ गतेसम्म बिहान १० बजेदेखि ४ बजेसम्म कागजात पेश गर्न सक्नेछन् ।

विभागले रोजगार सम्झौताका लागि इजरायलको पिवामा २ चरणमा नामावली पठाई हस्ताक्षर भई आएका श्रमिकको आधारमा श्रमिकको करार सम्झौता गर्ने भएको हो ।

विभागले कात्तिकमा ५ सय तथा मंसिर ६ सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । जसमा इजरायलको पिवाले १ हजार १ सय ७५ मध्ये छनोट गरेकामध्ये ८ सय २१ महिला र ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरेका थिए ।
उक्त प्रकाशित गरेकोमध्ये पहिलो चरणमा क्रम संख्याका आधारमा ३ सय ५० महिला र १ सय ५० पुरुषको नामावली इजरायल पठाइएको थियो भने दोस्रो चरणमा बाँकी ६ सय ७५ जनाको नामावली दोसो चरणमा पठाइएको थियो ।

उक्त पठाइएका कामदारमध्ये पहिलो चरण पठाइएको नामावलीको आधारमा करार सम्झौताका लागि विभागले श्रमिकलाई आवश्यक कागजातसहित पेश गर्न आग्रह गरेको विभागका निर्देशक डम्बर सुनुवारले बताए ।

उनकाअनुसार इजरालय जाने श्रमिकको १ वर्षको मात्रै करार सम्झौता हुने भएको हो । ‘अहिले इजरायल सरकारले इजरायल जाने श्रमिकको हकमा १ वर्षको मात्रै करार सम्झौता गर्ने भएको छ,’ उनले भने, ‘उक्त करार सम्झौता सकिएमा रोजगारदाताले पुनः सम्झौता गरी ५ वर्षसम्म बस्न पाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ ।’

विभागले इजरायल जाने नेपालीले मासिक १ हजार ६ सय अमेरिकी डलर रुपैयाँ पारिश्रमिक पाउने जनाएको छ । जसमा नेपाली रुपैयाँअनुसार करिब २ लाखको हाराहारीमा श्रमिकले मासिक पारिश्रमिक पाउनेछन् । इजरायल जाने श्रमिकले हवाइभाडा, स्वास्थ्य बीमा, अभिमुखीकरण, पासपोर्ट, पीसीआरसहितको स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा सहित १ लाख ६५ हजार ७ सय शुल्क लाग्नेछ ।


क्लिकमान्डु