आफैले दिएको निर्देशनका विषयमा अध्ययन गर्न बीमा समितिद्वारा समिति गठन



काठमाडौं । पुनर्बीमा सम्बन्धी निर्देशनकाको विषयमा अध्ययन गर्न बीमा समितिले अध्ययन समिति गठन गरिएको छ ।

बीमा समितिले पुनर्बीमा सम्बन्धी निर्देशनको विषयमा अध्ययन गर्न समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको अध्यक्षतामा अध्ययन टोली गठन गरेको हो ।

उक्त समितिमा पुनर्बीमा कम्पनीका प्रतिनिधि तथा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका प्रतिनिधि रहेको कार्यकारी निर्देशन राजुरमण पौडेलले जानकारी दिए ।

साथै, उक्त समितिमा पुनर्बीमा हेर्ने शाखाका निर्देशकको समेत रहेका छन् । पौडेलका अनुसार उक्त अध्ययन समितिमा कार्यकरी निर्देशक पौडेल, पुनर्बीमा हेर्ने शाखाका निर्देशक शुसिल देव सुवेदी, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीबाट एक–एक जनाको प्रतिनिधित्व रहेको छ ।

बीमा समितिले मंसिर ९ गते सबै बीमा कम्पनीलाई निर्देशन जारी गर्दै सबै जोखिमको पुनर्बीमा नेपालमै रहेका पुनर्बीमा कम्पनीलाई दिन आदेश दिएको थियो ।

यदि स्वदेशी पुनर्बीमा कम्पनीले कुनै जोखिम लिन अस्वीकार गरेको खण्डमा भने विदेशी पुनर्बीमा कम्पनीलाई जोखिम दिन सक्ने समितिले निर्देशन दिएको थियो ।

सबै जोखिम नेपाल मै सञ्चालनमा रहेका पुनर्बीमा कम्पनीलाई दिनु पर्ने समितिको निर्देशन बाध्यात्मकारी भएको भन्दै बीमा क्षेत्रमा चर्को आलोचना भएको थियो ।

स्वदेशी पुनर्बीमाले लिन नमानेको जोखिम विदेशी पुनर्बीमा कम्पनीले पनि लिन नमान्ने हो भने बीमा कम्पनीहरुमा जोखिम बढ्न सक्ने कम्पनीहरुले दावी गर्दै आएका छन् ।

आफुले दिएको निर्देशनका बारेमा चौतर्फी आलोचना भएपछि समितिले पुनर्बीमामार्फत विदेशिने रकम रोक्नका लागि यस्तो निर्देशन दिएको दाबी गरेको छ । सबै जोखिम स्वदेशी पुनर्बीमा कम्पनीलाई दिँदा पुनर्बीमामार्फत विदेशिने रकम रोक्नमा मद्दत पुग्ने समितिले बताउँदै आएको छ ।

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको दुवै संघले सो निर्देशन पुनरावलोकन गर्न भन्दै समितिमा ज्ञापन पत्र समेत बुझाएका छन् ।
सबै जोखिम स्वदेश मै राख्दा थप जोखिम उत्पन्न हुन सक्ने भन्दै बीमा क्षेत्रमा सम्बन्धीत सरोकारवालाहरुले समेत विरोध गर्दै आएका छन् ।

यता, सबै बीमाको पुनर्बीमा स्वदेशमा नै गर्नुपर्ने निर्देशनका विषयका बारेमा अर्थमन्त्रालयले समेत अध्ययन कार्य अघि बढाएको छ ।
बीमा समितिको नयाँ कार्यालय भवनको शिल्यानास कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा बजारमा चर्चामा रहेको विषयका बारेमा अर्थमन्त्रालयले अध्ययन तथा छानविन गर्ने कार्य अघि बढाएको बताएका छन् ।

‘पुनर्बीमाको के काम हो । के अधिकार हो बीमा समितिको के काम हो यहाँहरुलाई नै बढी थाहा होला,’ अर्थमन्त्री शर्माले भने, ‘अहिले भएका निर्णयहरु केके हुन् ती निर्णयका बारेमा अर्थमन्त्रालय अध्ययन गर्दै छ । नियम, कानून, ऐन अनुसार कसरी राज्यलाई, बीमाकर्तालाई फाइदा हुन्छ । त्यो कुरालाई अगाडी बढाउने कुरामा अर्थमन्त्रल कुनै पनि कसुर राख्ने छैन ।’ अर्थमन्त्री शर्माको सो भनाइअनुसार समितिले दिएको उक्त निर्देशन परिमार्जन हुने सक्ने संकेत समेत देखिएको छ ।


क्लिकमान्डु